 
																			८ फागुन, विराटनगर । सुनसरी धरानस्थित बराह सहकारीमा जनताले राखेको बचत रकम बराह ग्रुप अफ कम्पनीका मालिकहरूले दुई दर्जनभन्दा बढी कम्पनी मार्फत अपचलन गरेको खुलेको छ ।
बराह ग्रुपमार्फत खुलेका बराह बचत तथा ऋण सहकारी संस्था, बराह ज्वेलरी इन्ड्रस्ट्रिज प्रालि सहित २८ कम्पनी मार्फत जनताको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ अपचलन भएको भेटिएको हो ।
सर्वसाधारणबाट बराह सहकारीको पासबुक मार्फत संकलन गरेको रकममध्ये केही संस्थामार्फत बराह ज्वेलरीमा लगानी भएको र धेरै रकम सिधै ज्वेलरी लगायत अन्य कम्पनीको खातामा जम्मा भएको अनलाइनखबरलाई प्राप्त दस्तावेजले देखाउँछन् ।
बराह सहकारीबाट बराह ज्वेलरी इन्ड्रस्ट्रिज प्रालिका नाममा प्रत्यक्ष २७ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । यो रकममध्ये १५ करोड ८४ लाख कर्मचारीका नाममा लिइएको हो । सहकारीबाट ज्वेलरीले आफ्ना कर्मचारीका नाममा ऋण लिएको हो ।
अनलाइनखबरलाई प्राप्त विवरण अनुसार बराह ज्वेलर्सले २६ कर्मचारीका नाममा सहकारीबाट १५ करोड ८४ लाख रुपैयाँ ऋण निकालेको देखिन्छ ।
सहकारीको बचत अपचलन गर्न सहकारी अध्यक्ष मानबहादुर विश्वकर्माले आफ्नै छोराको नाममा पनि ४५ लाख रुपैयाँ ऋण दिएको देखिन्छ । यो ऋण पनि बराह ज्वेलरी इन्ड्रस्ट्रिज प्रालिमै लगानी भएको छ ।
सहकारीबाट अध्यक्षका छोरा संयोग दियाली विकले ३२ जेठ २०७६ मा ४५ लाख रुपैयाँ ऋण निकालेको देखिन्छ, सोही दिन बराह ज्वेलरी इन्ड्रस्ट्रिज प्रालिका अख्तियारप्राप्त व्यक्ति अम्बरबहादुर विश्वकर्माले उनीसँग ऋण कम्पनीले चलाउने कबुलियतनामा गरेका छन् ।
२६ कर्मचारीसँग गरिएको कबुलियतनामाको भाषा एउटै छ । जसमा लेखिएको छ, ‘…..ले बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मिति २०७६…मा (अक्षरेपी …. रुपैयाँमात्र) ऋण लिई उक्त रकम सोही मितिमा बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिको व्यापार व्यवसाय सञ्चालन एवं प्रवर्द्धन गर्नका लागि लिएको ठिक साँचो हो । उक्त ऋण रकमको संस्थामा बुझाउनुपर्ने नियमानुसार साँवा तथा ब्याज रकम यस प्रालिले बुझाउने छ । उक्त ऋण रकम बराबर सम्पूर्ण तिर्नुपर्ने दायित्व रकम यस बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिले बराह बचत तथा ऋण सहकारी संस्थामा बुझाउने कबुलियतनामा गरिदिएको छु ।’
कर्मचारीका नाममा ४५ लाखदेखि १ करोड रुपैयाँसम्म ऋण लिइएको देखाइएको छ ।
प्रहरीका अनुसार सहकारीको सफ्टवेयरमा भएको डाटामा भने कर्मचारीका नाममा ऋण छैन । अनुसन्धान क्रममा संस्थाले लिएको ऋणका विषयमा कर्मचारीले विरोध गरेपछि कर्मचारीका नाम हटाएर बराह इन्ड्रस्ट्रिजकै नाम राखेको खुलेको थियो ।
‘बराह सहकारीको पासबुक दिएर बराह ज्वेलरीले कारोबार गरेको भेटियो, ज्वेलरीमा सहकारीको पासबुकमा लेख्ने तर कारोबार चाहिँ पसलमा हुन्थ्यो,’ अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ, ‘सहकारीका नाममा ब्रम्हलुट नै मच्चाएको देखियो ।’
२१६ जनालाई मुद्दा चलाउन सिफारिस
सहकारी ठगी प्रकरणको करिब तीन महिना अनुसन्धान गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । अनुसन्धान प्रतिवेदनमा सहकारी र कम्पनीका ४८ सञ्चालक र ऋणीसहित २ सय १६ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।
उनीहरूबाट १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ असुलउपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रहरीका अनुसार असुल गर्नुपर्ने रकम ऋणीबाट थोरै छ । सञ्चालकबाट धेरै छ ।
