१ मंसिर, काठमाडौं । विवाहेत्तर प्रेम सम्बन्ध र राष्ट्रिय सुरक्षा जोखिमसँग जोडिएका गम्भीर अनुसन्धानको घेरामा परेपछि चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ जेन्सेन ह्वाङले ३३ वर्ष लामो नेतृत्व त्याग्दै गत साता राजीनामा दिए।
तर, जेन्सेन बाहिरिए पनि एनभिडियाभित्र उनका परिवारका सदस्य, विशेषगरी ३५ वर्षीया छोरी म्याडिसन ह्वाङको प्रभाव र आक्रामक कार्यशैली नयाँ नेतृत्वका लागि टाउको दुखाइको विषय बनेको छ।
द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार जेन्सेन सीईओ रहँदा म्याडिसन कम्पनीभित्र यति शक्तिशाली थिइन् कि उनले आफ्ना हाकिम र वरिष्ठ कार्यकारीहरूलाई समेत खुलेआम हप्काउने गर्थिन्। बाबु र सञ्चालक समितिसम्म उनको सीधा पहुँच भएकाले कसैले पनि उनको विरोध गर्ने आँट गर्दैनथे।
एनभिडियाको उच्च तहमा ह्वाङ परिवारका को-को छन् ?
एनभिडियामा ह्वाङकी छोरीको मात्र होइन, जेन्सेनका छोरा स्पेन्सर र ज्वाइँ निको क्याप्रेजको पनि उत्तिकै प्रभाव छ । उनीहरू पनि कम्पनीका महत्त्वपूर्ण पदमा कार्यरत छन्।
३५ वर्षीया म्याडिसन ह्वाङ सन् २०२० मा एनभिडियामा प्रवेश गरेकी हुन्। उनी अहिले फिजिकल एआईकी वरिष्ठ उत्पादन बजारीकरण निर्देशकका रूपमा कार्यरत छिन्। तर व्यवहारमा उनले आफ्ना पिता जेन्सेनको चिफ अफ स्टाफ कै भूमिका निर्वाह गर्दै आएकी थिइन्।
अमेरिकाको कुलिनरी इन्स्टिच्युट अफ अमेरिका तथा पेरिस र लन्डनको ले कोर्डन ब्लुमा पाककलाको अध्ययन गरेकी म्याडिसनले लन्डन बिजनेस स्कुल जानुअघि विलासी होटलहरू र एलभीएमएचको स्वामित्वमा रहेको एक इटालियन पेस्ट्री पसलको व्यवस्थापन गरेकी थिइन्।
एनभिडियामा उनको प्रभाव बजारीकरण, सार्वजनिक उपस्थिति, सञ्चालक समितिसमक्ष प्रस्तुति र पिताको सार्वजनिक छवि निर्माणमा देखिने गरेको थियो।
त्यस्तै, जेन्सेनका ३६ वर्षीय छोरा स्पेन्सर ह्वाङ कोलम्बिया कलेज सिकागोबाट स्नातक गरेपछि ताइपेईमा आठ वर्षसम्म एउटा बार सञ्चालन गरेर सन् २०२२ मा एनभिडियामा जोडिएका हुन्। उनी अहिले रोबोटिक्स उत्पादन व्यवस्थापनका निर्देशक छन्।
द न्युयोर्क टाइम्सका स्रोतहरूले स्पेन्सरलाई शान्त स्वभावका र आफ्नो जिम्मेवारीमा केन्द्रित रहने व्यक्तिका रूपमा चित्रण गरेका छन्।
उता, लन्डन बिजनेस स्कुलमा म्याडिसनसँग भेट भएका ३५ वर्षीय ज्वाइँ निको क्याप्रेज सन् २०२४ मा एनभिडियामा प्रवेश गरेका थिए। उनी अहिले विश्वव्यापी एआई पूर्वाधार विस्तारका उपाध्यक्ष छन्।
उनले कम्पनीका ठूला व्यावसायिक सम्झौतामा काम गर्नुका साथै जेन्सेनसँग कार्यकारी बैठकहरूमा पनि सहभागी हुने गरेका थिए।
यी तीनै जनामध्ये म्याडिसन ह्वाङ कम्पनीभित्र सबैभन्दा प्रभावशाली मानिन्छिन्।
पूर्वसीईओलाई पुनः पदमा फर्काउन समर्थकहरूले दबाब दिइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत जेन्सेन फर्किएमा आफूलाई आपत्ति नहुने बताएपछि कम्पनीका वरिष्ठ अधिकारीहरू थप सशङ्कित बनेका छन्।
‘छोरीसँग डराउनु’ भन्दै कर्मचारी तर्साउँथे जेन्सेन
म्याडिसनको रुखो व्यवहार र व्यवस्थापन शैलीले कम्पनीभित्र तनाव सिर्जना गरेको कर्मचारीहरूको गुनासो छ।
गत फेब्रुअरीमा नयाँ दिल्लीमा आयोजित एक सम्मेलनमा सहभागी हुनबाट जेन्सेनले अन्तिम समयमा हात झिकेपछि लामो समयदेखि कम्पनीमा कार्यरत वरिष्ठ कार्यकारी जय पुरीलाई आफ्नो सट्टामा पठाएका थिए।
