 
																			२३ पुस, विराटनगर । सहकारी ठगीको आरोप लागेका संचालकहरू फरार भएपछि सुनसरी प्रहरीले उनीहरूका श्रीमतीलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ ।
सुनसरीको धरानबाट उदाएको बराह ग्रुप अफ कम्पनीका सञ्चालकले खोलेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिडेटका अध्यक्ष मानबहादुर विश्वकर्मा र सञ्चालक गंगाबहादुर कालिकोटे फरार भएपछि प्रहरीले उनीहरूका श्रीमतीलाई हिरासतमा राखेको हो ।
बचत अपचलनको आरोपमा प्रहरीले अध्यक्ष विश्वकर्मा र सदस्य कालिकोटेको खोजी गरिरहेको थियो । यसक्रममा गत १३ पुसमा मानबहादुरकी श्रीमती जतनमाया र कालिकोटेकी श्रीमती सरितालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ गरेको भोलिपल्ट मात्र प्रहरीले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरेको स्रोतको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार सहकारी ठगीमा दुवै महिलाको संलग्नता देखिएको छैन । तर, श्रीमान नभेटिएकै कारण मात्र उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता रामप्रसाद तिम्सिनाले सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहेको भन्दै अहिलेसम्म दुवै महिलाको संलग्नता नदेखिएको बताए ।
पीडितहरूले दिएको जाहेरीमा नाम किटान गरिएकाले उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिएको तिम्सिनाको भनाइ छ । उनले दुई संचालकका श्रीमतीसहित नौजनामाथि अनुसन्धान भइरहेको छ ।
प्रहरीले पक्राउ गरेपछि महिलाहरूको तर्फबाट धरान उपमहानगरपालिका– १७ का पवन विश्वकर्माले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । १६ पुसमा परेको उक्त रिटको १९ पुसमा सुनुवाइ गर्दै न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र कृपासुर कार्कीको संयुक्त इजलासले रिट खारेज गरेको थियो ।
प्रहरीका अनुसार सहकारीबाट ठगिएको भन्दै ६ सय ५४ पीडितले ६२ वटा जाहेरी दर्ता गराएका छन् । जाहेरीमा एक अर्ब १८ करोड ३६ लाख एक सय १० रुपैयाँबराबरको बिगो दाबी भएको छ । उजुरी आउने क्रम जारी छ । प्रहरीले चार्टन एकाउन्टेन्ट विज्ञसहितको टोली झिकाएर सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ ।
भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने (विश्वकर्मां)ले २०५२ सालमा धरानका लाहुरे परिवारलाई लक्षित गरेर बराह ज्वेलरी इन्टरप्राइजेज खोलेका थिए । बराह ज्वेलरी इन्टरप्राइजेज विस्तार गर्दै बराह ग्रुप अफ कम्पनी खोलिएको थियो । यो कम्पनीमा धरानकै कांग्रेसका प्रभावशाली नेता र माओवादी केन्द्रका नेताको नाम पनि जोडिएको थियो ।
बराह ग्रुप अफ कम्पनी मातहत २८ भन्दा बढी कम्पनी छन् । ती कम्पनीले देशभरबाट १४ अर्बभन्दा बढी रकम ठगी गरेको छ । धरानका बचतकर्ताको मात्रै नौ अर्ब हाराहारी अपचलन भएको प्रहरी स्रोत बताउँछ ।
बराह ज्वेलरी इन्टरप्राइजेजका संस्थापक इन्द्र लामिछाने (विश्वकर्मा) भने २०६९ सालको माघमा हङकङमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बराह ग्रुपको अध्यक्ष शिव लामिछाने(विश्वकर्मा) हुन् । उनी इन्द्रका छोरा हुन् । ठगी आरोपमा उनी पनि फरार छन् । लामिछाने अध्यक्ष रहेको काठमाडौंको अभिमत बचत तथा ऋण सहकारी संस्था पनि संकटमा छ ।
लामिछाने परिवारका सदस्यले धरानमा सञ्चालन गरेको बराह बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले ६८ करोड ८३ लाख १० हजार ८१६ रुपैयाँ बचत गरेको हिसाब संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले प्रतिनिधिसभाको संसदीय छानविन विशेष समितिमा बयानका क्रममा पनि प्रस्तुत गरेका थिए । तर प्रहरीमा परेको जाहेरीका आधारमा दुरुपयोग भएको बचको संख्या बढ्ने देखिन्छ ।
संसदीय छानविन समितिमा पेश गरेको विवरण अनुसार गत जेठसम्म ६८ करोड ८३ लाख १० हजार आठ सय १६ रुपैयाँ बचत संकलन भएको थियो । धरानका १३ हजार पाँच हजार ७८ जना साधारण बचतकर्ताले पाँच हजारदेखि एक करोडसम्म बचत गरेका छन् ।
सहकारीको ऋण लगानी ७१ करोड ५८ लाख ६४ हजार ५३७ रुपैयाँ देखाइएको थियो । ऋण लगानीमध्ये ४१ करोड तीनलाख रुपैयाँभन्दा बढी नियम विपरीत रकम आफ्नै कम्पनीमा लगानी भएको छ ।
बराह ग्रुप मातहत रहेको बराह ज्वेलरी प्रालीमा २७ करोड २८ लाख ४९ हजार, बराह फेमली किचेनमा तीन करोड ४ लाख २७ हजार, बराह डिपाटमेन्ट स्टोरमा ८७ लाख ९६ हजार एक सय ८८, बराह भेडेटार मल्टी प्रपोज प्रालीमा चार करोड ८६ लाख ८९ हजार, बराह कृषि उपज तथा पशु पालन प्रालिमा चार करोड ६८ लाख ३ हजार ३८२, बराह भेडेटार मल्टी प्रपोज प्रालीमा थप २८ लाख २५ हजार २३८ रुपैयाँ लगानी भएको छ । अन्य रकम पनि सोही ग्रुप र ग्रुपका सदस्यले प्रयोग गरेका थिए ।
बराह ग्रुपले धरानमा बराह ज्वेलरी प्राली, बराह फेमली किचेन, बराह डिपाटमेन्ट स्टोर, बराह भेडेटार मल्टी प्रपोज प्राली, बराह कृषि उपज तथा पशु पालन प्रालि, कृपा दृश्य डिजिटल प्रोडक्सन प्रालि खोलेका थिए ।
धरानबाहिर इन्द्र बराह ट्राभल्स एन्ड टुर्श प्रालि काठमाडौ, नारायण बराह ज्वेलरी इन्ड्रष्टिज प्रालि भरतपुर चितवन, गोर्खा एन्ड बराह ज्वेलरी इन्डष्टिज प्रालि पोखरा, बराह ज्वेलरी इन्डष्ट्रिज प्रालि काठमाडौं, बराह प्रपटी सर्भिेसस प्रालि काठमाडौं, बराह नेशनल इन्भेष्टमेन्ट प्रालि काठमाडौंलगायत २८ वटा कम्पनी खुलेको छ । दुबईमा अल बराह मिनी मार्केट एलएलसी, हङकङमा इन्द्र बराह ज्वेलरी पनि खोलेका थिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4