+
+
Shares

एनभिडियाका सीईओको सम्बन्धविच्छेद भएमा इतिहासकै सबैभन्दा महँगो, बन्नेछिन् विश्वकै चौथो धनी महिला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनभिडियाका सीईओ जेन्सेन हुआङ र पत्नी लोरीबीच सम्बन्धविच्छेद हुने अड्कलबाजी तीव्र बनेको छ, जसमा लोरीले करिब ८० अर्ब डलर पाउन सक्ने भनिएको छ।
  • हुआङले आन्तरिक सन्देशमार्फत पत्नीप्रति इमानदार नरहेको स्वीकार गर्दै, 'मबाट गल्ती भयो, म लज्जित छु' भनेका छन्।
  • एलिस हुआङसँगको सम्बन्ध र जासुसी आशङ्कापछि एनभिडियाको सेयर ५ प्रतिशतसम्म घटेको छ र सेयरधनीहरूले कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।

२५ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ र उनकी पत्नी लोरीबीच सम्बन्धविच्छेद हुने अड्कलबाजी तीव्र भएको छ।

यदि यी दुईको सम्बन्धविच्छेद भयो भने लोरीले ८० अर्ब डलर अर्थात् पाउन सक्नेछिन्, जुन इतिहासकै सबैभन्दा महँगो सम्बन्धविच्छेद सम्झौता हुनेछ। यसका साथै लोरी विश्वकै चौथो धनी महिला पनि बन्नेछिन्।

जेन्सेन र लोरीले सन् १९८५ मा विवाह गरेका थिए र उनीहरूका दुई सन्तान छन्। जेन्सेनले ८ नोभेम्बरमा एक चिनियाँ महिलासँग आफ्नो अफेयर रहेको कुरा स्वीकार गरेका थिए। यद्यपि, लोरीले सम्बन्धविच्छेदलाई लिएर हालसम्म कुनै अभिव्यक्ति दिएकी छैनन्।

कानुनअनुसार पत्नीलाई आधा सम्पत्तिको हक

जेन्सेन र लोरी अमेरिकी राज्य क्यालिफोर्नियामा बस्छन्। यहाँको कानुनअनुसार, विवाहपछि आर्जन गरिएको सम्पत्तिमा पत्नीको ५० प्रतिशत हिस्सेदारी हुन्छ।

सन् १९९३ मा सुरु भएको एनभिडियाको बजार मूल्य करिब ६५२.५० लाख करोड नेपाली रुपैयाँ छ, जबकि जेन्सेनको व्यक्तिगत सम्पत्ति २३.४६ लाख करोड नेपाली रुपैयाँ छ।

यस्तो अवस्थामा लोरीले करिब ११.६० लाख करोड नेपाली रुपैयाँ पाउन सक्नेछिन्। यो सन् २०२१ मा बिल गेट्स र मेलिन्डाबीच भएको ७६ अर्ब डलरको सम्बन्धविच्छेद सम्झौताभन्दा पनि धेरै हुनेछ।

जेन्सेनले लेखे– ‘मबाट गल्ती भयो, म लज्जित छु’

जेन्सेन हुआङले आइतबार एनभिडियाका सबै कर्मचारीहरूलाई एक आन्तरिक सन्देश पठाएका थिए। यसमा उनले आफ्नी पत्नीप्रति इमानदार नरहेको कुरा स्वीकार गरेका छन्।

हुआङले लेखेका छन्, ‘मेरो यो कदमले मेरी पत्नी र सन्तानलाई गहिरो चोट पुगेको छ। मलाई यसमा पछुतो छ। मेरो जिम्मेवारी तपाईंहरू सबैको विश्वास कायम राख्नु थियो, तर म यसमा असफल भएँ।’

यद्यपि, आफ्नो यो सन्देशमा उनले कुनै पनि महिलाको नाम भने उल्लेख गरेका छैनन्।

चिनियाँ महिलामाथि जासुसीमा संलग्न रहेको आशङ्का

जुन महिलासँग जेन्सेनको सम्बन्धको कुरा बाहिर आएको छ, उनको नाम एलिस हुआङ हो। अमेरिकी गुप्तचर एजेन्सीहरूलाई उनी चीनको गुप्तचर विभागका लागि काम गरिरहेको आशङ्का छ।

एलिस हुआङ चिनियाँ नागरिक हुन्। उनले सिङ्गापुरको डेटा सेन्टर कम्पनी ‘मेगास्पिड’ मा सिनियर एक्जुकेटिभको पदमा काम गरिसकेकी छन्।

रिपोर्टहरूका अनुसार, एलिस प्रविधि र डेटा सेन्टर व्यवसायमा आउनुअघि टिभी रिपोर्टर थिइन्। उनको व्यक्तिगत जीवनबारे धेरै जानकारी उपलब्ध छैन।

जेन्सेनको सम्पत्ति ११.१४ लाख करोड नेपाली रुपैयाँले घट्यो

एलिस-जेन्सेनको सम्बन्ध र जासुसी प्रकरणको अनुसन्धान सुरु भएयता एनभिडियाको सेयर ५ प्रतिशतसम्मले घटेको छ।

जेन्सेनको सम्पत्ति ११.१४ लाख करोड नेपाली रुपैयाँले घटिसकेको छ। जेन्सेन फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरेर १०औँ स्थानमा पुगेका छन्।

यस उथलपुथलका बीच लगानीकर्ताहरू आगामी १७ नोभेम्बरमा आउने कम्पनीको त्रैमासिक नतिजामा नजर टिकाइरहेका छन्।

एनभिडिया बोर्डद्वारा पनि छानबिन जारी

हुआङ कुनै विदेशी गुप्तचर एजेन्सीको जालमा त फसेका थिएनन् भन्ने विषयमा एनभिडियाको बोर्डले पनि छानबिन गरिरहेको छ।

फक्स न्युजका अनुसार, अमेरिकाको राष्ट्रिय सुरक्षा वा कम्पनीको गोप्य जानकारी खतरामा परेको कुनै पनि प्रमाण हालसम्म फेला नपरेको बोर्डले जनाएको छ।

यसैबीच, सोमबार कम्पनीका सेयरधनीहरूले एनभिडिया र हुआङविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। हुआङको कथित सम्बन्धबारेको जानकारी कम्पनीले लगानीकर्ताहरूबाट लुकाएको उनीहरूको आरोप छ।

यो मामिला राष्ट्रिय सुरक्षासँग जोडिएको र यसले कम्पनीको छवि तथा व्यापारमा नोक्सान पुग्न सक्ने सेयरधनीहरूको तर्क छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?