News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष असोजमा २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ, जुन मासिक आधारमा अहिलेसम्मकै उच्च हो ।
- चालु आव पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत बढेर ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ, र मूल्यवृद्धि ६.३७ प्रतिशत पुगेको छ ।
- असोजसम्म चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड बचतमा पुगेको छ, र कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड पुगेको छ ।
३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष असोजमा कीर्तिमानी रेमिट्यान्स भित्रिएको छ । मासिक आधारमा यो रेमिट्यान्स हालसम्मकै उच्च हो ।
रेमिट्यान्स आप्रवाहमा निरन्तर उच्च सुधार तथा चाडबाडका कारण असोजमा बढेको आयातले आर्थिक गतिविधि पनि बढाएको छ । दसैंतिहारका बेला विदेशमा रहेका नेपालीले आफन्तलाई चाडबाड खर्च पठाउने भएकाले रेमिट्यान्स बढेको हो ।
रेमिट्यान्स आएपछि नेपालमा रहेका आफन्तले पनि चाडबाडको समयमा खर्च बढाउने कारण समग्र आर्थिक गतिविधि बढेको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार असोजमा २ खर्ब ६७ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । चालु आव पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । साथै, मूल्यवृद्धि पनि ६.३७ प्रतिशत पुगेको छ ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.४४ प्रतिशत, फलफूल १५.४६, चिनी तथा चिनीजन्य पदार्थ ११.८४, माछा तथा मासु ८.९१, मरमसला ७.७१ र तरकारीको ७.२८ प्रतिशत मूल्य बढेको छ । समग्र बजार माग बढ्दा मूल्य बढेको केन्द्रीय बैंकको निष्कर्ष छ ।
चालु आव असोजमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा पनि बढेर १ खर्ब ८४ अर्ब पुगेको छ । सोही अवधिमा आयात ३८.२ प्रतिशत र निर्यात ६१.७ प्रतिशत बढेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत बढेको छ । वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशत बढेको छ ।
असोजसम्म चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड बचतमा छ । गत आव सोही अवधिमा २ खर्ब ३८ अर्ब बचतमा थियो । असोजमा खुद पूँजीगत ट्रान्स्फर २ अर्ब ३१ करोड छ । गत आव सोही अवधिमा ५ अर्ब ५५ करोड थियो ।
यसैगरी चालु आव असोजमा ४ अर्ब १४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा १ अर्ब ७४ करोडमात्र थियो ।
त्यसैगररी २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशत वृद्धि भई २०८३ असोज मसान्तमा ४१ खर्ब ६१ अर्ब १४ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा असोज मसान्तमा ८.२ प्रतिशत वृद्धि भई २७ अर्ब ३९ करोड पुगेको छ ।
चालु आव पहिलो त्रैमासमा विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशत बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशत बढेको हो ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २.८ प्रतिशत बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेप वृद्धिदर १३.७ र निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर ८.३ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.०१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत छ ।
२०८३ असोज मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १ सय ४ बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन् ।
२०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा संख्या ११ हजार ३ सय ३२ रहेकोमा २०८३ असोज मसान्तमा ११ हजार ३ सय १ रहेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८३ असोज मसान्तको प्रारम्भिक तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पूँजी र पूँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमश: ९.५६ र १२.३१ प्रतिशत छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेप अनुपात ३६.८७ प्रतिशत छ । २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.८२ प्रतिशत छ ।
प्रतिक्रिया 4