५ मंसिर, धनकुटा । वर्षायाममा खोलाको पानी धमिलो भएर धारामा आउने समस्याबाट धनकुटा बजारवासीले राहत पाउने भएका छन् । खानेपानी शुद्धीकरणका लागि धनकुटा बजारको स्कुलडाँडा र सल्लेरीमा निर्माण भइरहेका दुई ठूला प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले निर्माण गरिरहेका दुवै प्रशोधन प्रणाली सञ्चालनमा आएपछि वर्षायाममा धमिलो पानी आउने समस्या न्यूनीकरण हुने र उपभोक्ताले प्रशोधित खानेपानी पाउने कार्यालयले जनाएको छ ।
कुल एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण भइरहेका यी दुई प्रशोधन प्रणालीबाट प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न सकिनेछ । आयोजना सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका वडा नम्बर ३, ४ र ६ का करिब १ हजार १०० परिवार प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनले जानकारी दिए ।
उनका अनुसार दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सञ्चालनमा आएपछि तीनवटा वडाका १ हजार १०० परिवारलाई प्रशोधित खानेपानी उपलब्ध हुनेछ,’ उनले भने ।
यसअघि निर्माण गरिएका साना क्षमताका खानेपानी शुद्धीकरण प्रणाली पुराना हुँदै गएपछि नयाँ प्रशोधन पूर्वाधार निर्माण थालिएको महर्जनले बताए । विशेषगरी वर्षायाममा खोलाको पानी धमिलो भएर आउने समस्यालाई ध्यानमा राखेर प्रशोधन क्षमता बढाउन नयाँ प्रणाली निर्माण गरिएको हो ।
दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हरेक घरमा स्वच्छ खानेपानी पुर्याउने उद्देश्यले खानेपानीका पूर्वाधार सुधार तथा विस्तारको काम भइरहेको महर्जनको भनाइ छ ।
धनकुटा सदरमुकाममा धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आपूर्ति हुँदै आएको छ । समितिले बजार क्षेत्रका करिब ४ हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ ।
नयाँ प्रशोधन प्रणाली सञ्चालनमा आएपछि धनकुटा बजारको खानेपानी शुद्धीकरण क्षमता बढ्ने र वर्षायाममा धारामा धमिलो पानी आउने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4