+
+
Shares

सरकारले भन्यो– भीमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन प्रक्रिया अघि बढिसक्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि सरकारले क्षतिपूर्ति र बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।
  • प्रधानमन्त्री कार्यालयले घाइतेको उपचार खर्च र मृतकका परिवारलाई पाउने रकमका लागि सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरेको छ।
  • दुर्घटनाको कारण पहिचान गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

२८ कात्तिक, काठमाडौं । सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउनेबारे आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले जारी गरेको विज्ञप्ति अनुसार, घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने रकम उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार प्रक्रिया अघि बढाइएको हो ।

भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हिजो (कात्तिक २६) भएको दुर्घटनामा परेर १४ जनाको मृत्यु भएका छन् भने ६ जना घाइते भएका छन् ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा हुन् ।

सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री कार्यालयका सहसचिव अर्यालले बताए ।

‘उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उता, दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तहरूले शव उठाउन मानेका छैनन् ।

मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव उठाउन नमानेका हुन् ।

दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न पाँच सदस्यीय छानबिन समिति पनि बनाइएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

‘सरकार दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?