७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से २.२६ अंक बढेसँगै २६२३ अंकमा कायम भएको छ ।
कारोबार भएका कम्पनीमध्ये अधिकांश अर्थात् १६५ को मूल्य घटेको छ भने १०५ को बढेको छ । १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।
समग्रमा मूल्य बढेका कम्पनीको बजार पूँजीकरण घटेका कम्पनीहरूको भन्दा उच्च रहेकाले नेप्से परिसूचक बढेको हो । यसअघि शुक्रबार नेप्से ७.३८ अंक घटेको थियो ।
कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८२ करोडको भयो ।
बैंकिङ समूहले नै आज बजार वृद्धिमा टेवा पुर्याएको छ । पूँजीकरण सबैभन्दा उच्च रहेको यो समूह ०.६५ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.५७, लगानी ०.२३ र अन्य ०.८१ प्रतिशत बढे ।
फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२२, जलविद्युत् ०.२८, जीवन बीमा ०.०६, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.९६ तथा व्यापार समूह ०.६३ प्रतिशत घटे ।
मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशत बढ्यो । त्यस्तै माउन्टेन हाइड्रो नेपालको ५.६२, बुंगल हाइड्रोको ५.४९, रावा इनर्जीको ३.८३, सिनर्जी पावरको ३.१२ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै भिजन लुम्बिनी ऊर्जाको ८.३३, स्वस्तिक लघुवित्तको ५.७१, नेपाल वेयरहाउजिङको ५.०३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.०६, सुपर खुदी हाइड्रोपावरको ३.८५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, भिजन लुम्बिनी ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4