News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेले बबरमहलमा आजदेखि शुरू हुने चार दिने राष्ट्रिय भेलामा साढे तीन हजार नेता–कार्यकर्ता सहभागी गराउँदै छ।
- पार्टीले भेला मार्फत आमनिर्वाचनपछिको शिथिलता चिर्न, कार्यकर्तालाई एकताबद्ध बनाउन र स्थानीय तहको निर्वाचनका लागि सुझाव संकलन गर्न खोजेको छ।
- भेलापछि बस्ने केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाका सुझावका आधारमा स्थानीय तहको निर्वाचन र मुलुकको समसामयिक परिस्थितिबारे निर्णय गर्ने भनिएको छ।
चार दिनसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका निम्ति देशभरका एमाले नेता–कार्यकर्ता काठमाडौंमा जुटेका छन् । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बबरमहलमा आजबाट शुरु हुने भेलामा साढे तीन हजार नेता–कार्यकर्ता सहभागी हुँदैछन् ।
गत २१ फागुनको निर्वाचनमा शर्मनाक पराजय बेहोरेको एमालेले स्थानीय तहका नेताहरू र सबै तहका जनप्रतिनिधिहरू समेत यो भेलामा बोलाएको छ । यो भेलाको औचित्य र उद्देश्यबारे पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालसँग अनलाइनखबरले गरेको कुराकानी :
भेलाको अघिल्लो दिन स्थायी कमिटी बैठक बस्नुभयो । निर्णय के–के गर्नुभयो ?
राष्ट्रिय भेलामा सहभागीहरूको बारेमा छलफल गरेर टुंगो लगायौं । कार्यक्रमलाई अझ प्रभावकारी बनाउन साथीहरूका सुझावहरू प्राप्त भए । मूलतः राष्ट्रिय भेलासँग सम्बन्धित थियो । केन्द्रीय कमिटीको बैठक पनि बस्ने कुरो छ । त्यसको बारेमा पनि थोरै छलफल गर्यौं ।
राष्ट्रिय भेलाको कार्यसूची के छ ? कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
बाहिरबाट आउने साथीहरूको चापलाई ध्यान दिएर कार्यक्रम सुरु गर्छौं । हाम्रो कार्यक्रम दुई सेसनमा हुन्छ । उद्घटन सत्रको अब प्रमुख वक्ता पार्टी अध्यक्ष हुनु हुनेछ । त्यसपछि राष्ट्रिय भेलाको नियमित कार्यक्रममा जान्छौं । नियमित कार्यक्रममा पाँचजना नेताहरूले विषयहरू प्रस्तुत गर्नुहुनेछ । पार्टी अध्यक्ष कमरेडले केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित भएर आएको दुई कार्यभार र १५ कामको बारेमा बताउने कार्यक्रम छ ।
त्यसपछि वरिष्ठ नेता तथा पूर्वराष्ट्रपतिज्यूले अहिलेको सन्दर्भमा पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने विषयमा मन्तव्य राख्ने कार्यक्रम छ ।
संसदीय क्षेत्रको काम र संसदीय क्षेत्रको आन्दोलन बारेमा संसदीय दलका नेता पार्टी एवं उपाध्यक्ष रामबहादुर थापाले बताउने कार्यक्रम छ ।
एमालेले नेतृत्व गरेको र एमाले सरकारमा रहेको बेला राष्ट्र र जनताको पक्षमा भएका कामहरूको विषयलाई लिएर पार्टीका उपाध्यक्ष कमरेड विष्णु पौडेलले प्रस्तुति गर्नुहुनेछ भने पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय तहको निर्वाचनको कार्ययोजनाबारे महासचिवले विषय राख्नुहुनेछ ।
यी विषय हामी दुई दिनमा राख्ने छौं । सहभागी सबै साथीहरूबाट यसपटक लिखित सुझाव लिनेछौं । धेरै वक्ताहरू नराखी सुझावलाई लिखित रुपमा लिने र त्यो सुझावको आधारमा स्थानीय तहको निर्वाचनदेखि अरु विषयमा पनि आधारपत्र तयार पार्नेछ ।
स्थानीय तहसम्मका नेताहरू बोलाएर भेला गर्दै हुनुहुन्छ । कस्तो सन्देश दिन खोज्दै हुनुहुन्छ ?
