+
+
Shares

दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी

सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १३:५६

२९ कात्तिक, इलाम । सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन्।

चार वर्षअघि रु ३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गर्नुभएका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् ।

उनले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गरी प्रतिलिटर रु ५५ देखि ६० सम्ममा नजिकैको सहकारीमा बिक्री गर्दै आएका छन् । दूध बिक्रीबाट वार्षिक करिब रु ११ लाख आम्दानी हुने उनले बताए । लगानीअनुसार दूधको मूल्य कम पाएको उनको गुनासो छ ।

गाईपालनबाट स्वरोजगार बन्नुभएका महतले फार्ममा दुई युवालाई खानबस्न सुविधासहित मासिक रु १८ हजार तलब दिएर रोजगारी दिएका छन् । फार्म सञ्चालनका लागि ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो तथा अन्य प्रजातिका घाँस लगाएका छन्।

गाईपालनसँगै उनले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुस र बाँकी क्षेत्रमा चियाखेतीसमेत गर्दै आएका छन् । गाईको मल आफ्नै कृषि खेतीमा प्रयोग गर्ने गरेको उनले बताए।

गाउँमै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महत बताउँछन् । युवालाई स्वदेशमै स्वरोजगारी गर्न प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?