एनभिडियाका तत्कालीन सीईओ जेन्सन हुआङ र एलिस हुआङबीचको शंकास्पद प्रेम सम्बन्धको विषय जगजाहेर भएको १३ दिन भइसकेको छ ।
यस मामिलाले धेरै प्रश्नहरू खडा गरेको छ । तीमध्ये केही प्रश्नहरूको जवाफ मिलिसकेको छ । तर धेरै प्रश्नहरू अझै अनुत्तरित नै छन् ।
जवाफ पाउन बाँकी रहेका प्रश्नहरूमध्ये एउटा मुख्य प्रश्न छ । यस मामिलाको केन्द्रमा रहेकी महिला एलिस हुआङ अहिले संसारको कुन कुनामा छिन् ?
जेन्सन हुआङले आफ्नो धोकाधडीको खुलासा गरेदेखि एलिस सार्वजनिक रूपमा देखिएकी छैनन् । उनी कहाँ गायब भइन् भनी धेरैले अचम्म मानिरहेका छन् । उनको यस अनुपस्थितिले एउटा आशङ्कालाई अझ बल पुर्याएको छ । उनी वास्तवमै चिनियाँ सरकारका लागि काम गर्ने जासुस हुन् भन्ने अनुमान गरिएको छ ।
एलिसको जीवनबारे थोरै मात्र जानकारी
एनभिडियाका जेन्सनसँग प्रेम सम्बन्ध रहेको विश्वास गरिएकी महिला एलिस हुआङबारे विवरणहरू अझै दुर्लभ र अपूर्ण छन् ।
उनी चीनको हुनान प्रान्तको एक ग्रामीण क्षेत्रमा जन्मिएको बताइएको छ । उनले सरकारी स्वामित्वको मिडिया संस्था सीसीटीभीमा पत्रकारको रूपमा काम गरेकी थिइन् । पछि उनी हङकङ सरिन् । त्यहाँ उनले हङकङ ब्याप्टिस्ट युनिभर्सिटीमा मिडिया स्टडिजमा स्नातकोत्तर अध्ययन गरिन् ।
उनका एक पूर्वसहपाठीले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उनलाई ‘सबैले मन पराउने, मिलनसार र महत्त्वाकांक्षी’ भनेर वर्णन गरेका छन् ।
एलिसलाई हुआङले भनेर पनि चिनिन्छ । उनी त्यसपछि फाइनान्स क्षेत्रमा प्रवेश गरिन् । उनले लन्डनस्थित विश्वव्यापी बैंकिङ फर्म एचएसबीसीमा काम गरिन् । साथै, उनले चिनियाँ सरकारी स्वामित्वको वित्तीय समूह सीआईटीआईसीमा पनि काम गरिन् । यो जानकारी एक चिनियाँ प्राइभेट इक्विटी डाटाबेस साइटबाट प्राप्त भएको हो ।
उनकी अर्की पूर्वरोजगारदाता कम्पनी सांघाई हेक्सी इन्भेस्टमेन्ट म्यानेजमेन्टको सोसल मिडिया पोस्टमा पनि यो उल्लेख छ । यद्यपि, एलिसले हुनान टीभी वा सीसीटीभीमा काम गरेको कुनै सार्वजनिक अभिलेख छैन । एचएसबीसीले पनि उनको रोजगारीको पुष्टि गरेको छैन ।
जेन्सनको वृत्तमा एलिसको प्रवेश
एलिसले जेन्सेनलाई भेट्नुभन्दा वर्षौं अघिको कुरा हो । त्यहाँसम्म पुग्ने बाटो निकै लामो र घुमाउरो थियो । एलिसले सन् २०१५ मा हेक्सी क्यापिटलमा काम गरेको विश्वास गरिन्छ ।
उक्त कम्पनीको स्थापना काङ वेईले गरेका थिए । मिडिया रिपोर्टहरूले एलिस र काङ सम्बन्धमा रहेको बताएका छन् । कतिपय रिपोर्टले त उनीहरू विवाहित नै रहेको समेत उल्लेख गरेका छन् ।
न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार एलिसले जेन्सेनलाई पहिलो पटक सन् २०२३ डिसेम्बरमा भेटेकी थिइन् । उनीहरूको त्यो भेट सिंगापुरको एक इटालियन रेस्टुरेन्टमा भएको थियो ।
