+
+
Shares

कार्यवाहक मेयर बन्न मानेनन् वडाध्यक्ष

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ मंसिर २ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको म्याङलुङ नगरपालिका–३ का अध्यक्ष मिननाथ दाहालले नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले तोकेको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी अस्वीकार गरेका छन्।
  • दाहालले नगरप्रमुख र उपप्रमुखबीचको सहमति तथा कानुनी प्रक्रियाबारे प्रश्न उठाउँदै नगरप्रमुखको अनुपस्थितिमा उपप्रमुखले जिम्मेवारी लिनुपर्ने बताए।
  • स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सात दिनभन्दा बढी नगरप्रमुख अनुपस्थित हुँदा उपप्रमुखलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने व्यवस्था छ।

२ मंसिर, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाका–३ का अध्यक्ष मिननाथ दाहालले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले नगरपालिकाको दैनिक कामकाज सञ्चालन गर्न भन्दै दाहाललाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । तर, वडाध्यक्ष दाहालले भने उक्त जिम्मेवारी अस्वीकार गरेका हुन् ।

नगरपालिकाले २०८३ मंसिर १ गते पत्र जारी गर्दै नगरप्रमुख जिल्ला बाहिर जानुपर्ने भएकाले फर्किएर उपस्थित नभएसम्म दैनिक रूपमा कार्यवाहक नगरप्रमुख भई कामकाज गर्न दाहाललाई भनेको थियो । पत्रमा नगरप्रमुखको अनुपस्थितिमा नगरपालिकाको दैनिक प्रशासनिक कामकाज सञ्चालन गर्न कार्यवाहकको जिम्मेवारी सम्हाल्न भनिएको छ ।

तर, दाहालले नगरप्रमुख र उपप्रमुखबीचको सहमति तथा कानुनी प्रक्रियाबारे प्रश्न उठाउँदै जिम्मेवारी अस्वीकार गरेका हुन् ।

उनले नगरपालिकाको नेतृत्वविहीन अवस्था हुन नदिन नगरप्रमुखको अनुपस्थितिमा उपप्रमुखले जिम्मेवारी बहन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको बताएका छन् ।

यसअघि पनि नगरप्रमुख तुम्बाहाम्फेले उपप्रमुख जमुनादेवी सुवेदी उपस्थित हुँदाहुँदै वडा अध्यक्ष दाहाललाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएपछि नगरपालिका विवादमा परेको थियो । त्यतिबेला नगरप्रमुख भारत भ्रमणमा जानुअघि वडा नं. ३ का अध्यक्ष दाहाललाई कार्यवाहकको पत्र तयार गरी जिम्मेवारी तोकेका थिए ।

उक्त निर्णय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत भएको भन्दै उपप्रमुख सुवेदी उच्च अदालत विराटनगरको धनकुटा इजलास पुगेकी थिइन् ।

अदालतले प्रारम्भिक सुनुवाइपछि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा अध्यक्षलाई दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २७४ को दफा १६ को उपदफा (४) को खण्ड (क) को १२ अनुसार नगरप्रमुख सात दिनभन्दा बढी अनुपस्थित हुने अवस्थामा उपप्रमुखलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । उपप्रमुख पनि अनुपस्थित भएमा मात्र कार्यपालिकाका कुनै सदस्यलाई जिम्मेवारी दिन सकिने कानुनी प्रावधान रहेको छ ।

यसअघि कार्यवाहकको जिम्मेवारी पाएका दाहालले आफूलाई नगरप्रमुखले दिएको पत्रका आधारमा जिम्मेवारी बुझेका थिए । पुन: कार्यवाहकको जिम्मेवारी तोकिएपछि दाहालले नगरप्रमुख र उपप्रमुखबीच यस विषयमा सहमति भएको हो वा होइन भन्ने स्पष्ट हुनुपर्ने बताएका छन् ।

नगरप्रमुख तुम्बाहाम्फे, उपप्रमुख सुवेदी र वडा अध्यक्ष दाहाल तीनै जना गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?