८० को दशकमा रोमान्टिक हिरो बनेर देखापरेका थिए, भुवन केसी । सिनेमामा उनी शृङ्गार रसले युक्त नवजवान देखाइन्थे, जसको मन र मस्तिष्कमा ‘अक्सिटोसिन’ दौडन्थ्यो ।
तर, उनको वास्तविक जीवनमा यो प्रेम–हर्मोनको सधैँ अभाव रह्यो । उनी न अमर प्रेमी बने, न आदर्श पति नै ।
जबकि सिनेमाले उनको छवि फरक ढङ्गले निर्माण गरिदिएको थियो ।
औसत उचाइ, मिलेको जिउडाल, बान्की परेको अनुहार, ओठमाथि मिलेको जुँगा अनि मोहनी मुस्कान । बस्, यति नै काफी थियो एउटा हिरोजस्तै हिरो देखिनका लागि ।
उनी हिरो नै थिए र उनको हिरोइज्मले सिनेमाको पर्दामा जादु देखाइदिन्थ्यो। कहिले प्रेमीका रूपमा त कहिले पतिको रूपमा उनले आफ्नो करिश्माटिक छविलाई जिउँदो राखेका थिए ।
उगेन छोपेल निर्देशित ‘साइनो’मा उनी पारिवारिक दायित्वका लागि आफ्नो सुख बिर्सने आदर्श श्रीमान् बने । तुलसी घिमिरे निर्देशित ‘कुसुमेरुमाल’मा अरूको खुसीका लागि आफ्नो प्रेम त्याग्ने अमर प्रेमी बने। शम्भु प्रधान निर्देशित ‘सम्झना’मा श्रीमतीको निधनपछि पनि पारिवारिक जीवनलाई सुमधुर राखिरहने एकल पिता बने ।

रेडियो नेपालमा गीत गाइरहेका भुवन केसीले सन् १९८३ बाट फिल्मी दुनियाँमा पाइला राखेका थिए, ‘जुनी’बाट । नारी स्वच्छन्दतालाई केन्द्रमा राखेर बनाइएको फिल्मबाट आफ्नो यात्रा थालेका भुवन नारीको साझेदार र संरक्षकको भूमिकामा उभिए ।
फिल्म हेरिरहँदा दर्शकमा स्वतःस्फूर्त भाव पैदा हुन्थ्यो, ‘पुरुष होस् त यस्तो ।’
तर, उनको जीवनका वास्तविक प्रेमकथाहरू ‘मुना मदन’जस्ता सुरम्य थिएनन् । त्यो त लफडाबाजीले भताभुङ्ग भएको एक्सन फिल्मजस्तो थियो ।
करियरको उत्कर्षमा रहँदा उनी प्रेम सम्बन्धका कारण धेरै पटक विवादमा तानिए । यसबीच उनले घरजम सुरु गरिसकेका थिए। र, दुई सन्तानका पिता पनि बनिसकेका थिए ।
तर, पहिलो विवाह त्यति मधुर रहेन। अन्ततः उनीहरू दुवै अलग भए । त्यसपछि भुवन फिल्ममा जस्तो एकल पिता बनेर बसेनन् । दोस्रो विवाह गरे ।
उनीहरूको दाम्पत्य जीवन सुटिङ स्पटदेखि शयनकक्षसम्मको तालमेल मिलाउँदै अगाडि बढ्यो । यसबीच उनीहरूले होम प्रोडक्सनका ‘नेपाली बाबु’, ‘करोडपति’ फिल्म दर्शकमाझ ल्याए भने काखमा एउटा सन्तान पनि थपियो ।
यो सन्तान नेपाली सिनेमाका लागि भुवन दम्पतीले दिएको एउटा कोसेली थियो। उसको नाम अनमोल केसी थियो ।
फिल्म र दाम्पत्य जीवनमा उनीहरू समानान्तर रूपमा अगाडि बढ्दै थि ए। तर, यो सहयात्रा बीचैमा टुट्यो । उनीहरू अलग भए र आ–आफ्नो मर्जीको जीवन बाँच्न थाले ।
दोस्रो पटकको दाम्पत्य सुखमा पनि खग्रास ग्रहण लागेपछि भुवनको छातीमा आदर्श पतिको तक्मा झुन्ड्याउनु शोभनीय थिएन । उनी असफल पति साबित भइसकेका थिए । यसपछि उनको नाम एक अभिनेत्रीसँग जोडियो र विवाहको चर्चा पनि थुप्रै पटक चुलियो ।
तर, विगतका घटनाक्रम दोहोरिन्छन् भन्ने डरले हो सायद, भुवनले फेरि लगनगाँठो कसेनन् । यद्यपि अभिनेत्रीसँग उनको हेलमेल त्यस्तै अवस्थामा रहेको बताइन्छ, जस्तो पति–पत्नीबीच रहन्छ ।
एक अन्तर्वार्तामा भुवन केसीले भनेका थिए, ‘एकपछि अर्को डिभोर्स होला र एकपछि अर्को सम्बन्धमा रहनुपर्ला भनेर कहिल्यै सोचेको थिइनँ । तर, जिन्दगीमा नचाहेका कुराहरू झेल्नुपर्ने रहेछ ।’
पतिको रूपमा असफल भए पनि भुवन केसी पिताको रूपमा एक आदर्श बने। यसको सग्लो प्रमाणपत्र हो, अनमोल केसी।
भुवन फिल्म ‘सम्झना’का जस्तै समर्पण र समझदारीले युक्त पिता हुन्, जसले आफ्ना खुसीहरू सन्तानको खुसीमा सीमित गरिदिन्छन् । आफ्ना सुखहरू सन्तानको सुखमा खर्चिदिन्छन् । आफ्नो आयु रित्याएर सन्तानलाई दीर्घजीवी बनाउने यत्न गर्छन्। आफूलाई जितेको हेर्न चाहन्छन् ।
भुवन केसी यस्तै पिता हुन् ।
कलिलैमा मातृवात्सल्य गुमाएको एउटा छोराका लागि उनी आडभरोसा दिने बुबा मात्र बनेनन्, मनभरि माया दिने आमा पनि बने । त्यो अबोध बालकलाई आमाको अभाव महसुस हुन दिएनन् ।

उनका बालसुलभ रहर र आकाङ्क्षाहरू पूरा गरिदिँदै भुवनले एकदमै होसियारी र जिम्मेवारीका साथ छोरालाई हुर्काए ।
भुवन केसी आफैँमा चल्तापुर्जा अभिनेता हुन्, जसको आफ्नै पनि जगमगाउँदो करियर थियो । आफ्ना समकालीनहरू पर्दामा नाचिरहेका बेला उनी त्यसबाट विमुख भएर घरेलु जीवन बिताउन सक्दैनथे । आफ्नो हिरोइज्मलाई जस्ताको तस्तै राखेर घरगृहस्थी धान्नु चानचुने कुरा थिएन। तर, भुवन केसीले दुवैमा आफूलाई अटल, अविचलित र अटुट राखे ।
अन्ततः न उनी हिरोबाट बाहिर निस्कनुपर्यो, न छोरालाई लथालिङ्ग छाड्नुपर्यो। उनी छोरो मात्र हुर्काइरहेका थिएनन् । नेपाली सिनेमाका लागि एउटा मोहक कोसेली पनि तयार गर्दै थिए। यसरी आफ्नो करियरसँगै भुवनले एउटा छोरो हुर्काए । र, छोराभित्र एउटा अभिनेता हुर्काए ।
माया र मदिराको लतमा लट्ठ पर्ने किशोर उमेरमा भुवनले आफ्नो छोरालाई सिनेमाघरको भित्तामा सुशोभित बनाइसकेका थिए । त्यो पनि लोभलाग्दो ट्रेडमार्कसहित, ‘सर्वाधिक महँगो अभिनेता ।’
बच्चा हुर्काउनु कुनै बच्चाको खेल होइन। पढाउनु र बढाउनु मात्र पनि ठूलो कुरा भएन । तर, आफ्नो काँधभन्दा माथि उचाल्नु साँच्चै ठूलो कुरा हो । किनभने यसमा संयोग र वरदानको खेल हुँदैन, अटुट हेरचाह, अविच्छिन्न जिम्मेवारी र अविचलित मार्गदर्शन जरुरी हुन्छ । अनमोलका खातिर भुवन केसीले यी सबै कुरा भरिपूर्ण दिए ।
आज छोरा अघि–अघि छन्, भुवन पछि–पछि। छोरा दृश्यमा छन्, भुवन पर्दापछाडि ।
प्रतिक्रिया 4