+

नेपाली क्रिकेटको उत्सव चलिरहँदा गुमनाम एक पूर्वकप्तान

२०८३ मंसिर  ५ गते १६:५७ २०८३ मंसिर ५ गते १६:५७

नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका पूर्वकप्तान राजु खड्का किन एनपीएलमा देखिएका छैनन् ?

५ मंसिर, चितवन । नेपाली क्रिकेटको कुम्भ नेपाल प्रिमियर लिग(एनपीएल) चलिरहेको छ । देश तथा विदेशमा रहेका नेपालीहरू क्रिकेटको यो मेलामा रमाइरहेका छन् ।

एनपीएलकै फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिडिरहेका छन् ।

एनपीएलको तेस्रो सिजनको मैझारो हुँदासम्म नेपाली क्रिकेटका एक पुराना हस्ती, राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्का भने गुमनामजस्तै छन् ।

खड्काको नाम लिँदा नेपाली क्रिकेटलाई आजको उचाइसम्म पुर्‍याउन जगको इँटाको रूपमा चित्रित गर्दा सायद कसैले प्रश्न उठाउनसक्ला ।

तर, उनै खड्का भने एनपीएलको कुम्भमा कतै देखिएनन् । यसपटक मात्रै होइन, उनी एनपीएलका तीन वटै संस्करणभरि कहिल्यै दृश्यमा भेटिएनन् ।

नेपाली क्रिकेटलाई नेतृत्व गरेका पूर्वकप्तानहरू पारस खड्का, विनोद दास, ज्ञानेन्द्र मल्ल, परेश लोहनी, पवन अग्रवालहरू कहिँकतै क्रिकेटमै देखिँदा इतिहासको महत्त्वपूर्ण कालखण्डमा राष्ट्रिय टोलीलाई नेतृत्व दिएका खड्का भने किन गुमनाम छन् ?

शनिबार बिहान चितवनको नारायणगढस्थित लिटिल फ्लावर विद्यालयको प्राङ्गढमा केही विद्यार्थीसँग खड्का भेटिए । उनी त्यहाँ विद्याथीहरूलाई फुटबल र क्रिकेट सिकाइरहेका थिए ।

अनलाइनखबरले खड्कासँग नेपाली क्रिकेट टोलीको पूर्वकप्तान एनपीएल हेर्न किन नगएको ? निम्ता नआएर हो ? भन्ने प्रश्न सोध्यो ।

जवाफमा खड्काले भने, ‘अहँ आएन ।’

पहिलो र दोस्रो संस्करणमा निम्ता आएको उनले स्वीकारे । ‘तर यसपटक क्यान(नेपाल क्रिकेट संघ) ले सम्झिएन,’ उनले भने ।

कुराकानीमा खड्कालाई एनपीएलको मैदानमा नै गएर क्रिकेट हेर्ने धोको नभएको भने देखिएन । उनमा एक पूर्वकप्तानको हैसियतमा भीआईपी पारापिटमा बसेर क्रिकेट हेर्ने स्वभाविक चाहाना रहेको आशय झल्किन्थो ।

‘आफूले खेलेको मैदानमा मन सधैं डुलेको हुन्छ,’ उनी भन्छन् । उनलाई कहिलेकाहीँ टिकट काटेर मैदान पुगी क्रिकेट हेरौं की जस्तो पनि लाग्ने रहेछ ।

‘फेरि एक मनले होइन, घरमा नै हेर, नजा भन्छ,’ उनले मनको गाँठो खोल्दै भने, ‘जिल्लाका साथीहरूले जाऔं भन्दैथिए । आफैले केही बहाना देखाएर टारेँ ।’

सन् १९९९ देखि सन् २००४ सम्म झन्डै ५ वर्ष नेपाली क्रिकेटको उन्नयनमा योगदान दिएका खड्कालाई क्यानले कुनै भूमिका नदिएकामा गुनासो पनि देखिएन ।

