+
+
Shares

जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड

विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १५:५७

८ मङ्सिर, बेइजिङ (रासस/एएफपी) । विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

गोल्ड वाल प्रेसद्वारा सञ्चालित अनलाइन खातामा प्रकाशित विवरणअनुसार ‘मा’ उपनामका ती अधिकारी विदेशमा कार्यरत रहँदा ‘काइलिन’ नामका विदेशी गुप्तचरको सम्पर्कमा पुगेका थिए । सुरुमा चिनियाँ भाषा सिक्ने बहानामा भेटेका काइलिनले पछि संवेदनशील राजनीतिक विषय र विदेशमा रहेका चिनियाँ संस्थाका गतिविधिबारे सूचना माग्न थालेका थिए ।

काइलिनले अर्का व्यक्तिमार्फत सहयोग नगरे सूचना चुहाएको विषय सार्वजनिक गरिदिने धम्की दिएपछि मा जासुसी गर्न सहमत भएको प्रतिवेदनमा उल्लेख छ । उहाँले गोपनीयता र वफादारीसम्बन्धी सर्तसहितको सम्झौतामा हस्ताक्षर गरी मासिक रकम र सूचना आदानप्रदानका लागि ल्यापटप प्राप्त गरेका थिए।

विदेशको कार्यकाल सकेर चीन फर्किएपछि पनि उनले गोप्य कागजातबाट सूचना सङ्कलन गरी जासुसी वेबसाइटमार्फत पठाउने गरेको विवरणमा जनाइएको छ । यस क्रममा उनले सयभन्दा बढी सूचना चुहाएको र ३५ वटा सूचना उपलब्ध गराएबापत १० लाख युआनभन्दा बढी रकम लिएको अदालतले ठहर गरेको बताइएको छ ।

तर, मृत्युदण्डको सजाय कहिले र कुन अदालतले सुनाएको हो तथा कार्यान्वयन भइसकेको छ वा छैन भन्ने विवरण सार्वजनिक गरिएको छैन । चिनियाँ अदालतले राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दाका विवरण विरलै सार्वजनिक गर्ने गरेका छन् । प्रतिवेदनले जासुसीमा भावनात्मक प्रभाव र ब्ल्याकमेलजस्ता उपाय बढ्दो रूपमा प्रयोग हुन थालेकाले सचेत रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?