News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको साउनपछि भदौ १९ गतेसम्म वाणिज्य बैंकहरूले ४३ अर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन् ।
- बैंकर्स संघले चाडबाड, खुकुलो कर्जा नीति र होटल तथा जलविद्युत् आयोजनाका कारण कर्जाको माग बढेको जनाएको छ ।
- भदौ १९ गतेसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७०.६५ प्रतिशत पुगेको छ ।
२८ भदौ, काठमाडौं । बैंकहरूमा कर्जाको माग बढ्न थालेको छ । यस वर्षको चाडबाड नजिकिएसँगै कर्जाको मागमा सुधार देखिएको हो ।
चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरूले ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कर्जा लगानी चालु आवको साउन महिनामा २ अर्ब नकारात्मक थियो । तर, भदौ महिनामा १९ गतेसम्म बैंकहरूले ४३ अर्ब कर्जा लगानी बढाएका हुन् ।
चालु आवको सुरुवातदेखि नै गत वर्षको तुलनमा कर्जा लगानी बढ्ने आशामा बैंकरहरू थिए । बैंकरहरूको अनुमान अनुसार कर्जा लगानी बढ्दै आएको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको साउन महिनामा ११ अर्ब कर्जा लगानी घटेको थियो । त्यसैगरी गत आव भदौ महिनामा बैंकहरूको कर्जा लगानी ४३ अर्ब बढेको थियो ।
२०७८ को मध्यदेखि २०८० सुरु हुँदासम्म विदेशी विनिमय सञ्चितिमा गिरावट आउने क्रम जारी रह्यो । सो अवधिमा सरकारले विलासी वस्तुहरूको आयातमा समेत रोक लगाउनु परेको थियो । कोरोना महामारी र घट्दो विदेशी सञ्चितिले अर्थतन्त्र मन्दीमा गयो । अर्थतन्त्र मन्दीमा गएसँगै समग्र मागमा कमी आउन थाल्यो । त्यसले आर्थिक गतिविधि घटायो । आर्थिक गतिविधि घटेसँगै वित्तीय क्षेत्रमा अधिक तरलता थुप्रिन थाल्यो, कर्जाको माग न्यून हुँदै गयो ।
तर, पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले खुकुलो कर्जा नीति लिनु र होटल तथा जलविद्युत् क्षेत्रमा भित्रिएका नयाँ योजनाका कारण चालु आर्थिक वर्षमा कर्जा लगानी बढ्ने अनुमान बैंकहरूको छ । विगतको तुलनामा कर्जाको माग बढ्ने संकेत चालु आवको पहिलो २ महिनाको कर्जा विस्तार तथ्यांकले संकेत गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ३ खर्ब ५९ अर्ब ३६ करोडले कर्जा वृद्धि भएको थियो । यो वृद्धिदर ६.५ प्रतिशत हो । जबकि राष्ट्र बैंकले कर्जाको वृद्धिदर १२ प्रतिशत हुने अनुमान गरेको थियो ।
सुस्त अर्थतन्त्र र मागमा आएको कमीका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि लक्ष्यको आधा मात्रै भएको केन्द्रीय बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा पनि केन्द्रीय बैंकले ११ प्रतिशतले निजी क्षेत्रको कर्जा विस्तारको लक्ष्य राखेको छ । केन्द्रीय बैंकको लक्ष्य भेट्न नसकेपनि गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी बढ्ने खालिङको बुझाइ छ ।
‘विशेषगरी अब बनिरहेको तथा बन्ने क्रममा रहेका जलविद्युत् र होटलहरुबाट कर्जाको माग बढेको देखिन्छ,’ खालिङले भने, ‘समान्यतः भदौ तथा असोज महिना कर्जा विस्तार हुने सिजन पनि हो, चाडबाडको सिजन हुने भएकाले आयात पनि बढ्छ ।’

भदौ १० गते आएको रसुवा बाढीका कारणले पनि कर्जा बढ्ने अनुमान उनको छ । सो क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले पूँजीगत खर्च पनि बढाउने हो भने चालु आवको कर्जा प्रवाह केन्द्रीय बैंकको लक्ष्य अनुसार बढ्ने उनले बताए।
सरकारले पूँजीगत खर्च बढाएको खण्डमा सिमेन्ट, डन्डीको उत्पादन पनि बढ्ने तथा अहिलेको क्षमतालाई विस्तार गरेर उत्पादन गर्नुपर्ने भएपछि कर्जा बढ्ने उनको बुझाइ छ । साथै आयात पनि बढ्ने भएकाले कर्जा प्रवाहमा सुधार आउने उनको विश्लेषण छ । उनका अनुसार हरेक त्रैमासको अन्तिम महिनामा कर्जा बढ्ने र पहिलो महिनामा घट्ने गर्छ।
रसुवा बाढीले वित्तीय प्रणालीको निक्षेपसँगै कर्जा पनि बढाउने उनले बताए । विदेशबाट आएको सहयोगले निक्षेप बढ्ने बताउँदै उनले भने, ‘यसपाली सरकारले खर्च गर्छ होला, त्यसले अलिकति कर्जाको माग बढाउँछ, आर्थिक गतिविधि बढाउँछ, उपभोग बढ्छ ।’
धेरैजसो पहिले नै स्वीकृत भएको कर्जा अहिले निकासा दिएको उनले बताए । रसुवा बाढीले खर्बौं रकमको पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको, केन्द्रीय बैंकले कर्जा नीति खुकुलो बनाएको तथा अधिक तरलता र न्यून ब्याजदर भएकाले कर्जा प्रवाह बढ्ने सम्भावना उच्च रहेको उनले बताए ।
चालु आर्थिक वर्षमा भदौ १९ गतेसम्म वाणिज्य बैंकहरूमा ६४ अर्ब निक्षेप थप भएको छ । सो अवधिमा कर्जा भने ४३ अर्बले बढेको हो ।
भदौ १९ गतेसम्ममा बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७०.६५ प्रतिशत रहेको छ । यस्तो अनुपातमा बैंकहरू ९० प्रतिशतसम्म जान सक्छन् । हालसम्म बैंकहरूको कुल निक्षेप ७५ खर्ब ४१ अर्ब पुगेको छ ।
त्यसैगरी कर्जा लगानी ५३ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । तर, नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ३८ अर्ब पुगेको छ । त्यसैगरी कर्जा लगानी ५९ खर्ब ९८ अर्ब पुगेको छ ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाकै औसत कर्जा निक्षेप अनुपात ७१.३५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4