७ मंसिर,नयाँ दिल्ली । दुई दिने राजकीय भारत भ्रमणका लागि दिल्ली झरेका प्रधानमन्त्री बालेन शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने कार्यक्रम थियो । यही कार्यक्रममा बालेन्द्र शाहलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री मोदी उपस्थित थिए ।
शाह कारगेडसहिको गाडीबाट ओर्लिएपछि मोदीसँग अंगालो मार्नका लागि पहिलो हात अघि सारेका थिए ।
यस्ता मामिलामा चलाख मानिने मोदीले पनि कसिलो अंकमाल गरे । अनि मुस्कानसहित गफिँदै गार्ड अफ अनरका लागि सलामी स्थलमा पुगे ।
सलामी सकिएपछि केही तस्बिरका लागि पोज दिए । जहाँ उनीहरुका मुहार खुलेका देखिन्थे । कूटनीतिक मामिलामा नेताहरूका अनुहार र हाउभाउले कतिपय अवस्था पढ्ने गरिन्छ ।
करिब २५ घण्टाको लागि मात्र भारतको राजकीय भ्रमणमा आएका शाहसँग मोदीको फोटो सेसन र अंकमाल मात्र भएन । मोदीले बालेन्द्र प्रसंशा गर्दै भने- मैले संयुक्त राष्ट्रसंघको महासभामा सबैभन्दा युवा प्रधानमन्त्रीको रुपमा गरेको सम्बोधन सुने । उनको दूरदर्शिता देखें ।‘
बालेनको प्रशंसा यतिमै मात्र सिमित भएन । मोदीले भने, ‘मैले उनमा नेपाल बनाउने स्पष्ट भिजन देखें । यसले नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा लैजानका लागि महत्त्वपूर्ण छ ।’
सीता र राम, जनकपुर र अयोध्या, लुम्बिनी र बोधगयासम्मका धार्मिक सांस्कृतिक सम्बन्धका कुरा गर्दै मोदीले दुवै देशको अपरिहार्यताबारे उल्लेख गरे । ‘ मुस्किलको समयमा पनि हामी साथी हौं,’ मोदीले आफ्नो छिमेक पहिलो नीतिको प्रसंग उप्काउँदै भने,’यही कारण संसारमा तेलको संकट हुँदा पनि नेपालमा सहज उपलब्ध गराइ रह्यौं ।‘
दुईपक्षीय वार्ता र सहमति सकेर संयुक्त पत्रकार सम्मेलनमा मोदीले व्यक्तिगत प्रसंशाका शब्दहरू सहित नेपाल भारत सम्बन्धमा आयामहरूबारे व्याख्या गरे ।

मोदीपछि बोलेका प्रधानमन्त्री शाहले पनि नेपाली भाषाबाट आप्नो सम्बोधन गर्दै नेपाल भारत सम्बन्धको महत्त्वबारे बताए । प्रधानमन्त्री शाहले भने- ‘नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैं अटल र महासागर झैं विशाल छ ।‘
प्रधानमन्त्री शाहले पुर्खाले स्थापित गरेको सम्बन्धको जगलाई आपसी विश्वास र सहकार्य र साझा समृद्धि मार्फत अघि बढाउने प्रतिबद्धता गरे ।
अनि मोदीकै शैलीमा प्रधानमन्त्री शाहले धार्मिक सास्कृतिक प्रसंग ल्याएर भ्रमणको निम्ता दिए ।
प्रधानमन्त्री शाहको यो पहिलो राजकीय भ्रमण हो । त्यसैले यो राजकीय भ्रमण भारतबाटै थालेकोमा मोदीले प्रशंसा गरे । विगतमा पनि नेपालका प्रधानमन्त्रीहरूले भारतलाई नै आफ्नो भ्रमणको पहिलो गन्तव्य बनाउने गरेका थिए ।
प्रधानमन्त्री बालेन युवा र निकै ठूलो जनमतसहित नेतृत्वमा आएका हुन् । राजनीतिक रूपमा उदाएको नयाँ शक्तिसँग भारतले पनि सम्बन्ध राख्ने चाहेको थियो । त्यसैले यो भ्रमणप्रतिको चासो र उत्सुकता थियो ।
प्रधानमन्त्री शाहले विगतमा राख्दै आएका अडान र व्यवहार कस्तो गर्लान् भन्ने चासो थियो । यो चासोलाई सम्बोधन गर्ने गरी यो भ्रमणमा केही सहमति र सम्झौताहरू भएका छन् ।
प्रधानमन्त्री शाहको यो भ्रमणमा आइतबार भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका थिए । सोमबार दुईपक्षीय छलफल पछि दुवै देशले संयुक्त भिजन पत्र जारी गरेका छन् ।

