+
+
Shares

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते ८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि लगाइएको उडान प्रतिबन्ध हटाइएको छ।
  • समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए, र ३ हजार ५०० भन्दा बढी विमान आकाशमै रहँदा सुरक्षित अवतरण गराइएको थियो।
  • अमेरिकी प्रशासनले यो साइबर आक्रमण वा माइक्रोसफ्टको समस्या नभई पुरानो हार्डवेयरको खराबी भएको जनाएको छ।

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए ।

अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको पहिचान गरिसकिएको र देशको हवाई क्षेत्र पुनः खुला गरिएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा तत्काल पूर्ण रूपमा सामान्य अवस्थामा फर्कन नसक्ने र क्रमशः सञ्चालनमा ल्याइने उनले बताएका छन्।

के कारण रोकियो उडान ?

अमेरिकी यातायात सचिवका अनुसार शुक्रबार दिउँसो ३ बजेर ३६ मिनेटमा देशभरका एयर ट्राफिक कन्ट्रोल केन्द्र तथा ट्र्याकन प्रणालीमा राडार र सञ्चारसम्बन्धी समस्या देखिएको थियो ।

यसका कारण विमानको राडारसम्बन्धी तथ्याङ्क प्राप्त गर्न र विमानसँग सम्पर्क कायम गर्न कठिनाइ भएको थियो ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सावधानीस्वरूप देशभर ग्राउन्ड स्टप अर्थात् विमानलाई जमिनमै रोक्ने निर्णय गरेका थिए ।

त्यतिबेला आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए। सबै विमानले हवाई ट्राफिक नियन्त्रणका निर्देशन पालना गर्दै सुरक्षित अवतरण गरेका थिए ।

साइबर आक्रमण भने होइन : अमेरिकी प्रशासन

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त घटना साइबर आक्रमण नभएको स्पष्ट पारेका छन् ।

उनका अनुसार यो समस्या माइक्रोसफ्टको सिस्टममा आएको अवरोधसँग पनि सम्बन्धित छैन।  प्रारम्भिक अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (एआई) को कारण समस्या आएको कुनै संकेत फेला परेको छैन ।

पुरानो हार्डवेयरमा समस्या

यातायात सचिव डफीका अनुसार अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेको हार्डवेयर पुरानो भएकाले त्यसमा खराबी आएको हो ।

उनले नयाँ हवाई ट्राफिक नियन्त्रण प्रणाली निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लामो समयदेखि अमेरिकी संसद्सँग माग गर्दै आएको पनि बताए।

११ सेप्टेम्बर २००१ को आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा उडान सेवा रोकिएको यो दोस्रो घटना हो ।

यसअघि सन् २०२३ को जनवरीमा एफएएको मुख्य कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण पनि अमेरिकाभरका उडानहरू प्रभावित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?