काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) २०८३ फागुन हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै फागुन २३ गतेबाट महोत्सवको सुरु हुने बताइएको छ।
आयोजकका अनुसार फागुन २४ गते सुर्खेतको होटल शुभमा कर्णाली पर्यटन चलचित्र संवाद तथा विशेष चलचित्र प्रदर्शन हुनेछ । सोही दिन पर्यटन तथा चलचित्र संवाद, विशेष चलचित्र प्रदर्शन र ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ भिडियो प्रतियोगिता पनि आयोजना गरिनेछ ।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र अवार्ड समारोह २०८४ वैशाख ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुनेछ । त्यसपछि सन् २०२७ को मेमा भारतको सिक्किम र सिलिगुडीमा नेपाल-भारत पर्यटन तथा चलचित्र सहकार्य संवाद आयोजना गरिने महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए ।
कर्णालीलाई चलचित्र पर्यटनको गन्तव्य र छायांकन हब बनाउने लक्ष्यसहित महोत्सव हरेक वर्ष आयोजना हुँदै आएको छ। आयोजकका अनुसार कर्णालीमा प्रचुर सम्भावना भए पनि पर्यटन र चलचित्रसम्बन्धी गतिविधि नगण्य छन् । त्यहाँका कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा राज्यको भूमिका कमजोर रहेको भन्दै ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ नाराका साथ महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालिएको हो।
कर्णालीका पर्यटकीय र धार्मिक स्थल तथा छायांकन स्थललाई देश-विदेशका चलचित्र निर्माता र निर्देशकमाझ पुर्याउनु महोत्सवको प्रमुख उद्देश्य हो । पर्यटन र जलवायु परिवर्तनको सन्देश दिने चलचित्रलाई विशेष सम्मान र प्रोत्साहन गरिने आयोजकले जनाएको छ।
महोत्सवले कर्णालीका स्थानीय कलाकार र चलचित्रकर्मीको पहिचान र प्रोत्साहन, गाउँ-गाउँमा नेपाली चलचित्र प्रदर्शन, चलचित्र साक्षरता अभियान र चलचित्र क्षेत्रका चुनौतीबारे बहस तथा छलफल गर्ने योजना बनाएको छ । संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा महोत्सव सञ्चालन गरिने आयोजकको भनाइ छ। रेडचेरी र टिमद्वारा सुरु गरिएको यो महोत्सवका निर्देशक चक्रबहादुर चन्द हुन्।
प्रतिक्रिया 4