सोमबार हैदरावाद हाउसमा मोदीले करिब एक घण्टा प्रधानमन्त्री शाहसँग एक्लै भेटेका थिए । त्यही भेटमा कतिपय मुद्दाहरूको विषयमा कुराकानी भएको थियो । उनीहरूको भेटपछि दुई देशका प्रतिनिधिमण्डल स्तरमा वार्ता र छलफलबाट सहमति र सम्झौताहरू गरिएका थिए ।
दुई जना प्रधानमन्त्रीको एकल कुराकानीमा अरु थप कुराकानी भएकोबारेमा दुवै देशका अधिकारीले बताउन चाहेका छैनन् । ‘एकल वार्तामा केही गफ भएको छ भने त्यसलाई हामीले भन्ने मिल्दैन’ भारतीय विदेश सचिव विक्रम मिश्रीले भने ।
करिब २६ घण्टा बिताएर स्वदेश फर्केका प्रधानमन्त्री शाहले नेपाल र भारतका विगतका कतिपय मुद्दाहरूलाई समाधान गर्ने गरी संयुक्त भिजनपत्र लिएर आएका छन् । यसलाई नेपालको तर्फबाट महत्त्वपूर्ण उपलब्धीको भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । काठमाडौं पुगेर उनले प्रधानमन्त्रीको भ्रमणबाट दुई देशको सम्बन्ध सकारात्मक संभावनायुक्त लयमा फर्किएको बताए ।
भ्रमण राजनीतिक रुपमा नेपाल भारतबीच कचल्टिएका मुद्दाहरू समाधानमा केन्द्रित रहेन । काठमाडौंको मेयर हुँदा ग्रेटर नेपालको नक्सा राखेका बालेनले मोदी नै भेट्दा चाहिँ देखिने गरी आफ्नो कुरा राखेनन् । विकास र केहि सहकार्य र सहयोगका विषयमा बढ्ता केन्द्रित भएको थियो ।
हैदरावाद हाउसमा भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि दुई देशबीच विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। साथै, सीमा पार पूर्वाधार, रेल, जलविद्युत् र पेट्रोलियम क्षेत्रका परियोजनालाई अघि बढाउने सहमति भएको छ।
नेपालमा आएको बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई सहयोग गर्ने उद्देश्यले भारतले २ खर्ब ४० बराबारको अनुदान र ऋण बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ। यो भ्रमणको महत्त्वपूर्ण विषय यही हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई छिमेकीहरूलाई सघाउने योजनाबाट यो प्याकेज घोषणा गरेको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीका अनुसार उक्त रकम नेपालमा बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि उपयोग गरिनेछ।
त्यस्तै भारतले नेपाललाई भैरहवा नजिकको भारतीय आकासबाट जहाजहरू आवत जावत गर्न मिल्ने गरी रुट प्रदान गर्ने सहमति जनाएको छ ।