त्यस समयमा उनी मेगास्पिड नामक फर्मकी शीर्ष एक्जिक्युटिभ थिइन् । उक्त फर्म एक चिनियाँ गेमिङ कम्पनीको सब्सिडियरी हो ।
मेगास्पिडलाई चिनियाँ मातृ कम्पनीबाट अलग गराउन एलिसकै मुख्य भूमिका थियो । उनले ग्राहकहरूलाई आफ्नो डाटा सेन्टरबाट कम्प्युटिङ पावर भाडामा दिने योजना अघि सारिन् । ती डाटा सेन्टरहरू एनभिडिया चिप्सबाट सञ्चालित थिए ।
मेगास्पिडमा काम गर्दा नै उनलाई एनभिडियाका जेन्सनसँग नजिकिन मद्दत मिल्यो । वास्तवमा उनले एनभिडिया प्रमुखसँगको आफ्नो निकटताबारे घमण्डसमेत गरेकी थिइन् ।
सन् २०२४ जुनमा ताइपेईमा आयोजित एक टेक इभेन्टमा उनले यसो गरेकी थिइन् । डाटा सफ्टवेयर प्रदायक कम्पनी नेटथन्डरका प्रमुख कार्यकारी पार्कर स्मिटले न्युयोर्क टाइम्सलाई यसबारे बताएका छन् ।
स्मिटका अनुसार उनले भनेकी थिइन्, ‘म तिमीहरूसँग बाजी राख्छु, म जेन्सनलाई यहाँ ल्याउन सक्छु ।’ त्यसपछि जेन्सन तुरुन्तै त्यहाँ आइपुगे । त्यहाँ जेन्सनले उक्त समूहसँग ह्वीस्कीको सट पिएका थिए ।
त्यसयता एलिस पटक–पटक जेन्सनसँग देखिन थालिन् । उनी सन् २०२५ मा अमेरिकाको यात्रामा समेत गइन् । त्यहाँ उनले अन्य कार्यकारीहरूसँग मिलेर एनभिडियाको कार्यालयमा हुआङसँग भेट गरिन् ।
सन् २०२५ मे महिनामा ताइवानमा यी दुई जना सँगै देखिएका थिए । तर गत अक्टोबरदेखि एलिसका लागि समस्या सुरु भयो ।
सिंगापुरका अधिकारीहरूले मेगास्पिडमाथि अनुसन्धान गरिरहेको घोषणा गरे । चीनमा चिप तस्करी गरेको आशङ्कामा यो अनुसन्धान थालिएको थियो । यही अनुसन्धानका कारण एलिस चीन फर्किएको बताइएको छ ।
एलिसको कुनै अत्तोपत्तो छैन
चीन फर्किएको बताइएदेखि एलिस सार्वजनिक रूपमा देखिएकी छैनन् । तर द वाल स्ट्रिट जर्नलले यसबारे एक रिपोर्ट प्रकाशित गरेको छ । उक्त रिपोर्टअनुसार यस वर्षको सुरुमा उनीसँग सम्पर्क गरेका दुई व्यक्तिले उनी त्यहीँ रहेको बताएका थिए ।
उनको विच्याट र इमेल अकाउन्टहरू पनि डिलिट गरिएका छन् । उनीसँग टेलिफोनमार्फत पनि सम्पर्क हुन सकेको छैन ।
यसैबीच ताइवानको अध्यागमन एजेन्सीले एलिसले ताइवान प्रवेश गर्न हङकङको राहदानी प्रयोग गरेको बताएको छ । ताइवानका गृहमन्त्री लिउ सिह–फाङले संसद्मा यसबारे जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘यदि उनी जासुस हुन् भन्ने हामीलाई थाहा भएको भए, हामी उनलाई पक्कै पनि ताइवान प्रवेश गर्न दिने थिएनौं ।’
उनले एलिसको बारेमा थप जानकारी पनि दिए । लिउले भनेका छन्, ‘उनको अनुमति खारेज गरिएको छ, जसको अर्थ उनी फेरि ताइवान प्रवेश गर्न सक्दिनन् ।’
एलिसको अवस्थाबारे चिनियाँ सरकार पनि मौन छ । ब्लुमबर्गका एक पत्रकारले चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई प्रश्न सोधेका थिए ।
पत्रकारले एलिस हुआङ चिनियाँ नागरिक हुन् कि होइनन् र उनको हालको अवस्था के छ ? भनी सोधेका थिए । जवाफमा प्रवक्ताले अस्वीकार गरेका थिए ।
प्रतिक्रिया 4