+
+
Shares

संसदीय मैत्री समूहले विदेश भ्रमण गर्नुअघि सभामुखको सहमति लिनुपर्ने

सभामुख डोलप्रसाद अर्यालको निर्णयअनुसार ४३ देशका लागि संसदीय मैत्री समूह गठन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १४:५०

२ मंसिर, काठमाडौं ।  संसदीय मैत्री समूहले विदेश भ्रमण गर्नु अघि सभामुखको सहमति लिनु पर्ने गरी कार्यविधि बनेको छ ।

‘संसदीय मैत्री समूहको कार्यविधि २०८३’ को बुँदा नम्बर ९ मा विदेश भ्रमण गर्नु अघि सभामुखको सहमति लिनु पर्ने व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘मैत्री समूहले विदेश भ्रमण गर्नु अघि वा विदेशी प्रतिनिधिमण्डललाई नेपाल भ्रमणको लागि आमन्त्रण गर्नु अघि सभामुखको सहमति लिनु पर्नेछ ।’

यसअघि नै संघीय संसदले संसदीय मैत्री समूह गठन गरिसकेको छ ।

सभामुख डोलप्रसाद अर्यालको निर्णयअनुसार ४३ देशका लागि संसदीय मैत्री समूह गठन भएको हो ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका राष्ट्रका संसद र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदसँग संघीय संसदको प्रत्यक्ष सम्पर्क बढाइ पारस्परिक मैत्री तथा समझदारी अभिवृद्धि गर्दै आपसी मित्रता स्थापित गर्ने उद्देश्यले संघीय संसद्मा मैत्री समूह गठन गर्ने अभ्यास छ ।

संसदीय कूटनीतिको प्रभावकारिता अभिवृद्धि गर्ने उदेश्यसहित गठित मैत्री समूहले विदेश भ्रमण गर्न र विदेशी प्रतिनिधिमण्डललाई नेपाल भ्रमणको लागि आमन्त्रण गर्न सक्दछ ।

यीलगायतका कार्यलाई व्यवस्थित गर्ने गरी संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३९ ले दिएको अधिकार प्रयोग गरी संसदीय मैत्री समूहको कार्यविधि २०८३ तयार पारिएको हो ।

यस्तो समूह नेपालसंग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरू, नेपालमा राजदुताबास भएका राष्ट्रहरू, नेपालको कूटनीतिक उपस्थिति भएका राष्ट्रहरू, अन्तर व्यवस्थापिका संघका सदस्य राष्ट्रहरू, संसदीय कूटनीति प्रबर्द्धनका दृष्टिले रणनीतिक महत्त्व भएका राष्ट्रहरू र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदहरूका आधारमा गठन गर्ने गरिएको छ ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका २७५ र राष्ट्रिय समूहका ५९ जनालाई एकै ठाउँमा राखेर गत असार महिनामै मैत्री समूह गठन गरेको हो ।

अमेरिका, चीन र भारतसँगको मैत्री समूह संयोजकमा रास्वपाका सांसदहरू छन् ।

नेपाल–चीन मैत्री समूहको संयोजकमा गणेश पराजुली छन् । नेपाल–भारत मैत्री समूहको संयोजकको जिम्मेवारी विपीनकुमार आचार्य र नेपाल–अमेरिका मैत्री समूहको संयोजकमा निशा डाँगी रहेका छन् ।

नेपाल–बेलायत संसदीय मैत्री समूहको संयोजकमा मनिष झा, नेपाल–रुस संसदीय मैत्री समूहको संयोजकमा वर्षमान पुन, नेपाल–फ्रान्स संसदीय मैत्री समूहको संयोजकमा पदमा अर्याल, नेपाल–बंगलादेश संसदीय मैत्री समूहको संयोजकमा गीता गुरुङ, नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा बासना थापा, नेपाल–अस्ट्रिया संसदीय मैत्री समूहको संयोजकमा उर्मिला अर्याल छन् ।

नेपाल–आयरल्यान्ड संसदीय मैत्री समूहको संयोजकमा हर्कराज राई, नेपाल–अजरबैजान संसदीय मैत्री समूहको संयोजकमा डा. अर्जुनकुमार कार्की, नेपाल–बहराइन संसदीय मैत्री समूहको संयोजकमा तपेश्वर यादव छन् ।

‘संसदीय मैत्री समूहको कार्यविधि २०८३’ अनुुसार संसदीय मैत्री समूहको  संयोजकले आवश्यकतानुसार मैत्री समूहको बैठक बोलाउन सक्छन् । मैत्री समूहको कार्यावधि प्रतिनिधि सभाको कार्यकालभर हुनेछ ।

मैत्री समूहको काम, कर्तव्य र अधिकार अन्तर्गत पाँच वटा विषय राखिएका छन् ।

(क) दुई वा दुई भन्दा बढी राष्ट्रबीच एक आपसमा संसदीय सहकार्य अभिवृद्धि गर्ने,

(ख) विभिन्न देशका संसदीय पदाधिकारीहरूबीच सम्बन्ध विस्तारमार्फत संसदीय कूटनीति प्रवर्द्धन गर्ने,

(ग) नेपालको संसदीय प्रतिनिधिमण्डल र अन्तर्राष्ट्रिय संसदीय प्रतिनिधिमण्डलको विचमा संसदीय प्रक्रिया तथा अनुभवको आदान प्रदान गर्ने.

(घ) बहुपक्षीय/क्षेत्रीय संसदीय मञ्चहरूमा सहकार्य तथा सम्बन्ध विस्तार गर्ने,

(ड) मैत्री समूहबीच एकआपसमा समन्वय गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?