आम निर्वाचनमा पाएको असफलता र त्यसपछि अहिलेसम्मको स्थितिलाई मध्यनजर राखेर पार्टीलाई अझ हार्दिकतापूर्ण, कमरेडली भावनाका साथ एकताबद्ध बनाउने हो ।
स्थानीय तहको निर्वाचनमा पार्टीलाई बढी भन्दा बढी जिताउनेगरी एमाले पुरानो लहरमै फर्कियो भन्ने सन्देश दिने हो । विचार र दृष्टिकोणमा पार्टीलाई शिरदेखि तिरसम्म एउटै लयमा लैजान पनि भेलाले सहयोग गर्नेछ ।
यो राष्ट्रिय भेलामा पहिलो पटक पालिकाका पार्टीका अध्यक्ष र उपाध्यक्षहरुलाई सहभागी गराएका छौं । त्यसैले पार्टीको एकीकृत धारणा बनाउने अभियानमा पनि सहयोग पुग्छ । मुख्य कुरा मुर्झाएको एमालेलाई ब्युझाउने कार्यक्रमका निम्ति पनि राष्ट्रिय भेलाले योगदान पुर्याउँछ भन्ने विश्वास लिएका छौं ।
एमाले एकताबद्ध छ भन्ने सन्देश दिनु भेलाको उद्देश्य हो ?
एमाले एउटै लयमा छ, बुझाई दृष्टिकोणहरूमा विमति छैन र चुनौतीहरूको सामना गर्ने कुराका एकताबद्ध छ भन्ने कुरा यो भेलाबाट हामी स्थापित गर्छौं ।
चुनावपछि एमालेमा पुनर्गठन हुनुपर्छ भन्ने सन्देश सुनिएको थियो । यो भेलाले पुनर्गठनको समीक्षा होइन, एकताबद्ध रहेको सन्देश दिनुहुन्छ ?
गत निर्वाचनपछि हाम्रो पार्टी जीवनमा पनि धेरै खाले उतारचढावहरू आए । पार्टीलाई कसरी लैजाने भन्ने विषयमा नेताहरूले आफ्ना अभिव्यक्तिहरू सार्वजनिक पनि गर्नुभयो ।
अगुवा कार्यकर्ताहरूसँग राय परामर्श पनि लियौं । एमालेलाई अझ व्यवस्थित गरेर अगाडि लैजाने सन्दर्भमा बहस छलफल पनि गर्याैं । बहस छलफलपछि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मत ढंगले पास गर्याैं ।
सर्वसम्मत ढंगले अध्यक्षको प्रतिवेदन पास गरिसकेपछि त्यो बैठकलाई हामीले ‘कट अफ बैठक’ पनि भन्यौं । अहिलेसम्म जे भनियो, बाहिर जे कुराहरू आए, त्यसलाई एउटा समयक्रममा राख्ने, तर अब पार्टीको संस्थागत निर्णयहरू मानेर जान सहमति गर्यौं ।
केन्द्रीय कमिटी बैठकपछि नेताहरूका अभिव्यक्ति पनि सन्तुलित छन् । पार्टीको पक्षमा छन् । यही सन्देश राष्ट्रिय भेला मार्फत आम कार्यकर्तासम्म पुर्याउन सक्दा एमालेलाई जागृत गर्न, चुनौतीहरूको सामना गर्न सकिन्छ भन्ने अर्थमा पनि भेलाको आयोजना गरिएको छ ।
पार्टीको संस्थागत निर्णय अनुमोदन गराउन पनि राष्ट्रिय भेला गरिएको हो भन्न सकिन्छ ?
