+
+
Shares

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता जारी

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए । उनीहरूबीच अहिले भेटवार्ता जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १८:४३

६ मंसिर, नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए ।

उनीहरूबीच अहिले भेटवार्ता जारी छ । जयशंकरसँगको भेटलगत्तै साँझ ७ बजे नेपाल भारत बिजनेस फोरमको डिनर कार्यक्रम राखिएको छ ।

यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य कार्यक्रम तय भएको छैन ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

भोलि मंसिर ७ गते शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम छ । उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति तथा सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भइको छ ।

मोदीसँगको भेटवार्ताको क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच छलफल हुनेछ ।

साथै दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उदघाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत सहकार्यका विभिन्न क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ ।

मंसिर ७ गते नै अपराह्न सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति निवासमा हुने भेटघाटपछि अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल प्रस्थान गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले प्रधानमन्त्री बालेनको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने र दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?