काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत पुरुष फुटबलको खेलतालिका सार्वजनिक भएको छ । पुरुष फुटबलको खेलतालिका आइतबार सार्वजनिक गरिएको हो ।
दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भएपनि पुरुष फुटबलको प्रतिस्पर्धा मंसिर ८ गते देखि नै हुनेछ ।
पुरुष फुटबलको उद्घाटन खेल मंसिर ८ गते सुर्खेतस्थित रंगशालमा हुनेछ भने फाइनल खेल मंसिर १७ गते हुनेछ ।
सार्वजनिक खेलतालिका अनुसार समूह चरणका खेलहरु सुर्खेतमा हुने तय छ भने सेमिफाइनल र फाइनल खेलको स्थान तोकिएको छैन । सुरुमा सुर्खेतमै फुटबलका सबै खेल गर्ने तय थियो । तर राष्ट्रिय खेलकुद परिषदले शनिबार सार्वजनिक गरेको ३२ खेलको खेलतालिका र खेल स्थलमा पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा गर्ने उल्लेख छ । यद्यपी फुटबल ड्र मा भने सेमिफाइनल र फाइनल खेलस्थल राखिएको छैन ।
पुरुष फुटबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
समूह ए मा नेपाल पुलिस क्लब, गण्डकी र कर्णाली प्रदेश छन् । समूह बी मा एपीएफ, मधेश र सुदूरपश्चिम छन् भने समूह सी मा त्रिभुवन आर्मी क्लब, कोशी, बागमती र लुम्बिनी प्रदेश छन् ।
तीनवटै समूहको समूह विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछन् । यस्तै समूह सी बाट समूह विजेतासँगै समूह उपविजेता पनि सेमिफाइनल प्रवेश गर्नेछन् । ,
सेमिफाइनलमा समूह ए को विजेताले समूह सी को उपविजेतासँग र समूह बी को विजेताले समूह सी को विजेतासँग खेल्नेछ ।
सेमिफाइनलमा विजयी टोलीहरुले स्वर्ण पदकका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् भने पराजित टोलीहरुले कांस्य पदकका लागि खेल्नेछन् ।
नवौँ राष्ट्रिय खेलकुदमा पुरुष फुटबलको स्वर्ण एपीएफले जितेको थियो ।

प्रतिक्रिया 4