News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस महामन्त्री प्रदीप पौडेलले रास्वपा नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् ।
- पौडेलले चैत मसान्तमा स्थानीय तहको अवधि सकिने भन्दै सरकारलाई यथास्थितिमै भए पनि समयमै चुनाव गरिदिन आग्रह गरे ।
- उनले कांग्रेस चुनावी प्रतिष्पर्धाका लागि तयार रहेको र स्थानीय तह निर्वाचनमा बढीभन्दा बढी पालिका जित्नुपर्ने बताए ।
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् ।
कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा पदस्थापनको अवसमरा आयोजना गरेको कार्यक्रममा उनले सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका हुन् ।
‘यो सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन । चुनाव ६ महिना अगाडि घोषणा गर्नुपर्छ,’ महामन्त्री पौडेलले भने, ‘अब चैतमा चुनाव गर्ने हो भने ६ महिना गुज्रिन लागिसक्यो । चैत मसान्तमा यो स्थानीय तहको अवधि सकिन्छ ।’
सत्तारुढ रास्वपा र रास्वपा नेतृत्वको सरकारले स्थानीय चहको निर्वाचन गैरदलीय बनाउने र पालिकाको संख्या घटाउने भने पनि काम नगरेको टिप्पणी गरे ।
‘उहाँहरूले कुरा त गैरदलीय चुनाव गर्ने भन्नुभयो । पालिकाको संख्या घटाउने भन्नुभयो,’ पौडेलले भने, ‘तर, उहाँहरूले गफ गर्नुभयो, त्यसको लागि केही पनि गर्नुभएन ।’
महामन्त्री पौडेलले सरकारलाई अहिलेकै अवस्थामा भए पनि निर्वाचन गरिदिन आग्रह गर्दै कांग्रेस चुनावी प्रतिष्पर्धाका लागि तयार रहेको बताए ।
‘अब हाम्रो अनुरोध– तपाईंले केही परिवर्तन गर्नुहुन्न । तर, यथास्थितिमा भए पनि समयमै चुनाव गरिदिनुस्,’ उनले भने, ‘त्यो चुनावका लागि पनि हामी तयार छौं ।’
महामन्त्री पौडेलले संघीय निर्वाचन पार्टी अनुकूल नदेखिएका कारण आसन्न स्थानीय तह निर्वाचनमा बढीभन्दा बढी पालिका जित्नुपर्नेमा जोड दिए ।
‘संघीय निर्वाचन हारेको कारण हामीले स्थानीय तहको निर्वाचन बढीभन्दा बढी जित्नुपर्छ,’ उनले भने, ‘निर्वाचन भनेको जनविश्वास हो । हाम्रा प्रतिको भरोसा हो । हाम्राप्रतिको भरोसा कायम छ भन्ने कुरा निर्वाचन जितेर हामीले दिन सक्नुपर्छ ।’
प्रतिक्रिया 4