३ मंसिर, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२, मतौनाका १८ वर्षीय चन्दन यादव काठमाडौंबाट बेपत्ता भएका छन् ।
सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत यादव बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजीका लागि अपिल गरेका छन् ।
मामा सरोज यादवका अनुसार पर्व मनाउन घर आएका चन्दन पर्व सकिएपछि बुधबार बिहान करिब ६:१५ बजे काठमाडौं फर्किएका थिए ।
बसबाट ओर्लिएपछि बालकुमारी पुल क्षेत्रबाट ट्याक्सी चढेर शान्तिनगरस्थित आफ्नो कोठातर्फ जाने क्रममा उनी बेपत्ता भएको उनले बताए ।
ट्याक्सी चढ्नुअघि उनले आफ्ना भिनाजुसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि करिब १० मिनेटमा कोठा पुग्नुपर्ने भए पनि उनी कोठामा नपुगेको र त्यसयता परिवारसँग सम्पर्कविहीन रहेको मामा सरोजले बताए ।
चन्दनको खोजीका लागि बुधबार नै प्रहरीमा जानकारी गराएका छन् । तर, अहिलेसम्म उनी चढेको ट्याक्सी, चालक वा उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन नसकेको परिवारको भनाइ छ ।
प्रतिक्रिया 4