२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।
मकवानपुर प्रहरीका दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये दुई जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ भने बाँकी आठ जनाको पहिचान खुल्न बाँकी छ ।
मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन् ।
उक्त दुर्घटनामा परी ५ पुरुष, ३ महिला र २ जना बालिकाको मृत्यु भएको थियो । सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलनजिकै झाडीमा थप एक जना बालक घाइते अवस्थामा भेटिएसँगै दुर्घटनामा परी घाइते हुनेको संख्या ६ पुगेको छ । उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि ५ जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो ।
बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा चालकसहित १६ जना सवार रहेको प्रारम्भिक अनुमान छ।
प्रतिक्रिया 4