 
																			१९ फागुन, विराटनगर । शिवकुमार विश्वकर्मा (लामिछाने) सहितको समूहले बराह बचत तथा ऋण सहकारीको १० अर्ब ७३ करोड रुपैयाँ हिनामिना गरेको दाबीसहित जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको छ ।
१० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ अपचलन गरेको दाबीसहित २ सय ६२ जनाविरुद्ध मुद्दा दायर भएको हो । मुद्दामा प्रतिवादी बनाइएका ३५ जना बाहेक अन्य ऋणी हुन् ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा सर्वसाधारणको बचत तथा सेयर जम्मा गरेको रकम व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनी अन्तर्गतका १४ कम्पनीमा लगानी गरेको उल्लेख छ ।
अनुसन्धानका क्रममा यो सहकारीको नाममा बैंक मौज्दात भने ७ लाख २७ हजार ७ सय ८० रुपैयाँमात्र छ ।
बराह ज्वेलरी हुँदै उदाएको बराह ग्रुपले बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेको थियो । सहकारीको बचत मास्न ज्वेलरी मार्फत कारोबार हुन्थ्यो ।
सहकारीको दायित्व १० अर्ब ८९ करोड ९५ लाख २० हजार २ सय ३५ रुपैयाँ छ । यो रकममध्ये ज्वेलरीमा जम्मा भएको ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५ सय २० रुपैयाँ हो । सेयर रकम १० करोड १३ लाख ९७ हजार ३ सय, सहकारीमा भएको बचत ६८ करोड ९७ लाख ३४ हजार ६ सय ४७ रुपैयाँ र बचतको ब्याज १ करोड ५५ लाख ३५ हजार ३ सय ६ रुपैयाँ छ ।
सहकारीको दायित्व पूरा गर्न सञ्चालकबाट १० अर्ब ७१ करोड ४३ लाख ४७ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) बाट ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७ सय ३३ रुपैयाँ हिनामिना भएकाले सोही अनुसार असुल गर्नुपर्ने अभियोग दाबी छ ।
शिवकुमार स्वयंले भने २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ अपचलन गरेको दाबी छ । उनका बुबा स्वर्गीय इन्द्रकुमार विश्वकर्माले २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५ सय ७६ रुपैयाँ, विष्णुमाया विश्वकर्माको नाममा ७१ करोड हिनामिना भएको देखिन्छ ।
बुबाआमा नै नभएका कारण उनीहरूको दायित्व पनि छोरा शिवमा सरेको छ । शिवकी बहिनी मन्दिरा लामिछानेबाट १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय, बराह बचत तथा ऋण सकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माबाट १ अर्ब ११ करोड ८१ लाख ८१ हजार २ सय १७, हरिकुमार धमाल (विश्वकर्मा) बाट ३७ करोड ६१ लाख २४ हजार ३ सय २८, प्रकाश लामगादेबाट ४८ करोड १८ लाख ८९ हजार ८९, शुभराज खातीबाट ४३ करोड ७१ लाख ८१ हजार ८ सय २७ रुपैयाँ असुल गर्नुपर्ने अभियोग दाबी छ ।
शिवसहित ३५ जनाविरुद्ध सहकारी ऐन २०७४ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको बिगो र सजायको माग दाबी गरिएको छ ।
बराह ग्रुप अन्तरगतको बराह ज्वेलरी र बराह सहकारीबाट ठगिएको भन्दै ४ हजार १ सय ६८ जाहेरी दर्ता भएको थियो, जसमा ५ अर्ब ८५ करोड ९८ लाख ७७ हजार ७ सय ३९ रुपैयाँ भराउन माग गरिएको छ ।
बराह सकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका मध्ये मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालिकोटे) विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फूलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, विक्रम गजमेर पक्राउ परेका थिए । उनीहरूको बयान जारी छ ।
पक्राउ परेकी रिना राई बराह ग्रुपका अध्यक्ष शिव विश्वकर्माकी श्रीमती हुन् । बराह सहकारी संकटमा परेपछि उनीहरूले सम्बन्धविच्छेद गरेका थिए । उनले बयान क्रममा ससुरा इन्द्रबहादुर विश्वकर्माको मृत्युपछि कम्पनी समस्या परेको उल्लेख गरेकी छिन् ।
१६ माघ २०६९ मा इन्द्रबहादुर हङकङमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । त्यसबेलासम्म हङकङको कारोबार रिना र शिवले हेर्थे । इन्द्रबहादुरको मृत्युपछि व्यवसाय सञ्चालनका लागि शिव नेपाल फर्किएका थिए ।
अनुसन्धान क्रममा सहकारीको रकम न्यु बराह ज्वेलरी, न्युरोड पिपलबोट, बराह इन्डस्ट्रिज, बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान, भद्रकाली सुनचाँदी पसल लाजिम्पाट, टाइम्स रेमिट प्रालि, गोर्खा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि न्युरोड पोखरा, न्यु बराह ज्वेलर्स न्युरोड, बराह नेसनल इन्भेस्टमेन्ट प्रालिमा लगानी गरेको थियो ।
यसैगरी बराह मोटर्स प्रालि, इन्द्र बराह ट्राभल्स एन्ड टुर्स प्रालि, इन्द्र बराह ज्वेलरी प्रालि तालचिखे, नारायण बराह ज्वेलरी, बराह कृषि उपज तथा पशुपालन प्रालि, बराह फेमिली किचेन प्रालि, बराह बाल संसार गेमजोन एन्ड कृपा १६ डी इन्टरटेन्मेन्ट, बराह भेडेटार मल्टिपर्पोज कम्पनी प्रालि भेडेटार, बराह डिपार्टमेन्ट स्टोर प्रालि, बराह प्रपर्टी सर्भिस प्रालि, पिपलबोट बराह ज्वेलर्स प्रालि, श्रीपा सुपर मार्केट स्टोर प्रालि, बराह ग्रुप अफ कम्पनी, बराह चिल्ड्रेन वर्ल्ड प्रालि लगायतमा पनि ग्रुपले लगानी गरेको देखिएको थियो । बराह ग्रुपले नेपाल बाहेक यूएईमा दुई, हङकङ र बेलायतमा एउटा कम्पनी खोलेको छ ।
 
                









 
                     
                                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4