‘तर, अग्रजहरूलाई सम्मान गरेहुन्थ्यो भन्ने चाँही लाग्छ । यो त हाम्रो नेपाली संस्कार पनि त हो नि,’ उनी भन्छन् ।

पूर्वकप्तान पारस खड्का क्यानको सचिव छन् । तर, पारसभन्दा अग्रज पूर्वकप्तानहरूको खोजी खास्सै नभएको जस्तो अनुभूति आफूलाई रहेको पूर्वकप्तान राजु खड्का बताउँछन् ।

राजु आफै चितवनका बासिन्दा हुन् । एनपीएलका ८ वटा फ्रेन्चाइज टिममध्ये एउटा ‘चितवन राइनोज’ पनि छ । चितवन मेडिकल कलेज स्वामित्वमा रहेको चितवन राइनोजले एनपीएलका तीन सिजन खेलिसकेको छ ।

तर, चितवन राइनोजसँग राजु जोडिन सकेनन् ।  उनले चितवन राइनोजमा कुनै न कुनै भूमिकामा जोडिन चाहेका रहेछन् । ‘तर, त्यो सौभाग्य मिलेन भनौं,’ उनले सुनाए ।

एनपीएलको पहिलो सिजनमा नै राइनोजसँग प्रशिक्षकका रूपमा जोडिने कुरा चलेको उनले सुनाए । तर, त्यो सम्भव भएन ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गर्ने खेलाडी

नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गर्ने पहिलो ऐतिहासिक खेलाडी हुन, राजु खड्का ।

उनी दायाँ हाते आक्रामक ब्याटर तथा दायाँ हाते मिडियम फास्ट बलिङ गर्थे । उनी आफ्नो समयका भरपर्दा अलराउन्डर थिए ।

सन् १९९६ मा पहिलोपटक मलेसियामा भएको एसीसी ट्रफीमा बंगलादेशविरुद्ध उनले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

त्यो खेलमा नेपाली टोलीको कप्तान उत्तम कर्माचार्य थिए । बंगलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिए । नेपालको ब्याटिङका बेला वर्षाले खेल प्रभावित भएको थियो ।

उत्तम कमार्चार्यपछि सन् १९९८ मा एलबी क्षेत्री नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बने । क्षेत्रीपछि झन्डै ५ वर्ष खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरेका थिए ।

कप्तान भएकै बेला सन् २००३ मा एसीसी इमर्जिङ्ग नेसन्स कपमा भुटानविरुद्ध ५० बलमा अविजित १०५ रन प्रहार गर्दै खड्काले नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय शतक बनाएका थिए ।

यो नै नेपालले बनाएको पहिलो अन्तर्राष्ट्रिय शतक हो । उनकै कप्तानीमा सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपाल फाइनलसम्म पुगेर उपविजेता बनेको थियो । त्यो समयदेखि नै नेपाली क्रिकेटको चर्चा सुरु भएको हो ।

सन् २००४ मा आईसीसी इन्टरकन्टिनेन्टल कपमा यूएईविरुद्धको खेलपछि उनले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेलेनन् ।

राजु खड्कापछि विनोद दास, पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, रोहित पौडेलले नेपाली राष्ट्रिय टोलीको कप्तानी गरे । अहिले सन्दीप लामिछानेले एकदिवसीय र  दीपेन्द्रसिंह ऐरीले टी–२० नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरिरहेका छन् ।

ग्रास रुटको क्रिकेटमा योगदान

चितवनमा बसेर राजु खड्काले ग्रास रुट तहको क्रिकेटलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने पूर्वकप्तान राजु खड्काले प्रशिक्षित गरेका खेलाडी हुन् ।

भुइँतहमा क्रिकेटको विकास नगरी राम्रो क्रिकेट टिम तयार हुन नसक्ने उनको बुझाइ छ ।

सन् २००४ मा नेपाली क्रिकेट टोलीको कप्तान छाडेपछि खड्का केही समय भारत गए । पुन: नेपाल फर्किएर केही समय भैरहवामा बसेर चितवन आए ।

