+
+
Shares

करिब ११ अर्ब अपचलन भएकाे बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ

करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका हुन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ मंसिर २ गते १४:३४

२ मंसिर, विराटनगर । सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने बराह ग्रुपका अध्यक्ष पक्राउ परेका छन् । करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका हुन् ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनालले लामिछानेलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार लामिछानेलाई कोशी प्रदेशबाट पक्राउ गरिएको हो । उनले ठाउँ भने खुलाएनन् ।

‘सहकारी अपचलनपछि उहाँ भागिरहनुभएको थियो, प्रहरीले ट्र्याक गरिरहेको थियो,’ उनले भने, ‘उहाँलाई कोशी प्रदेशबाटै समातिएको हो, ठाउँ चाहिँ पछि भन्छौं ।’

धरान उपमहानगरपालिका कार्यक्षेत्र रहेको बराह २०७९ सालमा समस्यामा परेको थियो । बराहलाई २०८२ भदौ २२ गते सुनसरीको धरान उपमहानगरपालिकाले समस्याग्रस्त घोषणा गरेको थियो ।

बराह सहकारीमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ अपचलन गरेको दाबीसहित २६२ जनाविरुद्ध जिल्ला अदालत सुनसरीमा दायर भएको थियो । बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने)लगायतका प्रतिवादी फरार थिए ।

बराह सहकारीले अपचलन गरेको रकम मध्ये अधिकांश रकम बराह ग्रुप अफ कम्पनी अन्तर्गतका १४ कम्पनीमा लगानी गरेको थियाे । सहकारीले तिर्नुपर्ने दायित्व १० अर्ब ८९ करोड ९५ लाख २० हजार २ सय ३५ रुपैयाँ छ ।

यो रकममध्ये बराह ज्वेलरीले सहकारीका नाममा संकलन गरेको ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५ सय २० रुपैयाँ संकलनन गरेको थियो ।

सहकारीको दायित्व पूरा गर्न सञ्चालकबाट १० अर्ब ७१ करोड ४३ लाख ४७ हजार रुपैयाँ असुल गर्नुपर्नेछ ।

यो ग्रुपले देशभरिबाट सर्वसाधारणको १४ अर्ब हाराहारी डुबाएकाे अनुमान छ । सुनसरी प्रहरी अनुसन्धानले धरानमा मात्रै १० अर्ब ७३ करोड अनियमितता भएको देखाएको थियाे ।

चितवन, काठमाडौं र कास्कीमा पनि याे सर्वसाधारणकाे रकम संकलन गरेकाे थियाे ।

धरान बाहिर इन्द्र बराह ट्राभल्स एन्ड टुर्स प्रालि काठमाडौं, नारायण बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि भरतपुर चितवन, गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि पोखरा, बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि काठमाडौ, बराह प्रपर्टी सर्भिसेज प्रालि काठमाडौं, बराह नेसनल इन्भेस्टमेन्ट प्रालि काठमाडौं, ड्रिमल्यान्ड रियल स्टेट प्रालिलगायत कम्पनी छन् ।

२०५२ सालमा भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने (विश्वकर्मा) ले धरानका लाहुरे परिवारलाई लक्षित गरेर बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए । यसले सुरुदेखि नै ज्वेलरी मार्फत आकर्षक ब्याजको लोभ देखाएर बचत संकलन गर्थ्यो ।

ब्रान्डका रूपमा स्थापित भएपछि बराहले आफ्नो नामका पछाडि ‘विश्वासको प्रतीक’ उपनाम थपेको थियो ।

सुन पसलमा बचत तथा ऋणको कारोबारमा रोक लागेपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो ।

आफ्नै सहकारी मार्फत बराह ग्रुप मातहत रहेको बराह ज्वेलरी प्रालिमा २७ करोड २८ लाख ४९ हजार, बराह फेमिली किचेनमा ३ करोड ४ लाख २७ हजार, बराह डिपार्टमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १ सय ८८, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा ४ करोड ८६ लाख ८९ हजार, बराह कृषि उपज तथा पशुपालन प्रालिमा ४ करोड ६८ लाख ३ हजार ३ सय ८२, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा थप २८ लाख २५ हजार २३८ रुपैयाँ लगानी भएको थियाे ।

२०५२ सालमा स्थापना भएको ज्वेलरीले २०६९ सालसम्म आफ्नो व्यापारिक साम्राज्य विस्तार गरिसकेको थियो ।

२०६९ साल माघमा हङकङ गएका बेला इन्द्र उतै झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । उनको मृत्युपछि समस्यामा परेकाे बराह ग्रुप कोरोना महामारीपछि डुबेको थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?