+
+
Shares

कवि तथा गीतकार टीका चाम्लिङको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १०:४६

६ मंसिर, खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय चाम्लिङको क्यान्सरका कारण मंसिर ५ गते राती निधन भएको हो ।

संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्त सुरेश राईले बताए ।

२०८० सालदेखि क्यान्सरसँग लड्दैआएका चाम्लिङको बिएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । एक पटक क्यान्सरलाई जितेका चाम्लिङको दोश्रो पटक अर्को ठाउँमा क्यान्सर दोहोरिएको थियो ।

२०३० माघ ४ गते जन्मिएका चाम्लिङका दुई सयभन्दा बढी गीत रेकर्ड छन् । लामो समयदेखि गीत, कविता र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका चाम्लिङका ‘जाउँ सँगी गाउँघरैमा, आलु तामाले’ चर्चित गीत हुन् । चाम्लीङका श्रीमती र एक छोरा छन् ।

चाम्लिङका सधैँभरि, गीति अडियो-२०५८, राखौऊ सम्झना, लोकजुहारी शब्द संकलन-२०५९, सोमबारे हाटैमा, लोक जुहारी शब्द सड्ढलन-२०५९, सपनाको रङ, गीतिकाव्य–२०६०, समयको रङ, गीतिकाव्य-२०६४, जूनको बस्ती, गीतिकाव्य-२०६८, मुन्दुम र मालिङ्गो, गीतिकाव्य-२०७१, बागी कविता, कविताकाव्य-२०८० लगायत प्रकाशित छन् ।

चाम्लिङले २०६१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत-सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी बाल गीत-सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज, बेलायतको खोटाङ प्रतिभा पुरस्कार, २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मान लगायतका दर्जर्नौ सम्मान तथा पुरस्कार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?