+
+
Shares

प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १०:२९

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् ।

प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् । उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् ।

त्यसपछि पाँच दिन रूसमै रहनेछन् । अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल पार्टी) को आयोजनामा यही नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा फर द फ्रिडम अफ नेसन्स अर्थात् राष्ट्रहरूको स्वतन्त्रताका लागि शीर्षकको विश्व सम्मेलन हुँदैछ ।

प्रचण्ड उक्त सम्मेलनमा सहभागी हुनेछन् । यो सम्मेलनमा विश्वभरका कम्युनिस्ट उपस्थित हुनेछन् ।

यो सम्मेलनको उदेश्यमा शक्तिशाली राष्ट्रहरूले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्ने रहेको छ ।

प्रत्येक देशले आफ्नो राजनीतिक प्रणाली, विकासको बाटो र राष्ट्रिय नीति आफैँ निर्धारण गर्न पाउनुपर्ने मान्यता राखेर अल रसियन पोलिटिकल पाटीले विगतमा पनि यस्ता सम्मेलन आयोजना गरेको छ ।

विश्व राजनीतिमा अमेरिका तथा पश्चिमा शक्तिहरूको एकल प्रभावभन्दा धेरै शक्तिकेन्द्र भएको विश्व व्यवस्थाको पक्षपोषण गर्ने र विकासशील तथा ग्लोबल साउथका मुलुकबीच राजनीतिक र आर्थिक सहकार्य विस्तार गर्ने उदेश्यले सन् २०२४ मा पनि मस्कोमै फर द फ्रिडम अफ नेसन्स फ अ जस्ट वल्र्ड शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो ।

अल रसियन पोलिटिकल पाटी पनि यो आफैँमा कुनै पार्टी होइन । अखिल रूसी राजनीतिक दल रूसभरि क्रियाशील राजनीतिक पार्टीहरू हुन् ।

प्रचण्डका स्वकीय सचिव केशव रावलका अनुसार पाँच दिन रूसमा रहेर प्रचण्ड स्वदेश फर्किनेछन् ।

उनका अनुसार रूसमा रहँदा प्रचण्डले राष्ट्रहरूको स्वतन्त्रताका लागि शीर्षकको विश्व सम्मेलनमा सहभागिता तथा आवश्यक भेटघाट गर्नेछन् ।

रूसबाट फर्किएर प्रचण्ड यही नोभेम्बर १९ मा नेपाल आइपुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?