२६ कात्तिक, काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् ।
मस्कले सामाजिक सञ्जाल एक्समार्फत एनभिडियाका प्रमुख कार्यकारी अधिकृत हुआङलाई आफ्नो कम्पनीमा काम गर्ने प्रस्ताव गरेका हुन् । हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने उनको भनाइ छ ।
वित्तीय समाचार पोर्टल जिरोहेजले हुआङको भविष्यलाई लिएर गरेको पोस्टमा जवाफ दिँदै मस्कले यस्तो धारणा सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
यसैबीच, एआई क्षेत्रमा लगानी गर्दै आएका गेविन बेकरले एनभिडियाको सञ्चालक समितिलाई हुआङलाई पदबाट हटाउने निर्णय गर्नुअघि स्वतन्त्र छानबिनको नतिजा पर्खन सुझाव दिएका थिए ।
उक्त पोस्टमा मस्कले पनि समर्थन जनाउँदै ‘१००’ को इमोजी प्रतिक्रिया दिएका छन् ।
हुआङको नेतृत्वमा रहेको एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको एआई कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो ।
यसअघि सन् २०२५ को अक्टोबरमा सीएनबीसीसँगको कुराकानीमा हुआङले मस्कका परियोजनामा अझ बढी लगानी नगरेकोमा पछुतो लागेको बताएका थिए ।
उनले मस्क संलग्न रहेका अधिकांश परियोजनामा सहभागी हुन आफूहरू इच्छुक हुने धारणा पनि व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4