+
+
Shares

लाखौंको संख्यामा बसाइँ सर्ने अमुर बाज

भारतबाट नरोकिई सोमालियासम्म यो चरा करिब २,५०० देखि ३,१०० किलोमिटर उड्ने गर्छ। जाडो महिना सोमालियामा बिताएर फेरि त्यही यात्रा गरेर ऊ उत्तरपूर्वी एसियामा प्रजनन गर्न पुग्छ।

अनुज घिमिरे अनुज घिमिरे
२०८३ मंसिर ९ गते १२:१६

२०१४, असोज महिनाको कुरा हो। स्नातकोत्तरको शोधपत्रको लागि मनाङका विभिन्न ठाउँमा चराहरूको खोजीमा डुलिरहेको थिएँ। अध्ययनको विषय थियो, तल्लो भेगदेखि हिमालसम्मको उचाइमा हुने चराहरूको विविधता। त्यतिबेला म राम्रोसँग चराहरू चिन्दिनथेँ। पहिलो फिल्ड ट्रिपमा जाँदा त मसँग दूरबिन पनि थिएन। हातमा ‘नेपालका चराहरू’ नामको पुस्तक र साथी सञ्जयले उधारो दिएको क्यामेरा बोकेर म हिमालको काखमा चरा खोज्दै रमाउँदै थिएँ। दोस्रो फिल्ड सर्भेमा जाँदासम्म भने मैले अलिअलि चराहरू चिन्न थालिसकेको थिएँ।

पिसाङ गाउँमा काम सकेर माथि लाग्ने क्रममा भ्राकामा चिया पिउन र यसो चराहरू खोज्न विश्राम लिएको थिएँ। होटेलको आँगनमा सानो बगैँचा थियो। केही चराहरू पो देखिहालिन्छ कि भनेर म आँगनतिरै डुलिरहेको थिएँ। त्यति नै बेला एउटा सानो चरा आएर बिजुलीको तारमा बस्यो।

चरा राम्रोसँग नचिने पनि मैले चराहरूको प्रकार र उनीहरूको परिवार भने चिनेको थिएँ। त्यो चरा देख्नासाथ मलाई थाहा भइसकेको थियो कि त्यो एक प्रकारको बाज थियो। मैले पहिले कहिल्यै पनि नदेखेको बाज। कोइलीभन्दा अलिकति ठूलो, शरीर पूर्ण रूपमा कालो देखिने, आँखा गाढा रातो/कालो, चुच्चो र खुट्टा पहेँलो अनि खुट्टामा प्वाँख जुन खैरो रङ्गको। कति राम्रो चरा! हतार-हतार तस्वीर लिएँ र चराका सबै विशेषताहरू याद पनि गरेँ। अनि ब्यागबाट पुस्तक झिकेँ र चिया पिउँदै त्यो चरा के हो भन्ने खोजीमा लागेँ। त्यो चरा रहेछ अमुर बाज!

भ्राकामा देखेको अमुर बाज। तस्वीर : अनुज घिमिरे

त्यति बेला भने त्यो कुरा त्यहीँ रोकियो। बाज भेटियो! नयाँ चरा!

करिब १० वर्षपछि।

आफूलाई धेरै चरा मै चासो भएर होला, युट्युबले पनि चराहरूकै भिडियोहरू सुझावमा राख्ने गर्छ। त्यसरी नै सुझावमा आएको एउटा भिडियोमा हजारौँ स-साना बाजझैँ देखिने चराहरू थिए। भिडियो सायद मेघालयतिरको थियो। सामान्यतया र्‍याप्टर्स भनेर चिनिने बाज, चिल लगायतका सिकारी चराहरू सामूहिक रूपमा ठूलो झुन्डमा बसाइँसराइ गर्छन् भन्ने चाहिँ मलाई थाहा थियो। अमेरिकामै पाइने स्वेन्सन्स हक, ब्रड विङ्ड हक लगायतका चराहरू पनि हजारौँको सङ्ख्यामा दक्षिण अमेरिकातिर लाग्ने गर्छन्।

