८ मंसिर, भद्रपुर (झापा) । अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला प्रादेशिक अस्पताल भद्रपुरले भने फोहरलाई आम्दानीको स्रोत बनाउन सफल भएको छ ।
अस्पतालले पुन:प्रयोग गर्न मिल्ने फोहर छुट्याएर बिक्री गरी वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ ।
अस्पतालको फोहरमैला व्यवस्थापन तथा बहिरङ्ग विभाग संयोजक निरु कुँवरका अनुसार अस्पतालले विगत पाँच वर्षदेखि फोहर व्यवस्थापनबाट नियमित आम्दानी गर्दै आएको हो । पुन:प्रयोग गर्न मिल्ने कागज, प्लास्टिक र आल्मुनियमजन्य फोहोर छुट्याएर बिक्री गर्ने गरिएको उनले बताइन् ।
‘महिनामा १२ देखि १५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ उनले भनिन्, ‘अस्पतालबाट निस्कने कागजजन्य फोहर करिब पाँच क्वीन्टल, प्लास्टिकजन्य फोहर एक क्वीटल र आल्मुनियम करिब दुई केजीसम्म बिक्री गर्ने गरेका छौँ ।’
अस्पतालमा स्लाइनका खाली बोतल, पाइप, सिरिन्जलगायतका सामग्री पनि प्रयोगपछि छुट्याइने गरिएको छ । कुहिने र नकुहिने फोहरलाई स्रोतबाटै वर्गीकरण गरी पुन:प्रयोग गर्न मिल्ने सामग्री बिक्रीका लागि छुट्याउने गरिएको उनले जानकारी दिइन् ।
फोहर व्यवस्थापनका लागि अस्पतालमा दुई जना जनशक्ति परिचालन गरिएको छ । सङ्क्रमणको जोखिम भएका फोहोरलाई आधुनिक मेसिनमार्फत प्रशोधन गरी ‘ब्याक्टेरिया’ नष्ट गरेपछि सुरक्षित रूपमा विसर्जन गर्ने गरिएको छ ।
हाल अस्पतालमा दैनिक औसत एक हजार जनाले बहिरङ्ग सेवा लिँदै आएका छन् । बिरामीको चापसँगै दैनिक रूपमा ठूलो परिमाणमा फोहोर उत्सर्जन हुने भए पनि वर्गीकरण, प्रशोधन र पुन:प्रयोगको अभ्यासले फोहोर व्यवस्थापन सहज बनेको कुँवरको भनाइ छ ।
प्रतिक्रिया 4