यसले नयाँ हवाइ रुट माग्दै आएको नेपालको करिब एकदशकको प्रयासमा ब्रेक थ्रु भएको छ । यसले अब नेपालको एयर कनेक्टिभीटीलाई झन् मजबुत बनाउने परराष्ट्रमन्त्री खनालले बताए । नेपालसँग भारतले पनि बागडोग्रा विमानस्थलका लागि हवाई रुट मागेको थियो । तर उक्त क्षेत्रमा हवाई रुट दिँदा नेपाललाई समस्या पर्ने भन्दै आलोचना भएपछि नेपाली अधिकारीहरू त्यसबारे निर्णय गर्नेतर्फ लागेनन् ।
यो विषयमा दुई मुलकका अधिकारीहरूबीच अन्तिम समयसम्म पनि छफफल चलिरहेको थियो । तर आइतबार होटल ताज महलमा भेटिएका सरकारी अधिकारीहरूले हवाई भारतका लागि दिने कुरा चाहिँ गार्हो रहेको बताएका थिए ।
यी बाहेक आठवटा समझदारीमा अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्य र सुरक्षासम्मका विषय छन् । यी समझदारीले परम्परागत विकास साझेदारीलाई प्रविधि, प्रशासनिक क्षमता, अनुसन्धान र संस्थागत सहकार्यसम्म विस्तार गर्ने लक्ष्य राखेका छन्।
भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने सम्झौता भएको छ।
त्यस्तैभारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच तालिम तथा संस्थागत सहकार्य गर्ने समझदारी भएको छ।
भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको प्रशासनिक कर्मचारी कलेजबीच नेपाली सरकारी कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
दुवै देशबीच आयुर्वेद र अन्य परम्परागत उपचार पद्धतिमा सहकार्य गर्ने समझदारी पनि छ ।
नेपाल र भारतका स्वास्थ्यसम्बन्धी सरकारी निकायबीच स्वास्थ्य सेवा र चिकित्सकीय क्षेत्रमा सहयोग विस्तार गर्ने सम्झौता भएको छ।
सहरको योजनाबद्ध विकास, प्रविधि हस्तान्तरण तथा सहरी व्यवस्थापनमा सहकार्य गर्ने समझदारी छ ।
पशुपालन र मत्स्यपालनको विकास तथा यस क्षेत्रमा प्राविधिक सहयोग विस्तार गर्ने सहमति पनि भएको छ।
सांस्कृतिक सम्बन्धलाई मजबुत पार्न अयोध्या–जनकपुर रेलसेवा पनि सुरू भएको छ । अयोध्या र जनकपुरलाई जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेलसेवाको राम सीताको जन्मस्थललाई जोडेको छ ।

मोदीले राम र सीतालाई नेपाल–भारतको साझा सभ्यता र आस्थाको प्रतीकका रूपमा उल्लेख गर्दै नयाँ रेलसेवाले अयोध्या आउने श्रद्धालुलाई जनकपुर पुग्न सहज बनाउने बताएका थिए।
उनका अनुसार यसले धार्मिक पर्यटन, यात्रु आवागमन र सीमापार सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुर्याउन सक्छ।
भ्रमणका क्रममा रेलसेवाबाहेक ऊर्जा, सडक, व्यापार र पेट्रोलियम पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू पनि अघि बढाइएको छ।
दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन्।
धार्चुला–दार्चुला मोटरेबल पुल, बनबासा एकीकृत जाँच चौकी : नयाँ एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, झापामा पेट्रोलियम टर्मिनल बनाउने लगायतका सहमति भएका छन् ।
बालेनको भ्रमण तीन प्रमुख पक्ष
पहिलो, आर्थिक तथा विकास साझेदारीका कुरा भएका छन् । बाढीपछिको पुनर्निर्माणका लागि घोषणा गरिएको आर्थिक सहयोग र विभिन्न विकास परियोजनाले नेपालको पुनर्निर्माण तथा पूर्वाधार विकासमा भारतको भूमिका निरन्तर रहने संकेत गरेका छन्।
दोस्रो, ऊर्जा र व्यापारसँग सम्बन्धित छन् । जलविद्युत्, पेट्रोलियम पाइपलाइन, सीमापार पुल तथा एकीकृत जाँच चौकीका परियोजनाले दुई देशबीचको आर्थिक अन्तरनिर्भरता र व्यापारिक सम्पर्क विस्तार गर्ने सम्भावना बोकेका छन्।

तेस्रो, प्रविधि र संस्थागत सहकार्य गर्ने विषय परेका छन् । स्याटेलाइट सञ्चार, स्वास्थ्य, फरेन्सिक अनुसन्धान, प्रहरी तालिम र सरकारी कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी सम्झौताले सहकार्यको दायरा परम्परागत पूर्वाधारभन्दा बाहिर विस्तार गरेको देखिन्छ ।
यद्यपि, सम्झौतामा हस्ताक्षर हुनु र त्यसको प्रभाव नागरिकको जीवनमा देखिनु फरक कुरा हुन् भन्ने प्रधानमन्त्री बालेनले नै आफ्नो सम्बोधनमा भनेका छन् । ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं’ प्रधानमन्त्री बालेनले भनेका छन् ।
२५ घण्टा लामो यो बसाईमा प्रधानमन्त्री बालेनले सरकारी बाहेक अन्य पक्षहरूलाई भेटेनन् । राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी र विदेश मन्त्री जयशंकर सँग मात्र भेटे ।
प्रतिक्रिया 4