+
+
Shares

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच ट्रम्प, सी जिनपिङ र पुटिनको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ।
  • दुवै पक्षले शान्ति र आणविक हतियार निःशस्त्रीकरणका लागि उच्चस्तरीय संवाद आवश्यक रहेकोमा सहमति जनाएका छन्।
  • सन् २०२६ का एपेक र जी–२० सम्मेलन तथा ट्रम्प र सीको सम्भावित भ्रमणबारे पनि दुई देशले कुराकानी गरेका छन्।

२६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ ।

चीनको अनुरोधमा नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सन् २०२६ मा हुने एपेक शिखर सम्मेलनका लागि ट्रम्पको चीन भ्रमण र जी–२० शिखर सम्मेलनमा सहभागी हुन सीको फ्लोरिडा भ्रमणबारे पनि छलफल भएको थियो ।

दुवै पक्षले शान्ति र आणविक हतियार निःशस्त्रीकरणका लागि उच्चस्तरीय संवाद आवश्यक रहेकोमा सहमति जनाएका छन् । यस क्रममा रुससमेत सहभागी हुने त्रिपक्षीय बैठकको सम्भावना अघि सारिएको छ ।

यसअघि रुबियोले एपेक सम्मेलनका अवसरमा तीन नेताबीच भेटवार्ता गराउने प्रयास भइरहेको बताएका थिए। राष्ट्रपति ट्रम्पले पनि रुस–युक्रेन युद्ध अन्त्य र विश्वव्यापी आणविक निःशस्त्रीकरणका विषयमा सी र पुटिनसँग छलफल गर्न चाहेको बताएका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सहभागी नभए पनि युद्ध अन्त्यमा सहयोग पुग्ने भए आफू भेटवार्ताका लागि तयार रहेको उनको भनाइ थियो ।

चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको सम्बन्ध स्थिर राख्न सञ्चार र सहकार्य बढाउने तथा मतभेदलाई उचित ढङ्गले समाधान गर्ने चीनको नीति रहेको बताएका थिए। साथै, सन् २०२६ का एपेक र जी–२० सम्मेलन सफल बनाउन दुवै देशले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए।

अमेरिका र चीनबीचको पछिल्लो संवादलाई आगामी उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीसँगै द्विपक्षीय सम्बन्ध स्थिर बनाउने प्रयासका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?