News Summary
Generated by OK AI. Editorially reviewed.- ‘बिग बोस २०’ मा तीनवटा रियालिटी शो जितेका गुल्लू अर्थात् कुशल तंवरको खेल कनिका मानसँगको मित्रतामा सीमित भएको चर्चा छ ।
- शोमा गुल्लू र कनिकाको बारम्बार एउटै सोफामा बसेर कुरा गर्ने दृश्यले उनीहरूको स्वतन्त्र प्रतिस्पर्धी छवि कमजोर बनेको विश्लेषण हुन थालेको छ ।
- होस्ट सलमान खानले ‘वीकेन्डका वार’मा उनीहरूको खेल बोरिङ भइरहेको टिप्पणी गर्दै सुधार्न सुझाव दिएका थिए ।
तीनवटा रियालिटी शो जितेर ‘बिग बोस २०’ मा पुगेका गुल्लू अर्थात् कुशल तंवरबाट दर्शकले निकै अपेक्षा गरेका थिए ।
तर, शोमा कनिका मानसँगको मित्रतामै बढी समय बिताउन थालेपछि उनको आफ्नै खेल भने ओझेलमा परेको चर्चा हुन थालेको छ ।
‘बिग बोस २०’ मा गुल्लू र कनिकाबीचको मित्रता सुरुदेखि नै चर्चामा छ । गुल्लूले कनिकालाई मायाले ‘चौधराइन’ भनेर बोलाउने गरेका छन् ।
दुवै प्रायः एउटै सोफामा बसेर घरका अन्य सदस्यबारे गफ गरिरहेका देखिन्छन् ।
उनीहरूको आपसी समझदारी र एकअर्कालाई साथ दिने शैलीलाई दर्शकले सुरुमा रुचाएका पनि थिए । घरभित्रको हरेक परिस्थितिमा एकअर्काको पक्षमा उभिने उनीहरूको मित्रता शोको एउटा आकर्षण बनेको थियो ।
तर, अहिले यही मित्रता गुल्लूको व्यक्तिगत खेलका लागि बाधक बनिरहेको विश्लेषण हुन थालेको छ ।
तीन शो जितेका गुल्लू किन देखिएनन्, दमदार ?
‘बिग बोस २०’ मा प्रवेश गर्दा गुल्लूलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको थियो । यसअघि तीनवटा रियालिटी शो जितिसकेका कारण पनि उनीबाट दर्शकको अपेक्षा बढी थियो ।
उनको ह्युमर, आत्मविश्वास र आफ्नै व्यक्तित्वले शोमा राम्रो प्रभाव पार्ने अनुमान गरिएको थियो ।
तर, अहिलेसम्म उनले अपेक्षाअनुसार आफ्नो क्षमता देखाउन सकेका छैनन् । शोमा उनलाई देखाइने अधिकांश दृश्य कनिकासँगको कुराकानीमै केन्द्रित हुने गरेका छन् ।
घरभित्रका गतिविधि, प्रतिस्पर्धा र व्यक्तिगत रणनीतिमा उनी कति सक्रिय छन् भन्ने कुरा भने खासै प्रभावकारी रूपमा देखिन सकेको छैन ।
कनिकासँगको मित्रता नै बन्यो कमजोर पक्ष ?
गुल्लू र कनिकाको मित्रता नराम्रो हो भन्ने होइन । दुवैले एकअर्कालाई साथ दिन्छन्, आवश्यक पर्दा बचाउ गर्छन् र आफ्नो सम्बन्धमा सहज देखिन्छन् ।
तर, दर्शकको अपेक्षा उनीहरूलाई जोडीका रूपमा मात्र हेर्नु होइन, छुट्टाछुट्टै प्रतिस्पर्धीका रूपमा पनि हेर्नु हो ।
गुल्लूले कनिकाको सल्लाहअनुसार नै निर्णय लिने गरेको जस्तो देखिन थालेपछि उनको स्वतन्त्र व्यक्तित्वमाथि प्रश्न उठ्न थालेको छ ।
आफ्नै रणनीति बनाएर खेल्नुपर्ने ठाउँमा उनी कनिकासँगको सम्बन्धमै बढी केन्द्रित भएको दर्शकको बुझाइ छ ।
सलमानले पनि भने, ‘खेल बोरिङ भइरहेको छ’
गुल्लू र कनिकाको खेलप्रति शोका होस्ट सलमान खानले पनि असन्तुष्टि जनाइसकेका छन् । ‘वीकेन्डका वार’मा उनले दुवैलाई आफ्नो खेल सुधार्न सुझाव दिएका थिए ।
सलमानले उनीहरूको खेल बोरिङ भइरहेको टिप्पणी गर्दै टप ५ मा पुगे पनि उनीहरूको यात्रालाई सम्झँदा सोफामा बसेर गरेको कुराकानीबाहेक देखाउनलायक खासै केही नहुने बताएका थिए ।
सलमानको टिप्पणीपछि गुल्लू र कनिकाले आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए । तर, उनको यो चेतावनीले उनीहरूलाई आफ्नो खेलबारे सोच्न बाध्य बनाएको देखिन्छ ।
अब गुल्लूले कनिकासँगको मित्रतालाई कायम राख्दै आफ्नै प्रतिस्पर्धी क्षमता देखाउन सक्छन् कि सक्दैनन् भन्ने चासो बढेको छ ।
प्रतिक्रिया 4