+
+
Shares

बुङ्गल अटो दुर्घटना : श्रीमती र छोराछोरीलाई दीपक महराको अन्तिम बिदाइ

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडाका दीपक महराले श्रीमती, छोराछोरी र भतिजीलाई सोमबार बिहान घरबाट बिदाइ गरे । तर यो बिदाइ नै महराका लागि अन्तिम बन्न पुग्यो ।

जनक विष्ट जनक विष्ट
२०८३ मंसिर २ गते १३:५७

२ मंसिर, धनगढी । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडाका दीपक महराले श्रीमती, छोराछोरी र भतिजीलाई सोमबार बिहान घरबाट बिदाइ गरे । तर यो बिदाइ नै महराका लागि अन्तिम बन्न पुग्यो ।

पेसाले शिक्षक महराका श्रीमती र छोराछोरी डडेल्धुराका लागि घरबाट निस्किएका थिए । तर घरभन्दा केही पर नपुग्दै पाँच जना सवार सुपप्र ०१–००१ह७९९८ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको खबर आयो । भिरमा खसेको अटोमा सवारमध्ये भतिज विक्रम महरा सकुशल भेटिए भने अन्य चार जनाले ज्यान गुमाए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा महराकी श्रीमती २६ वर्षीया राजमती महरा, उनका ७ वर्षीय छोरा रियास, दुई वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै मृत्यु बताए । घटनास्थलको काम सकेर उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

अटो चालक बुङ्गल नगरपालिका–११ बस्ने २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले अटोको ब्रेक फेल हुँदा दुर्घटना भएको बताएका छन् । उनले आफू र एक बालकले हाम फालेर ज्यान जोगाएको बताएका छन् ।

मृतक राजमतीका श्रीमान् दीपक स्थायी शिक्षक हुन् । उनी यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा रहेको गणेश माध्यमिक विद्यालयमा पढाउँदै आएका थिए । उनका छोरा रियास र भतिजी तारा पनि सोही विद्यालयमा पढ्दै थिए ।

गत साउनमा दीपकको सरुवा बझाङको बुङ्गल नगरपालिका–८ को सत्य माध्यमिक विद्यालय, तोलीचौरमा भएको थियो । वडाध्यक्ष प्रेम ओखेडाका अनुसार उनले यो शैक्षिक सत्रसम्म छोराछोरीलाई डडेल्धुरामै पढाउने र आगामी शैक्षिक सत्रदेखि आफूसँगै राखेर पढाउने योजना बनाएका थिए ।

तर, परिवारसँगै बस्ने उनको सपना पूरा नहुँदै दुर्घटनाले श्रीमती र छोराछोरीसहित चार सदस्य खोसेको छ ।

ओखेडाका अनुसार उनीहरू दशैँ–तिहारको बिदा मनाएर डडेल्धुरा फर्किंदै थिए ।

दुर्घटनाको खबरले गाउँ नै शोकमा डुबेको छ । परिवारलाई आफूसँगै राखेर छोराछोरीको भविष्य बनाउने सपना देखेका दीपकका लागि यो दुर्घटनाले सहनै नसकिने पीडा दिएको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?