८ मंसिर, डोटी । सुदूरपश्चिममा एक महिनामा भएका सवारी दुर्घटनाहरूमध्ये ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार कात्तिक महिनामा यस प्रदेशमा साना ठुला गरी ३१२ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामध्ये २६२ अर्थात् झण्डै ८४ प्रतिशत चालकको लापरवाहीका कारण भएका प्रहरीको दाबी छ ।
प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको कात्तिक महिनाको अपराध तालिका अनुसार पैदल यात्रीको कारण १७ दुर्घटना भएका छन् ।
यस्तै, पशु चौपायका कारण ११, मादक पदार्थ सेवन गरेको कारण १०, सवारी सधानका कारण ८, मौसमको कारण २, यात्रुको कारण १ र सडकको कारण १ दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार यी सवारी दुर्घटनामा ४३२ सवारी साधन संलग्न भए ।
कात्तिक महिनामा सवारी दुर्घटनामा परी २१ जनाको ज्यान गएको छ । दुर्घटनामा परी घाइते हुनेको संख्या ३८९ रहेको छ । प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा विभिन्न शीर्षकमा चार हजार पाँच सवारी साधन कारबाहीमा परेका छन् ।
कारबाहीबाट ३४ लाख ६९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
कात्तिक महिनामा दशैं, तिहार र छठको अवसरमा देश–विदेशबाट घर फर्कने यात्रुहरूलाई सुरक्षाको प्रत्याभूति दिलाएको प्रहरीको दाबी छ । सवारी तथा अन्य दुर्घटनामा प्रहरी परिचलान गरी घाइतेहरूको तत्काल उद्दार गरी उपचारको लागि अस्पताल पठाउने कार्य गरिएको प्रहरीले जनाएको छ ।
६८ फरार प्रतिवादी पक्राउ
कात्तिक महिनामा प्रहरीले विभिन्न मुद्दाका ६८ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार विभिन्न अदालतहरूबाट कसुरदार ठहर भई फरार रहेका प्रतिवादीहरूलाई अदालतको फैसला कायान्वयनको सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका फरार प्रतिवादीबाट जम्मा १६ वर्ष नौ महिना चार दिन कैद सजाय भुक्तान हुनेछ ।
यस्तै, ४६ लाख २७ हजार ४८० रुपैयाँ जरिवाना समेत असुल हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4