२९ कात्तिक, नवलपुर (नवलपरासी) । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बिताएर फर्किएका नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ अहिले बङ्गुरपालनमा जुटेका छन् । अरूको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले उनी आठ वर्षअघि नेपाल फर्किएका थिए ।
‘आठ वर्षअघि फेरि नजाने गरी साउदीबाट घर फर्किएँ,’ ५९ वर्षीय गुरुङले भने, ‘घर फर्किएपछि विभिन्न काम गर्दै अहिले बङ्गुरपालनमा जुटेको छु ।’
अन्य पेसा तथा व्यवसायभन्दा बङ्गुरपालन सहज र आम्दानी पनि राम्रो हुने देखेपछि यसलाई निरन्तरता दिएको उनले बताए । नेपाल फर्किएपछि उत्तम पशुपन्छी तथा कृषि फार्म दर्ता गरेर सुरुमा कुखुरापालन थालेका गुरुङले मिहिनेतअनुसार आम्दानी नभएपछि बङ्गुरपालन सुरु गरेका हुन् । ‘नेपाल फर्किएपछि सुरुमा कुखुरा पालेको थिएँ । धेरै मिहिनेत गर्दा पनि सोचेअनुसार आम्दानी भएन,’ उनले भने, ‘त्यसपछि बङ्गुरपालन सुरु गरेँ ।’
बङ्गुरपालनबाट सन्तुष्ट रहेका गुरुङले यससँगै करिब छ बिघा जमिनमा आलु तथा अन्य तरकारीखेती पनि गर्दै आएका छन् । सुरुमा एउटा माउ बङ्गुर पालेर अनुभव लिएका उनले थोरै मिहिनेतमा राम्रो आम्दानी हुन थालेपछि बङ्गुरको सङ्ख्या बढाएका हुन् । ‘अहिले मसँग दुईवटा वयस्क भाले, १२ वटा माउ र १५ वटा पाठापाठी छन्,’ उनले भने । बङ्गुरका भाले र पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ ।
अन्य किसानले बङ्गुरको गर्भाधानका लागि भाले लिन आफूकहाँ आउने गरेको गुरुङले बताए । ‘एक जनाले एउटा भाले लगेबापत बेलुका ६ हजार रुपैयाँसहित भाले फिर्ता ल्याइदिन्छन्,’ उनले भने ।
भालेलाई हिँडाएर लैजान नसकिने भएकाले गाडीमा लैजाँदा लाग्ने भाडा किसानले नै व्यहोर्ने गरेका छन् । भाले घरमा फिर्ता ल्याउँदा भने आफूले भाडा तिर्ने गरेको गुरुङले बताए ।
बङ्गुरको मासु बिक्रीबाट भन्दा पाठापाठी बेचेर राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ । ‘पहिले बङ्गुर काटेर मासु बिक्री गर्थें । अहिले पाठापाठी नै बेच्दै आएको छु,’ उनले भने, ‘एक महिनाका पाठापाठी प्रतिगोटा ६ हजार रुपैयाँमा बिक्री हुन्छन् ।’
उनका अनुसार बङ्गुरले साढे तीन महिनामा बच्चा पाउँछन् । एकपटक गर्भाधान हुँदा कम्तीमा नौवटा पाठापाठी जन्मिने गरेको उनले बताए । आफूले पालेको बङ्गुरले एकैपटक २० वटासम्म पाठापाठी जन्माएको उनको भनाइ छ ।
थोरै पाठापाठी जन्मिँदा माउको दूध पर्याप्त पुग्ने र बच्चा राम्रोसँग हुर्किने गरेको उनले बताए । तर धेरै पाठापाठी जन्मिँदा सबैलाई हुर्काउन कठिन हुने उनको अनुभव छ ।
‘धेरै पाठापाठी पाएको बेला बच्चा साना हुने भएकाले बिक्री गर्न पनि कठिन भयो,’ उनले भने, ‘बल्लबल्ल बिक्री गरेर सकेँ । थोरै पाठापाठी हुँदा राम्ररी सप्रिने र सहजै बिक्री हुने गरेका छन् ।’
थोरै मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले आफू बङ्गुरपालनबाट सन्तुष्ट रहेको गुरुङ बताउँछन् । अन्य पशुपन्छी पाल्नुभन्दा बङ्गुर पाल्न सहज रहेको उनको अनुभव छ । ‘बिहान–बेलुका बङ्गुरलाई दाना हालिदिने हो । दिनमा एकपटक खोरमा पानी हालेर सफा गरिदिन्छु,’ उनले भने, ‘त्यसपछि दिनभरि बारीमा अन्य काम गर्दै आएको छु ।’
गाईभैँसीपालनको तुलनामा बङ्गुरपालन सजिलो र कम खर्चिलो हुनुका साथै आम्दानी पनि राम्रो हुने गुरुङको अनुभव छ ।
प्रतिक्रिया 4