७ मंसिर, नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबलमा नेपालका उद्योग व्यवसायीले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप व्यावहारिक र परिणाममुखी बनाउन व्यापारका अवरोध हटाउन, पूर्वाधार विस्तार गर्न र भारतीय लगानी बढाउन आग्रह गरेका छन् ।
उनीहरूको आग्रहमा भारतीय वाणिज्यमन्त्री जितीनप्रसादले नेपालको उत्पादन क्षमता, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी तथा सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आर्थिक विकासको गति तीव्र बनाउन सुझाव दिए ।
नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय व्यवसायी तथा लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै सरकारले लगानीका लागि आवश्यक वातावरण बनाउन पहल गरिरहेको जानकारी दिएका थिए ।
राउन्डटेबलमा सहभागी नेपाली उद्योगी तथा व्यवसायीले भारतसँगको व्यापारिक सम्बन्ध घनिष्ठ भए पनि नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउन नसकेको, गुणस्तर प्रमाणीकरणमा ढिलाइ हुने गरेको र केही वस्तुको निर्यातमा नीतिगत अवरोध रहेको विषय उठाएका थिए ।
उनीहरूले नेपालमा विदेशी लगानीका लागि कानुनी तथा नीतिगत सुधार भएको जानकारी दिँदै भारतीय निजी क्षेत्रलाई जलविद्युत्, पर्यटन, पूर्वाधार, कृषि प्रशोधन, सूचना प्रविधि र उत्पादनमूलक उद्योगमा लगानी गर्न आह्वान गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–भारत सम्बन्धलाई परम्परागत व्यापारिक तथा सांस्कृतिक निकटताबाट अघि बढाएर आर्थिक समृद्धिको साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका थिए । उनले व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधिलाई प्राथमिकतामा राखेर सात क्षेत्रमा सहकार्य विस्तार गर्न प्रस्ताव गरेका थिए ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत भए पनि सम्भावनाअनुसार भारतीय निजी क्षेत्रको लगानी आउन नसकेको श्रेष्ठको भनाइ थियो ।
उनका अनुसार नेपालमा रहेको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये करिब एक तिहाइ भारतको हिस्सा छ । तर भारतीय लगानीको वास्तविक परिमाण अझै एक अर्ब अमेरिकी डलरभन्दा कम रहेको उनले उल्लेख गरे ।
नेपालले विदेशी लगानी आकर्षित गर्न १०२ वटा क्षेत्रमा स्वत: विदेशी लगानी स्वीकृत हुने व्यवस्था, लगानीको सीमा हटाउने तथा एकद्वार सेवा केन्द्रमार्फत प्रक्रिया सहजीकरण गर्ने काम गरेको जानकारी पनि उनले दिए ।
नेपाली व्यवसायीले भारतीय बजारमा नेपाली उत्पादनले भोगिरहेका समस्यालाई प्रमुखताका साथ उठाएका थिए । विशेषगरी जुट र स्टिल उद्योगका उत्पादनमा लागेका व्यापारिक प्रतिबन्ध तथा शुल्क पुनरावलोकन गर्न उनीहरूले भारतीय पक्षको ध्यानाकर्षण गराए ।
श्रेष्ठले सन् २०१७ देखि नेपाली जुट उत्पादनमा लागू हुँदै आएको अनुचित मूल्यमा आयात नियन्त्रणसम्बन्धी शुल्कले उद्योग प्रभावित भएको बताए । जुट उद्योग पूर्वी नेपालका किसान र श्रमिकको रोजगारीसँग जोडिएको उल्लेख गर्दै उनले नेपाली उद्योगलाई भारतीय बजारमा प्रतिस्पर्धीका रूपमा मात्र नभई दुवै देशका लागि लाभदायक औद्योगिक साझेदारका रूपमा हेर्न आग्रह गरेका थिए ।
त्यसैगरी भारतीय बजारमा लागू गरिएको इस्पातसम्बन्धी संरक्षणात्मक आयात शुल्कका कारण गत आर्थिक वर्षमा नेपालको स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको उनले जानकारी दिए ।
गुणस्तर प्रमाणीकरणका लागि भारतीय मानक ब्युरोबाट प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थसम्बन्धी जटिलताले पनि नेपाली उत्पादन सीमामा रोकिने गरेको व्यवसायीको गुनासो थियो ।
यी समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच संयुक्त कार्यदल गठन गर्न श्रेष्ठले प्रस्ताव गरे । कार्यदलले व्यापारिक अवरोध, गुणस्तर मापदण्ड र उपचारात्मक व्यापारिक उपायबारे अध्ययन गरी दुवै देशका सरकारलाई सुझाव दिन सक्ने उनको भनाइ थियो ।
भारतका बन्दरगाहको प्रयोग सहज बनाउने, रेलमार्गको क्षमता बढाउने र एकीकृत जाँच चौकीको स्तरोन्नति गर्ने विषय पनि नेपाली पक्षले उठाएको थियो ।
सीआईआईका महानिर्देशक विक्रमजित सिंह सहनीले भन्सार प्रक्रिया सुधार र रेलमार्फत हुने मालसामान ढुवानी सेवा विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।
नेपाली व्यवसायीले भारतीय निजी क्षेत्रलाई नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी गराउँदै ठूला पूर्वाधार परियोजनामा सहकार्य गर्न आग्रह गरेका थिए ।
नेपालले आगामी १० वर्षमा भारततर्फ १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्यसहित सहमति गरिसकेको र जलविद्युत् उत्पादनमा ठूलो सम्भावना रहेको श्रेष्ठले बताए । आर्थिक रूपमा सम्भाव्य ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन क्षमता भए पनि त्यसको सानो हिस्सा मात्रै विकास भएको उनको भनाइ थियो ।
उनले जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि प्रशोधन, औषधि उत्पादन, सिमेन्ट, सूचना प्रविधि र औद्योगिक पूर्वाधारमा भारतीय लगानीको सम्भावना औँल्याए । द्रुतमार्ग, विमानस्थल, औद्योगिक क्षेत्र र सहरी यातायातका परियोजना सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन सकिने उनको प्रस्ताव थियो ।
लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावले नेपालमा भएका नीतिगत तथा कानुनी सुधारबारे जानकारी दिएकी थिइन् । उनले भैरहवा–पोखरा द्रुतमार्ग परियोजनामा पनि भारतीय लगानीको सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराएकी थिइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा सहितका व्यवसायीले पनि नेपाल–भारत पर्यटन सम्बन्ध विस्तार र भारतीय निजी क्षेत्रको लगानी प्रवर्द्धनमा जोड दिएका थिए । उनीहरूले दुई देशबीच पर्यटक आवागमन, हवाई सम्पर्क र पर्यटन पूर्वाधारमा सहकार्य बढाउनुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया 4