८ मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बतएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले हिमालय पहाडको शृङ्खला मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको बताएकी हुन् ।
मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको बताइन् ।
उनले हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधताको संरक्षण गर्न र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्याइरहेको बताइन् ।
जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, मर्यादा र आशाका स्रोत भएको उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता प्राकृतिक सम्पदाको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने बताइन् ।
उनले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय तथा अव्यवस्थित व्यापारले हिमाली प्राकृतिक सम्पदामाथि जोखिम बढाएको बताइन् ।
‘हिमालयले हामीलाई जोडेको छ, हाम्रा नीति र साझेदारीहरूले पनि त्यो जोडाइलाई प्रतिबिम्बित गर्नुपर्छ,’ मन्त्री चौधरीले भनिन् ।
उनले हिमाली मुलुकले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारजस्ता चुनौती एक्लाएक्लै समाधान गर्न नसक्ने भएकाले राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै क्षेत्रीय सहकार्य अघि बढाउनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया 4