+
+
Shares

इजरायली आक्रमणमा हमासका वरिष्ठ सुरक्षा अधिकारी अबु नहलको मारिए

राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार अबु नहल सडकमा हिँडिरहेका बेला उनीमाथि ड्रोनबाट आक्रमण गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते २१:०६

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ सुरक्षा अधिकारी नाइम अबु नहल मारिएका छन् । आक्रमणमा प्यालेस्टिनी महिलासहित अन्य चार जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार मंगलबार भएको आक्रमणमा ५० वर्षीय अबु नहल मारिएका हुन् । गाजाको आन्तरिक मामिला तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले उनको आन्तरिक सुरक्षा विभागका महानिर्देशकका रूपमा परिचय दिएको छ ।

राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार अबु नहल सडकमा हिँडिरहेका बेला उनीमाथि ड्रोनबाट आक्रमण गरिएको थियो ।

आक्रमणमा घाइते भएका चार जनालाई उपचारका लागि अल–शिफा मेडिकल कम्प्लेक्समा लगिएको छ । क्षेप्यास्त्र प्रहार भएको क्षेत्र विस्थापित नागरिक र उनीहरूका आश्रयस्थलले भरिएको थियो ।

हमासले उक्त हत्यालाई युद्ध अपराध भन्दै निन्दा गरेको छ । यो हत्या गाजामा ‘अराजकताको अवस्था’ सिर्जना गर्ने इजरायलको प्रयासको हिस्सा भएको हमासको आरोप छ ।

इजरायली सेना र आन्तरिक सुरक्षा निकाय शिन बेटले संयुक्त विज्ञप्ति जारी गर्दै हमासका एक वरिष्ठ व्यक्तिलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेका छन् । तर, उनीहरूले तत्काल नाम सार्वजनिक गरेका थिएनन् । घटनाबारे थप विवरण पछि सार्वजनिक गर्ने उनीहरूको भनाइ थियो ।

इजरायलको सार्वजनिक प्रसारण संस्था कानले पछि आक्रमणको निशाना अबु नहल रहेको जनाएको छ । इजरायली स्रोतलाई उद्धृत गर्दै कानले अबु नहलले मोइन अल–अरबिदको स्थान लिएको उल्लेख गरेको छ । अल–अरबिदलाई इजरायली सेना र शिन बेटले गत सेप्टेम्बरमा विशेष कारबाहीका क्रममा पक्राउ गरेका थिए । उनी अहिले पनि इजरायली हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?