+
+
Shares

इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ता तयारी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १४:२४

६ मङ्सिर, जेरुसेलम (रासस/सिन्ह्वा)। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ। लिकुड पार्टीले शनिबार एकता सरकार गठनसम्बन्धी वार्तामा सहभागी हुन विभिन्न सर्तसहितको आधिकारिक धारणा सार्वजनिक गरेको हो।

पूर्वसैन्य प्रमुख गादी आइजेनकोटका नेतृत्वमा रहेको याशार पार्टीले शनिबार लिकुडलाई व्यापक राष्ट्रिय एकता सरकार गठनका लागि गहन गठबन्धन वार्ता सुरु गर्न आमन्त्रण गरेपछि लिकुडले आफ्ना सर्त सार्वजनिक गरेको हो।

याशार पार्टीले नयाँ सरकार गठनका लागि सम्भावित सबै विकल्पमा छलफल गर्ने, नवीन पहल अघि बढाउने र राजनीतिक सहमति जुटाउने प्रयास गर्ने जनाएको छ।

लिकुडले अघि सारेका अन्य सर्तमा इजरायललाई यहुदी जनताको राष्ट्रका रूपमा मान्यता दिनुपर्ने, प्यालेस्टाइन राज्य स्थापनाको प्रस्ताव अस्वीकार गर्नुपर्ने तथा यहुदी अतिवादी अर्थोडक्स धार्मिक समुदायका विद्यार्थीको सैन्य सेवासम्बन्धी व्यवस्था टुङ्ग्याउनुपर्ने विषय समावेश छन्।

पूर्वसैन्य प्रमुख आइजेनकोटलाई सरकार गठनका लागि डिसेम्बर ६ सम्मको समय दिइएको छ। आवश्यक परे राष्ट्रपतिले थप दुई सातासम्म समयावधि बढाउन सक्नेछन्।

अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनमा नेतान्याहुका विपक्षी दलहरूले १२० सदस्यीय संसद्मा ६७ सिट जितेका थिए। तर उक्त बहुमतमा अरब राजनीतिक दलका १९ सिटसमेत समावेश छन्। आइजेनकोटका सम्भावित गठबन्धनका केही साझेदारले ती दलहरूको समर्थन स्वीकार गर्न नसक्ने बताएका छन्।

यसले नयाँ राष्ट्रिय एकता सरकार गठनका लागि गठबन्धन वार्तालाई थप चुनौतीपूर्ण बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?