+
+
Shares

११ र १२ डिसेम्बरमा एनआरएनए नवौं मध्यपूर्व सम्मेलन कतारमा हुने

सम्मेलनमा प्रतिनिधिसभा सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १७:५४

८ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय समितिले कतार दोहामा नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आयोजना गर्ने भएको छ ।

‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ भन्ने नारासहित आगामी ११ र १२ डिसेम्बर (२५ र २६ मंसिर) मा सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा प्रतिनिधिसभा सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सहित विभिन्न राजनीतिक दलका सांसद तथा प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको छ ।

नेपाली श्रमिकले मध्यपूर्वमा भोगिरहेका समस्या र उठाउनुपर्ने नीतिगत विषयलाई नेपालको संसद् र सरकारसम्म पुर्‍याउने उद्देश्यले विभिन्न दलका प्रतिनिधिलाई सम्मेलनमा सहभागी गराउन लागिएको श्रेष्ठले बताए ।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता जगदीश खरेल, नेपाली कांग्रेसकी प्रमुख सचेतक सुशीला थापा, नेकपाका रमेश मल्ल तथा राष्ट्रिय सभा सदस्य एवं एमाले प्रमुख सचेतक रोशनी मेचे लगायत सहभागी हुनेछन् ।

सम्मेलनमा आठ विषयगत सत्र सञ्चालन गरिनेछन् । सम्मेलनको मुख्य जोड सुरक्षित श्रम र भविष्यको सम्भावनामा रहने श्रेष्ठले बताए ।

‘हामीले मध्यपूर्वमा श्रमिकका समस्या र चुनौतीबारे मात्रै चर्चा गर्दै आएका छौं, तर श्रमिकका रूपमा आएका नेपालीले यहीँ व्यवसाय गरेर सफलता हासिल गरेका उदाहरण पनि छन्,’ उनले भने, ‘ती सकारात्मक र सफलताका कथा पनि बाहिर ल्याउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’

सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, वैदेशिक रोजगारी व्यवस्थित र मर्यादित बनाउने उपाय तथा श्रमिकका अधिकारका विषयमा छलफल हुनेछ ।

त्यस्तै मध्यपूर्वमा रहेका नेपाली डायस्पोरालाई नेपालको विकास र आर्थिक समृद्धिसँग जोड्ने तथा उनीहरूको लगानी नेपाल भित्र्याउने विषय पनि सम्मेलनको प्राथमिकतामा रहने छ ।

मध्यपूर्वमा करिब २५ लाख नेपाली रहेको सन्दर्भमा नेपाल र मध्यपूर्वबीचको सम्बन्ध श्रम आप्रवासनमा मात्रै सीमित नराखी पर्यटन तथा आर्थिक साझेदारी मार्फत विस्तार गर्ने विषयमा पनि छुट्टै सत्र राखिएको श्रेष्ठले बताए ।

नेपालबाट मध्यपूर्वसँग पर्यटन र अन्य आर्थिक गतिविधि मार्फत कसरी सम्बन्ध विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।

त्यसैगरी मध्यपूर्वमा श्रमिकका रूपमा पुगेका नेपालीले व्यवसाय विस्तार गर्दै हजारौंलाई रोजगारी दिने हैसियत बनाएका सफलताका कथा समेटेर प्रेरणादायी सत्र सञ्चालन गरिने छ । महिला तथा युवापुस्ताका मुद्दालाई पनि सम्मेलनमा छुट्टाछुट्टै सत्रमार्फत उठाइने आयोजकले जनाएको छ ।

‘सधैं श्रमिकका समस्या मात्रै उठाउने होइन, श्रमिक भएर मध्यपूर्व आएका नेपालीले हासिल गरेका सफलता र सम्भावनालाई पनि देखाउनुपर्छ, यसले यहाँ कार्यरत नेपालीलाई प्रेरणा दिन्छ,’ श्रेष्ठले भने ।

सम्मेलनका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले आर्थिक सहयोग गरेका छन् । उनले सम्मेलनमा इभेन्ट पार्टनरका रूपमा सहयोग गरेका हुन् ।

सम्मेलनको उद्देश्य मध्यपूर्वमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउनुका साथै सुरक्षित श्रम आप्रवासन, लगानी, पर्यटन, महिला सशक्तीकरण र युवा सहभागिताका विषयमा साझा धारणा निर्माण गर्नु रहेको संयोजक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?