१ मंसिर, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सेवा लिन आउने सेवाग्राहीले अब सरकारी सेवासँगै निःशुल्क प्रारम्भिक स्वास्थ्य सेवा पनि पाउने भएका छन् । पुतलीबजार नगरपालिकाको सहयोग र प्रशासन कार्यालयको समन्वयमा गत बिहीबारदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार हाललाई हरेक हप्ता सोमबार र बिहीबार हेल्थ डेस्क सञ्चालन हुनेछ । राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीको चापलाई ध्यानमा राखेर स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको उनले बताए ।
विशेषगरी गाउँबाट सेवा लिन आउने ज्येष्ठ नागरिक, विपन्न तथा टाढाका सेवाग्राहीलाई लक्षित गरी यो सेवा सुरु गरिएको प्रजिअ घिमिरेको भनाइ छ । राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको भीड हुने भएकाले उनीहरूको स्वास्थ्य अवस्था जाँच गर्न र आवश्यक सहयोग उपलब्ध गराउन हेल्थ डेस्क उपयोगी हुने घिमिरेले बताए ।
हेल्थ डेस्क सञ्चालनका लागि पुतलीबजार नगरपालिकाले एक जना स्वास्थ्यकर्मी खटाएको छ । सेवाग्राहीलाई आवश्यक परे एम्बुलेन्सको व्यवस्था पनि गरिनेछ । कार्यालय समयभर एम्बुलेन्स जिल्ला प्रशासन कार्यालय परिसरमै तयारी अवस्थामा राखिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार कार्यालय समयमा हेल्थ डेस्कबाट सेवाग्राहीलाई प्रारम्भिक स्वास्थ्य सेवा दिइनेछ । प्रशासनमा सेवा लिन आएका व्यक्तिलाई स्वास्थ्य समस्या देखिएमा आवश्यक प्रारम्भिक औषधिसमेत उपलब्ध गराइने उनले बताए ।
सरकारी कामका लागि प्रशासन कार्यालय पुग्दा स्वास्थ्य समस्या देखिए तत्कालै प्रारम्भिक सहायता पाउन सकून् भन्ने उद्देश्यले सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4