News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्र बैंकका सञ्चालक समितिका ६४ वटै बैठकमा डा. रविन्द्रप्रसाद पाण्डे सहभागी भएका छन् र उनले बैठक भत्ताबापत ५ लाख ७६ हजार रुपैयाँ बुझेका छन्।
- गत आव पाण्डेले करिब २९ लाख रुपैयाँ बुझेका छन् भने सरकार नियुक्त सञ्चालक चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले क्रमशः ५ लाख ४९ हजार र ४ लाख ५९ हजार बैठक भत्ता पाएका छन्।
- गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको वार्षिक आम्दानी ४६ लाख ४८ हजार ९ सय ५६ रुपैयाँ रहेको छ, र राष्ट्र बैंकले सञ्चालक समितिका लागि २ करोड १५ लाख ९७ हजार रुपैयाँ अन्य भत्ता तथा सुविधामा खर्च गरेको जनाएको छ।
२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका सबै सञ्चालक समिति बैठकमा उपस्थित हुने सञ्चालक एक जनामात्र देखिएका छन् ।
गत वर्ष केन्द्रीय बैंक सञ्चालक समितिका ६४ वटै बैठकमा सहभागी हुने सञ्चालक डा. रविन्द्रप्रसाद पाण्डे हुन् ।
गत आवका सबै सञ्चालक समिति बैठकमा सहभागी पाण्डेले बैठक भत्ता मात्रै ५ लाख ७६ हजार रुपैयाँ बुझेका छन् । सरकारले नियुक्त गर्ने ३ सञ्चालकमध्ये सबैभन्दा धेरै भत्ता बुझ्ने व्यक्ति पनि पाण्डे नै हुन् ।
गत आव पाण्डेले करिब २९ लाख रुपैयाँ केन्द्रीय बैंकबाट बुझेका छन् । पाण्डेले बैठक भत्ताबाहेक २३ लाख ३५ हजार रुपैयाँ बराबर अन्य भत्ता तथा सुविधा बुझेको केन्द्रीय बैंकले जनाएको छ ।
सरकारले नियुक्त गरेका सञ्चालक चिन्तामणि सिवाकोटीले बैठक भत्ता ५ लाख ४९ हजार रुपैयाँ बुझेका छन् । तर, सिवाकोटीले अन्य भत्ता तथा सुविधा बापत भने १८ लाख २४ हजार बुझेको केन्द्रीय बैंकले जनाएको छ ।
साथै, अर्का सञ्चालक डा. शंकरप्रसाद आचार्यले ४ लाख ५९ हजार रुपैयाँ बैठक भत्ता पाएका छन् । आचार्यको अन्य भत्ता तथा सुविधा बापत रकम भने १८ लाख २४ हजार बुझेको केन्द्रीय बैंकले जनाएको छ ।
गत आव राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षता गर्ने गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गत आव १६ लाख ३२ हजार तलब बुझेका छन् । त्यसैगरी उनले ५ लाख ६७ हजार सञ्चालक समिति बैठक भत्ता बुझेका छन् ।
गभर्नर पौडेलले अन्य भत्ता तथा सुविधा शीर्षकमा २४ लाख ४९ हजार बुझेको केन्द्रीय बैंकले जनाएको छ । गभर्नरको वार्षिक आम्दानी ४६ लाख ४८ हजार ९ सय ५६ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।
गत आव अर्थ सचिव डा. घनश्याम उपाध्यायले ५ लाख ४० हजार बैठक भत्ता र ३ लाख ४८ हजार अन्य भत्ता तथा सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ । गत आव डेपुटी गभर्नर किरण पण्डितले १३ लाख ६५ हजार तलब बुझेका छन् भने सञ्चालक समिति बैठक भत्ता २ लाख २५ हजार र अन्य भत्ता तथा सुविधामा ४६ लाख ८ हजार ४ सय १५ रुपैयाँ बुझेको केन्द्रीय बैंकले जनाएको छ । पण्डितले बुझेको रकम कार्यकारी निर्देशक हुँदाको तलब तथा भत्तासमेत हो ।
त्यसैगरी पूर्वडेपुटी गभर्नर डा. निलम ढुङ्गानाले ८ लाख ४९ हजार तलब, २ लाख ३४ हजार सञ्चालक समिति बैठक भत्ता र ४२ लाख ३५ हजार ७ सय ११ रुपैयाँ अन्य भत्ता तथा सुविधा बापत लिएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले ९ लाख ४९ हजार तलब, २ लाख ७० हजार सञ्चालक समितिको बैठक भत्ता तथा ३८ लाख ९७ हजार ५ सय ११ रुपैयाँ अन्य भत्ता तथा सुविधा बापत लिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सञ्चालक समिति प्रतिबैठक भत्ता ९ हजार रुपैयाँ हो ।
गत आव केन्द्रीय बैंक सञ्चालक समितिका लागि मात्रै कुल ४८ लाख ९६ हजार १ सय रुपैयाँ तलब, ३४ लाख २० हजार भत्ता र २ करोड १५ लाख ९७ हजार रुपैयाँ बराबर अन्य भत्ता तथा सुविधा खर्च गरेको जनाएको छ ।
प्रतिक्रिया 4