तयारीका क्रममा भएको छलफलमा म्याडिसनले तयारी नपुगेको भन्दै पुरीलगायत कर्मचारीलाई नराम्ररी हप्काइन्। त्यसपछि पुरीले ‘तिमीले मलाई कराउन बन्द गर्यौ भने मात्र म तिम्रा प्रश्नहरूको जवाफ दिन सक्छु’ भन्दै प्रतिवाद गरेका थिए। त्यसको छ महिनाभन्दा कम समयमै जय पुरीले एनभिडिया छाडे।
म्याडिसनले आफ्नै दाजु स्पेन्सर र आफूभन्दा माथिल्लो तहका अधिकारीहरूलाई समेत हप्काउने गरेको बताइन्छ।
गत वर्षको अन्त्यतिर मार्केटिङ टोलीको एक बैठकमा म्याडिसनको व्यवहारका कारण एक उपाध्यक्षलाई प्यानिक अट्याक नै भएको थियो। उनी बैठक छाडेर बाहिरिन बाध्य भए।
कर्मचारीहरूको उजुरीपछि एनभिडियाको मानव संसाधन विभागले म्याडिसनलाई आफ्नो व्यवस्थापन शैली सुधार्न केही महिनासम्म प्रशिक्षण लिन लगाएको थियो।
म्याडिसनले रोबोटिक्स कम्पनीमा लगानी र डेटा सेन्टरसम्बन्धी सम्झौताका विषयमा हालकी अन्तरिम सीईओ कोलेट क्रेससँग समेत विवाद गरेकी थिइन्।
त्यस्तै, एनभिडियाका चिपलाई एआई तालिमका लागि सक्षम बनाउने सफ्टवेयर कुडाका निर्माता तथा उपाध्यक्ष इयान बकलाई पनि उनले सञ्चार टोलीकै अगाडि हप्काएकी थिइन्।
जेन्सेन स्वयंले पनि कहिलेकाहीँ कर्मचारीहरूलाई ‘मेरी रिसाहा छोरीलाई पठाइदिन्छु, उनीसँग डराउनु’ भन्दै धम्क्याउने गरेको स्रोतहरूले बताएका छन्।
म्याडिसनसँग काम गर्न नचाहेकै कारण पछिल्ला वर्षहरूमा एक दर्जनभन्दा बढी वरिष्ठ कार्यकारीले कम्पनी छाडेको अनुमान छ।
म्याडिसन दबदबा
द न्युयोर्क टाइम्सका अनुसार म्याडिसनले कम्पनीमा आफ्ना पिताको कार्टुन संस्करण ‘टोय जेन्सेन’ को व्यापक प्रयोग गर्न दबाब दिएकी थिइन्। मार्चमा आयोजित डेभलपर सम्मेलनमा उक्त कार्टुन अङ्कित १७८ डलरको स्वेटर बिक्रीमा राखिएको थियो।
जेन्सेनको मुख्य सम्बोधन पनि उक्त कार्टुनले रोबोटहरूसँग गीत गाएको भिडियो देखाएर अन्त्य गरिएको थियो।
कतिपय कर्मचारीले यसले कम्पनीलाई कुनै कल्ट अर्थात् व्यक्तिपूजक समूहजस्तो देखाएको भन्दै चिन्ता व्यक्त गरेका थिए। जेन्सेनले पत्नीप्रति बेइमानी गरेको स्वीकार गरेपछि मात्र एनभिडियाले उक्त कार्टुनको प्रयोग बन्द गरेको थियो।
यसका साथै, सन् २०२५ को मे महिनामा परिवारको सार्वजनिक छवि जोगाउन म्याडिसनले संकट व्यवस्थापनसम्बन्धी परामर्श दिने संस्था हेलर नियुक्त गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।
पछि मेगास्पिडसँगको व्यापार र एलिस ह्वाङसँगको सम्बन्धबारे समाचार सार्वजनिक हुँदा उनले सञ्चार टोलीलाई कडा प्रतिवाद गर्न दबाब दिएकी थिइन्।
नयाँ नेतृत्वलाई परिवारवादको छाया हटाउने चुनौती
जेन्सेनको राजीनामापछि उनलाई पुनः पदमा फर्काउने सञ्चालक समितिको कुनै योजना नरहेको अवस्थामा अन्तरिम सीईओ कोलेट क्रेसका सामु म्याडिसन, स्पेन्सर र निकोको भविष्यबारे निर्णय लिने चुनौती खडा भएको छ।
हार्वर्ड बिजनेस स्कुलका प्राध्यापक डेभिड योफीले कर्पोरेट क्षेत्रमा परिवारवाद विरलै सफल हुने टिप्पणी गरेका छन्।
त्यस्तै, नर्थवेस्टर्न विश्वविद्यालयको केलोग स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक म्याट एलेनले अनुभव र विश्वसनीयताको ठूलो खाडलका कारण म्याडिसन वा स्पेन्सर सीईओ बन्ने सम्भावना अत्यन्तै न्यून रहेको बताएका छन्।
एलेनका अनुसार सामान्य अवस्थामा पारिवारिक नामले कम्पनीका मूल्यमान्यताप्रतिको प्रतिबद्धता देखाउन सक्छ। तर जेन्सेनको प्रकरणले कम्पनीका आधारभूत मूल्यमान्यतामाथि नै प्रश्न उठाएकाले समान पारिवारिक थर भएका सन्तानसमेत स्वतः शङ्का र दोषको भागीदार बन्ने अवस्था सिर्जना भएको छ।
-एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया 4