पार्टीले गरेको संस्थागत निर्णयलाई आमकार्यकर्ताको माध्यमबाट जनतामा पुर्याउन यो राष्ट्रिय भेला गरेका छौं । यो भेलालाई मूलतः प्रशिक्षणात्मक राष्ट्रिय भेला भन्न सकिन्छ ।
भेलामा जनप्रतिनिधि र पालिका तहका नेताहरू पनि बोलाउनु भएको छ । वडा र पालिकाको अधिवेशन पनि तोक्नु भएको छ । तपाईँहरुको निष्कर्ष तल्लो तहमा समस्या छ भन्ने हो ?
तल्लो तहमा समस्या भन्दा पनि कार्यकर्ताको म्यान्डेटका आधारमा वडा र पालिका कमिटीहरूलाई पुनः अनुमोदित गराउन चाहन्छौं । कार्यकर्ताको नयाँ म्यान्डेटका आधारमा बनेको कमिटीले स्थानीय तहको निर्वाचनलाई सहज ढंगले नेतृत्व गर्न सक्छ र त्यसले अहिलेका कतिपय असजिला/अप्ठ्यारा सामना गर्न सक्छ भन्ने विश्वास लिएका छौं।
पहिले अधिवेशनबाट आएका कतिपय मान्छेहरू थाकिसक्नुभयो होला । कतिपय पहिलेको भूमिकामा नहुनु पनि होला । कतिपयमा निराशा आएको होला । निराशालाई चिर्न नसक्ने मानिसहरू अधिवेशनकै माध्यमबाट किनारा लाग्नुहुन्छ । क्षमता भएका मानिसहरू आउनुहुन्छ भन्ने अर्थमा अधिवेशनहरूको कुरा गरेका हौं ।
दुई महिना अगाडि मात्रै तेस्रो केन्द्रीय कमिटी बैठक बस्नुभएको थियो । फेरि भेलाकै सन्दर्भ पारेर चौथौं केन्द्रीय कमिटी बैठक बोलाउनु भएको छ । निर्णय के गर्दै हुनुहुन्छ ?
कार्यकारी कमिटीको बैठक भएकाले सबै कुरो गर्न सक्ने अथोरिटी राखि नै हाल्छ । तर मूलतः यो केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय भेलामा जुन सुझाव प्राप्त गर्छौं, त्यो सुझावलाई ध्यानमा राख्दै स्थानीय तहको निर्वाचन र मुलुकमा उत्पन्न विषम परिस्थितिहरूबारे निर्णय गर्छ ।
अहिले सरकार संविधान भन्दा विपरीत ढंगले चलिरहेको छ । यसको बारेमा पनि एउटा एकीकृत दृष्टिकोण बनाउने र जनसमक्ष ती कुराहरू पुर्याउने काम हुन्छ । मूलत: स्थानीय तहको निर्वाचन र अहिलेको समसामयिक परिस्थितिबारे निर्णय लिन्छ ।
अन्त्यमा, भेला सकिँदै गर्दा एमालेमा के परिवर्तन आउँछ ?
आम निर्वाचनपछि जुन खालको शिथिलता आएको छ, एउटा निराशा छ । यी कुराहरूलाई चिर्न भेला एउटा ठूलो अवसर हो ।
यसअघि पार्टी विभाजन हुँदा पनि साढे ६ हजार जति प्रतिनिधि उपस्थित गराएर विधान महाधिवेशन गर्यौ । त्यसले एमाले यही रहेछ भन्ने एउटा विश्वास आर्जन गरेको थियो । अहिले पराजयपछि अलि निराश भएका साथीहरूलाई यो राष्ट्रिय भेलाबाट हामीले एउटा गति दिन (संजीवनी जस्तो भनौं) सहयोग पुर्याउँछ ।
देशभरका कार्यकर्ताहरू एकै ठाउँ बस्दा उत्साह सिर्जना गर्छ, र पार्टीको पक्षमा जनमत बनाउन, वकालत गर्न सहयोग पुर्याउँछ ।
प्रतिक्रिया 4