अमुर बाज! बायाँ पोथी , दायाँ भाले । तस्वीर : सुमित मोगे

तर, आजभोलि धेरैजसो एआईको कन्टेन्ट हुने भएकाले र सोसल मिडियामा आएको सबै कुरा विश्वास गर्न नसकिने भएकाले म भने त्यो चराको खोजीमा लागेँ। त्यस भिडियोमा देखाइएको चरा वास्तविक मात्र नभएर त्यो त मैले २०१४ मा भ्राकामा देखेको अमुर बाज रहेछ। बिस्तारै खोज्दै जाँदा थाहा भयो, अमुर बाजहरू त्यसरी ठूला-ठूला झुन्डमा भारतको नागाल्यान्ड र मेघालयमा जम्मा हुँदा रहेछन् र त्यहाँबाट आफ्नो लामो बसाइँसराइको यात्रा सुरु गर्दा रहेछन्। नेपालमा पनि यी बाज अक्टोबर महिनामा हजारौँको सङ्ख्यामा जम्मा हुने रहेछन्।

अमुर बाजको बसाइँसराइ

सन् १८६३ मा जर्मन प्रकृतिप्रेमी गुस्ताभ र्‍याडीले पहिलो पटक अमुर बाजको वर्णन गरेको पाइन्छ। दक्षिणपूर्वी साइबेरियाको अमुरल्यान्ड क्षेत्र र त्यहाँ रहेको अमुर नदीको वरपर प्रजनन् गर्ने यो प्रजातिको नाम त्यही क्षेत्रअनुसार राखिएको हो। बसाइँसराइ गर्ने बाज वा र्‍याप्टरहरूमध्ये अमुर बाजको बसाइँसराइ भने एकदमै रोचक र अनौठो छ। अमुर बाज प्रजननका लागि साइबेरिया, उत्तरपूर्वी चीन, मङ्गोलिया र उत्तर कोरियातिर जाने गर्छन् र जाडो महिनामा यी चराहरू अफ्रिका महादेशका नामिबिया, जिम्बाब्वे, जाम्बिया, बोत्स्वानासम्म जाने गर्छन्।

चरा जगत्‌मा र्‍याप्टरहरूले गर्ने सबैभन्दा लामो बसाइँसराइको दूरी नै यही हो। उनीहरूले आफ्नो बसाइँसराइको क्रममा करिब २२,००० किलोमिटर यात्रा गर्छन्। भारतबाट नरोकिई सोमालियासम्म यो चरा करिब २,५०० देखि ३,१०० किलोमिटर उड्ने गर्छ। जाडो महिना सोमालियामा बिताएर फेरि त्यही यात्रा गरेर ऊ उत्तरपूर्वी एसियामा प्रजनन् गर्न पुग्छ। केही दशकअघिसम्म पनि यो चरा मध्य एसियाबाट अरेबियन प्रायद्वीप (पेनिन्सुला) हुँदै अफ्रिका जान्छ भन्ने वैज्ञानिकहरूको अनुमान थियो। तर, प्रविधिको विकाससँगै आएको जीपीएस प्रविधिको प्रयोगबाट यस चराको बसाइँसराइबारे रोचक तथ्यहरू पत्ता लागेका छन्। कुनै पनि भूभागलाई नपछ्याईकन यो चरा पानीमाथि लगातार उडेर अफ्रिका पुग्ने गरेको तथ्यले वैज्ञानिकहरूलाई चकित पारेको छ। त्यति मात्र नभएर चरा जगतकै सबैभन्दा लामो पानीमाथिको यात्रा पनि यी चराहरूले भारतबाट अफ्रिका लाग्ने क्रममा गर्छन् भन्ने कुरा पनि त्यही अध्ययनबाट पत्ता लागेको छ। तर, त्यो यात्रा सुरु गर्नुअघि यी चराहरू लाखौँको सङ्ख्यामा भारतको नागाल्यान्ड, मेघालय र मणिपुर क्षेत्रमा बस्ने गर्छन्।