घरपरिवार र गुजारा चलाउन भरतपुर महानगरपालिका– ३मा रहेको लिटिल फ्लावर विद्यालयमा खेलकुद शिक्षकका रूपमा विगत २० वर्षदेखि काम गर्दै आएका छन् । घरमा श्रीमती बिरामी भएकाले रेखदेखमा समय बिताउने गरेका छन् ।

खड्काले क्याम्पाचौरमा क्रिकेटको चितवन ट्रेनिङ सेन्टर नाम संस्थामार्फत झन्डै ४० जना विद्यालय उमेर समूहका किशोरहरूलाई क्रिकेट सिकाउँदै आएका छन् ।

उनले एकेडेमीमार्फत नै सन्दीप लामिछानेसहित गौतम केसी, प्रतिक श्रेष्ठ, दीपेश श्रेष्ठ, सौगात ढकालजस्ता खेलाडी जन्माए ।

अन्डर १६, १९ र राष्ट्रिय टिममा गरेर उनले सिकाएका १४ जना खेलाडीले प्रतिनिधित्व गरिसकेका छन् । उनी अहिले चितवन जिल्ला क्रिकेट एसोसियनको सदस्य छन् । यसपटक चितवन राइनोजको ट्यालेन्ट हन्टमा सहभागी भएर उनले खेलाडी छनोट गरिदिएका थिए ।

‘टी–२० मा फोकस हुँदा ओडीआईमा कमजोरी भयो’

कतारमा चलिरहेको एसिया कप राइजिङ स्टार प्रतियोगितामा भारतविरुद्ध नेपालले हिजो शुक्रबार खेलेको खेलले आफुलाई निकै दु:खी बनाएको पूर्वकप्तान खड्का बताउँछन् ।

टेस्ट खेल्ने देश बन्ने लक्ष्य लिएको नेपालले त्यो स्तरको कमजोर खेल प्रदर्शन गर्ला भनेर कहिल्यै नसोचेको उनले बताए ।

‘हामीले टी–२० लाई बढी फोकस गरेका छौं । त्यहीअनुसार खेलाडी तयार गरेका छौं । धैर्यतापूर्वक खेल्ने, स्किल राखेर खेल्ने खेलाडी वा त्यसतर्फ फोकस हुने खेलाडी कम बनायौं की ?’, उनले भने ।

भारतीय बलरअगाडि नेपाली राष्ट्रिय खेलाडीहरूको प्रर्दशन बिर्सनलायक भएको उनले सुनाए ।

‘साथीको घरमा क्रिकेट हेरिरहेको थिएँ, विजोग अवस्था देखेपछि खेल हेर्न छाडेँ’, उनी भन्छन्, ‘यसलाई भुलेर हामी आगामी दिनका खेलमा केन्द्रित हुनुपर्छ ।’

५० ओभरको खेलमा धैर्यता राख्ने र साझेदारीको विकास गर्नतिर लाग्दा खेलाडीलाई नै फाइदा हुने उनको धारणा छ ।

एनपीएलमा विदेशबाट ल्याउने खेलाडीबाट नेपाली खेलाडीले सिक्नुपर्ने पनि उनी बताउँछन् । यद्यपि, टिमको धारणाप्रति पनि उनी असन्तुष्ट सुनिन्छन् ।

‘विदेशी खेलाडी हाम्राभन्दा राम्रा आउँछन् । ल्याउनु पनि पर्छ । तर, उनीहरूले ब्याटिङ लाइनअप धानिदिउन र टिम जितोस् भन्ने धारणा गलत छ,’ उनी भन्छन्, ‘हाम्रा खेलाडीले पनि उनीहरूबाट स्किल र टेक्निक सिकेर आफ्नो स्तर र कन्फिडेन्स लेभल बढाउनतर्फ ध्यान दिनुपर्छ ।’

एनपीएल नेपाली क्रिकेट राजु खड्का
लेखक
सुवास पण्डित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय