+
+
Shares

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १४:०४

८ मङ्सिर, संयुक्त राष्ट्रसङ्घ (रासस/एएफपी)। विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । यसको अर्थ औसतमा हरेक घण्टा करिब पाँच महिला तथा बालिका आफन्त वा नजिकका व्यक्तिबाट मारिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय महिला संस्था र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सार्वजनिक गरेको अनुमानअनुसार पछिल्ला केही वर्षयता घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ । यसमा उल्लेख्य परिवर्तन देखिएको छैन ।

महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसअघि सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२५ मा जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो । तीमध्ये ४७ हजार पीडितको सङ्ख्याले दैनिक औसत १२९ महिला तथा बालिकाको ज्यान जाने गरेको देखाउँछ ।

प्रतिवेदनमा १२२ देश तथा क्षेत्रका तथ्याङ्क विश्लेषण गरी उक्त अनुमान तयार गरिएको जनाइएको छ । सन् २०२५ मा विश्वभर हत्या गरिएका व्यक्तिमध्ये महिला १९ प्रतिशत थिए । तीमध्ये ६० प्रतिशतको हत्या निजी तथा पारिवारिक परिवेशमा भएको थियो । यसको तुलनामा हत्या गरिएका पुरुषमध्ये ११ प्रतिशत मात्र त्यस्ता परिस्थितिमा मारिएका थिए ।

संयुक्त राष्ट्रसङ्घले घरेलु हिंसा रोक्ने प्रयास घनिष्ठ सम्बन्धमा मात्र सीमित नराखी परिवारका अन्य सदस्यबीचको सम्बन्धमा हुने हिंसालाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

प्रतिवेदनअनुसार महिला तथा बालिकाको हत्या कुनै पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित नरहेको देखिन्छ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिएका महिला तथा बालिकाको सङ्ख्या अफ्रिकामा सबैभन्दा बढी २२ हजार १०० रहेको छ । त्यसपछि एसियामा १५ हजार १००, अमेरिकामा सात हजार ४००, युरोपमा दुई हजार १०० र ओसिनियामा ३०० जना मारिएका छन् ।

विश्वव्यापी रूपमा हत्याको दर घट्दै गए पनि महिला हत्याको दरमा आएको गिरावट भने सुस्त रहेको प्रतिवेदनले जनाएको छ । विशेषगरी अमेरिका र युरोपमा महिला हत्याको दर क्रमशः घटिरहेको उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार महिला हत्याका घटना सामाजिक मान्यता र लैङ्गिक रूढिवादी सोचमा गहिरोसँग जरा गाडेर बसेका छन् । न्याय प्रणालीसम्म पहुँचमा रहेका अवरोधले पनि यस्ता अपराध नियन्त्रण गर्न कठिन बनाएको प्रतिवेदनमा उल्लेख छ ।

नारीहत्याले महिला तथा बालिकालाई उनीहरूकै लिङ्गका आधारमा गरिने हत्यालाई जनाउँछ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट हुने हत्याबाहेक सङ्गठित अपराध, जबर्जस्ती श्रम तथा मानव बेचबिखनसँग सम्बन्धित केही हत्यासमेत यसमा पर्न सक्छन् ।

तर निजी क्षेत्रबाहिर हुने नारीहत्यासम्बन्धी तथ्याङ्क पर्याप्त नभएकाले क्षेत्रीय वा विश्वव्यापी स्तरमा यस्ता घटनाको वास्तविक परिमाण आकलन गर्न कठिन रहेको प्रतिवेदनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?