७ मंसिर, काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भइसकेको छ। एकछिन अगाडि मात्रै राष्ट्रपति भवनमा बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने बेला दुवैबीच भेट भएको हो। बालेन-मोदीबीच औपचारिक भेटवार्ता शुरू हुँदैछ। सोही भेटवार्तामार्फत भारत-नेपालबीच हुने सहमतिले कार्यान्वयनको बाटो खुल्नेछ।
मोदी-बालेनबीचको भेटवार्ता पछिको अन्तिम परिणाम ‘फाइनल आउटकम’ अर्थात् भारतबाट नेपाललाई केके प्राप्त हुँदैछ भन्ने अन्तिम विवरण अनलाइनखबरलाई प्राप्त भएको छ। उक्त विवरणअनुसार ‘मेजर आउटकम’का रूपमा भारतले नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउँदैछ। तर त्यो प्याकेज कति रकमको हुने भनेर खुलाइएको छैन।
मेजर आउटकमकै रूपमा भारतले गुजरातको कान्दला र ओडीसाको पारादीप बन्दरगाह पाउँदैछ। नेपालले गुजरातको मुन्द्रा बन्दरगाहाको माग राखे पनि भारतले सो बन्दरगाह दिन मानेन।
त्यस्तै मेजर आउटकमको अन्तिम बुँदामा अयोध्या-जनपुरको रेल सेवाबारे उल्लेख छ। आज मोदी-बालेनले आयोध्यादेखि जनकपुरसम्म चल्ने रेलको उद्घाटन गर्ने कार्यक्रम पनि छ। यो रेल सेवालाई भारतले ‘सर्यु कमला एक्सप्रेस’को नाम दिएको छ।
पुल र पार्कको उद्घाटन
अनलाइखबरलाई प्राप्त विवरणअनुसार भारतले चितवनमा एग्रो इन्डस्ट्रियल पार्क बनाइदिने भएको छ। सँगै काठमाडौँलाई रक्सौलसँग जोड्न रेल सेवाको विस्तारका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार हुने भएको छ। त्यस्तै उक्त विवरणमा भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल बनाइदिने उल्लेख छ।
झापामा पेट्रोलियम टर्मिनल
विवरमा भारतले तल्लो अरूण हाइड्रोपावर परियोजनाको सिल्यानास गरिने भनिएको छ। त्यस्तै, झापामा पेट्रोलियम टर्मिनल र एकीकृत चेकपोस्टका रूपमा बनबासा-दोधारा चाँदनीको सिल्यानास गरिने भनिएको छ।
त्यस्तै, विवरणमा मोतिहारी-अमलेखगंज पाइपलाइन, सिलिगुरी-झापा ग्यास लाइन, जयनगर-बर्दिबास, जोगबनी-विराटनगरबीच रेल सेवा, बर्दिबास-निजगढ र वीरगंज-निजगढ रेल लिंकमा सहकार्य, टेलिकम र बैंकिङ सुविधामा सहजिकरण गरिने उल्लेख छ।
त्यस्तै, भारतीय प्राविधिक संस्थान (आईआईटी)का शाखा क्याम्पसहरू नेपालमा विस्तार गरिने भनिएको छ।
प्रतिक्रिया 4