+
+
Shares

धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १५:४९

२१ कात्तिक, धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ ।

तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

देउसी–भैलोका नाममा हुने जबर्जस्ती चन्दा असुली, होहल्ला, बाटो अवरुद्ध गर्ने गतिविधि तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न समयसीमा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

पछिल्लो समय मौलिक संस्कृति र परम्पराको नाममा अवाञ्छित गतिविधि बढ्दै गएको गुनासो आएपछि प्रशासनले विशेष सतर्कता अपनाएको जनाएको छ । प्रशासनले राति अबेरसम्म देउसी–भैलो खेल्ने, जबर्जस्ती रकम माग्ने तथा चर्को आवाजमा डिजे र साउन्ड सिस्टम बजाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

चाडपर्वका बेला हुन सक्ने विकृति र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रशासनले पटका, भुइँचम्पा, रकेटलगायत विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण तथा प्रयोगमा समेत पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ । त्यसैगरी जुवातास, अनलाइन सट्टेबाजी, अवैध चिट्ठा तथा ध्वनि प्रदूषण हुने गरी डिजे बजाउने गतिविधिमाथि निगरानी र कारबाहीलाई कडा शर्माको भनाइ छ ।

कानुनविपरीत गतिविधिमा संलग्न हुने जोकोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।

उनका अनुसार चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, मनपरी मूल्य वृद्धि गर्ने तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्ने व्यापारीमाथि पनि प्रशासनले निगरानी बढाएको छ ।

यातायात क्षेत्रमा यात्रुसँग मनपरी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । प्रशासनले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रुपमा मनाउन जिल्लावासीलाई आग्रह गर्दै मौलिक संस्कृति संरक्षणसँगै सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?