News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन्।
- लामिछानेले दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।
- काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस बिहीबार बिहान चिसापानी गढीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु र ६ जना घाइते भएका थिए।
२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए ।
उनले लेखेका छन्, ‘छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ।’
उनले अगाडि लेखेका छन्, ‘यस दुःखद घडीमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, दुर्घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु।’
सभापति लामिछानेले दुर्घटनामा परी घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग समेत गरेका छन् ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको नम्बर नखुलेको माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।
प्रतिक्रिया 4