सहकारीबाट ठगिएको भन्दै ४ हजार १ सय ४७ जाहेरी परेको थियो, जसमा ४ हजार ७ सय ६० जना पीडित छन् ।
जाहेरीका आधारमा मात्रै ५ अर्ब ८५ करोड ९६ लाख ७२ हजार ७ सय १० रुपैयाँ बचत फिर्ता माग गरिएको छ । प्रहरीका अनुसार सहकारी र ज्वेलरीमा १३ हजार बचतकर्ता रहेको देखिन्छ । तर, सबैको जाहेरी परेको छैन ।
‘ठूलो रकम सहकारीमा जम्मा भएको होइन, सहकारीको दायित्व मात्रै १ अर्ब २२ करोड हाराहारी पुग्छ,’ प्रहरी स्रोत भन्छ, ‘सहकारीको पासबुकमा ज्वेलरीमा कारोबार भएको छ, यो रकम धेरै छ ।’
सर्वसाधारणबाट दैनिक बचत मार्फत संकलन हुने रकम बराह ग्रुपका सञ्चालकले आफ्नो कम्पनीमा लगानी गर्थे । बराह ग्रुप मातहत २८ सहायक कम्पनी छन् ।
अन्य जिल्लामा पनि ठगी
प्रहरीका अनुसार सहकारीका नाममा शिव लामिछाने परिवारले बराह ग्रुप ठगीको साम्राज्य नै चलाएको देखिन्छ । यो ग्रुपले देशभरिबाट सर्वसाधारणको १४ अर्ब हाराहारी रकम डुबाएको छ ।
सुनसरी प्रहरी अनुसन्धानले धरानमा मात्रै १० अर्ब ७३ करोड अनियमितता भएको देखाएको छ ।
चितवन, काठमाडौं र कास्कीमा पनि अनुसन्धान जारी भएको प्रहरीले जनाएको छ ।
२०५२ सालमा भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने (विश्वकर्मां) ले धरानका लाहुरे परिवारलाई लक्षित गरेर बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए । सुरुदेखि नै ज्वेलरी मार्फत आकर्षक ब्याजको लोभ देखाएर बचत संकलन गर्थ्यो ।
ब्रान्डका रूपमा स्थापित भएपछि बराहले आफ्नो नामका पछाडि ‘विश्वासको प्रतीक’ उपनाम थपेको थियो ।
सुन पसलमा बचत तथा ऋणको कारोबारमा रोक लागेपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो ।
आफ्नै सहकारी मार्फत बराह ग्रुप मातहत रहेको बराह ज्वेलरी प्रालिमा २७ करोड २८ लाख ४९ हजार, बराह फेमिली किचेनमा ३ करोड ४ लाख २७ हजार, बराह डिपार्टमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १ सय ८८, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा ४ करोड ८६ लाख ८९ हजार, बराह कृषि उपज तथा पशुपालन प्रालिमा ४ करोड ६८ लाख ३ हजार ३ सय ८२, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा थप २८ लाख २५ हजार २ सय ३८ रुपैयाँ लगानी भएको देखिन्छ ।
यो लगानीको हिसाबकिताब संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले प्रतिनिधिसभाको संसदीय छानबिन विशेष समितिमा बयान क्रममा पनि प्रस्तुत गरेका थिए ।
२०५२ सालमा स्थापना भएको ज्वेलरीले २०६९ सालसम्म आफ्नो व्यापारिक साम्राज्य विस्तार गरिसकेको थियो । २०६९ साल माघमा हङकङ गएका बेला इन्द्र उतै झुन्डिएको अवस्थामा मृत भेटिए । उनको मृत्युपछि अधोगति सुरु भएको बराह ग्रुप कोरोना महामारीपछि डुबेको थियो ।
लामिछानेले परिवारका सदस्यलाई मात्रै राखे बराह ज्वेलरी प्रालि, बराह फेमिली किचेन, बराह डिपार्टमेन्ट स्टोर, बराह भेडेटार मल्टिपर्पोज प्रालि, बराह कृषि उपज तथा पशुपालन प्रालि, कृपादृश्य डिजिटल प्रडक्सन प्रालि खोलेका थिए ।
धरान बाहिर इन्द्र बराह ट्राभल्स एन्ड टुर्स प्रालि काठमाडौं, नारायण बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि भरतपुर चितवन, गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि पोखरा, बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि काठमाडौ, बराह प्रपर्टी सर्भिेसेस प्रालि काठमाडौं, बराह नेसनल इन्भेस्टमेन्ट प्रालि काठमाडौं, ड्रिमल्यान्ड रियल स्टेट प्रालि लगायत कम्पनी छन् ।
 
                









 
                     
                                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4