+
+
Shares

महामन्त्री प्रदीप पौडेलको प्रतिबद्धता – कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १३:४३

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, आम मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै सबैलाई साथमा लिएर अघि बढ्ने बताएका हुन्।

१५औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गरेका छन्। उनले आगामी राजनीतिक यात्रामा महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकका सल्लाह र सुझावलाई आत्मसात् गर्दै पार्टी निर्माणमा क्रियाशील रहने बताएका छन्।

पौडेलले १५औं महाधिवेशनमा व्यक्त भएको मतले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन्। आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिँदै विगतका तिक्तता बिर्सेर भावनात्मक रूपमा समेत एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।  ‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।

नेपाली कांग्रेसले विगतमा मुलुकका जटिल समस्याहरू समाधान गर्न खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै उनले वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण गर्नु आजको आवश्यकता रहेको बताएका छन्।

उनका अनुसार कांग्रेसलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविका र लोकतन्त्रको रक्षा गर्ने गतिशील, जनमुखी तथा भरोसायोग्य राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्नु अबको मुख्य प्राथमिकता हुनुपर्छ।

पार्टीको ऐतिहासिक योगदानलाई सम्मान गर्दै वर्तमान समयका आवश्यकता र नागरिकका अपेक्षाअनुसार कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ। यसका लागि पार्टीभित्र एकता कायम गर्दै जनताका दैनिक समस्या, जीविकोपार्जन र लोकतान्त्रिक मूल्यको संरक्षणमा केन्द्रित हुनुपर्ने सन्देश उनले दिएका छन्।

महामन्त्री पौडेलले १५औँ महाधिवेशन सफल बनाउन अहोरात्र खटिने सबैप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?