News Summary
Generated by OK AI. Editorially reviewed.- नेपथ्यले चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा कन्सर्ट गर्ने भएको छ।
काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुँदैछ ।
ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मंसिर ३ मा सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ । यस कन्सर्टका लागि तोकिएका सहुलियत दरका टिकट निकैअघि बिक्री भइसकेका छन् । अन्य टिकट पनि थोरै मात्र बाँकी छन् ।
दोस्रो कन्सर्ट स्याङ्जाको पुतलीबजारमा मंसिर ५ गते शनिबार हुनेछ । त्यहाँस्थित मालेबगर खेलमैदानमा नेपथ्यले लोकरक सुनाउन लागेको हो । त्यसपछि म्याग्दीको बेनीस्थित खुलामञ्चमा मंसिर ९ मा दर्शकसामु उपस्थित हुने नेपथ्यको तालिका छ ।
चौथो कन्सर्ट तनहुँको बेलचौतारामा मंसिर १२ गते शनिबार हुनेछ । शुक्लागण्डकी नगरपालिकास्थित यो बस्ती राजमार्गसँग जोडिएको छ । कन्सर्ट भानुभक्त क्याम्पसको मैदानमा हुनेछ । नेपथ्यका सबै कन्सर्टका लागि निर्धारित दिनको अपराह्न ४ बजे ढोका खुला हुनेछन् ।

मुलुकभित्र अनि बाहिरका ठूला सहरहरूमा भव्य रूपमा प्रस्तुत हुँदै आएको नेपथ्यले साना सहर र बस्तीमा बसोबास गर्ने आफ्ना दर्शकको चाहनालाई पनि उत्तिकै प्राथमिकतामा दिँदै आएको यस यात्राले थप पुष्टि गर्नेछ ।
यो पाला प्रस्तुत हुने यी चार स्थानमध्ये म्याग्दीको बेनीबाहेक सबै ठाउँमा ब्यान्ड पहिलो पटक उपस्थित हुन लागेको हो । कन्सर्टलाई लिएर त्यस भेगका बासिन्दाले सामाजिक सञ्जालमा चर्चा गर्न थालिसकेका छन्।
यो यात्रापछि नेपथ्यले अस्ट्रेलियाको गर्दै छ । डिसेम्बर महिनामा ब्यान्ड एडिलेड, सिड्नी र पर्थ सहरमा प्रस्तुत हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया 4