यो चरा पानीमाथि लगातार उडेर अफ्रिका पुग्ने गरेको तथ्यले वैज्ञानिकहरूलाई चकित पारेको छ। तर, त्यो यात्रा सुरु गर्नुअघि यी चराहरू लाखौँको सङ्ख्यामा भारतको नागाल्यान्ड, मेघालय र मणिपुर क्षेत्रमा बस्ने गर्छन्।

बसाइँसराइ आफैँमा एकदम धेरै ऊर्जा चाहिने कुरा हो। त्यसैले यात्राका लागि ऊर्जा जम्मा गर्ने क्रममा उनीहरू त्यहाँ रोकिने गर्छन्। चरा संसारमा यस्ता ठाउँहरूलाई स्टपओभर साइट भन्ने गरिन्छ। तर, किन यी चराहरू त्यही क्षेत्रमा ठूलो सङ्ख्यामा जम्मा हुन्छन् भन्ने कुराले भने वैज्ञानिकहरूलाई केही समय पिरोलेको थियो। केही वर्षको अध्ययनपछि भने त्यस कुराबारे पनि वैज्ञानिकहरूले पत्ता लगाए। अमुर बाजहरू भारतको त्यस क्षेत्रमा ठ्याक्कै मध्य अक्टोबरदेखि अक्टोबरको अन्त्यसम्म पुग्ने गर्छन् र लगभग नोभेम्बरको पूरै महिना त्यहाँ बसेर अफ्रिकातिर लाग्छन्। त्यस क्षेत्रमा त्यही बेलातिर धेरै सङ्ख्यामा धमिराहरू निस्किने गर्छन्। जुन एकदम राम्रो प्रोटिनको स्रोत हुन्। एउटा अध्ययनले देखाएअनुसार यी बाजहरूले करिब पन्ध्र दिनजतिमा १ अर्ब धमिरा खाने गर्छन्। यी बाजहरूले उडानमै किरा-फट्याङ्ग्रा पनि समाउन सक्छन्। मनसुनपछिको अवस्थामा माटोबाट प्रशस्त मात्रामा निस्किएका धमिराहरू र उनीहरूको बसाइँसराइ गर्ने बेला पनि ठ्याक्कै मिल्ने भएकाले यी चराहरूलाई फाइदा हुन गएको वैज्ञानिकहरूको बुझाइ छ।

सन् २०१० मा दक्षिण अफ्रिकामा जीपीएस ट्याग लगाएर छोडिएका १० अमुर बाजहरूले यी बाजहरूको बसाइँसराइबारे अझ धेरै बुझ्न सहयोग गरे। १० मध्ये ६ वटा चराहरू कम्तीमा एउटा बसाइँसराइको सिजनसम्म बाँच्न सके भने ३ वटाले प्रजनन गर्न जाँदाको बसाइँसराइ र प्रजनन सकेर फिर्ता आउँदासम्मको डेटा दिए। अध्ययनअनुसार दक्षिण अफ्रिकाबाट उडेका चराहरू सोमालियामा औसत ९.९ दिनजति रोकिने देखाएको थियो। सोही अध्ययनअनुसार उनीहरू पश्चिमबाट हावा चलेका दिनहरूमा त्यही हावाको गति समातेर उड्ने गरेको देखाएको छ।

बाजहरूमा मात्र नभएर बसाइँसराइ गर्ने धेरै प्रजातिका चराहरूमा बसाइँसराइ उपयुक्त दिशामा हावा धेरै चलेको बेला नै हुने गर्छ। हावाको बहावसँगै उड्दा ऊर्जा अलि कम लाग्ने भएकाले धेरै चराहरूले यस्तो गर्ने गर्छन्। त्यसमाथि बाजहरूले त तातो हावा अर्थात् थर्मल्सको प्रयोग गरेर पनि उड्ने गर्छन्। थर्मल्सलाई घामको तापले गर्दा माथि उठिरहेका न्यानो हावा भनेर बुझ्न सकिन्छ।

अमुर फाल्कनहरूको बसाइँसराइ मार्ग! तस्वीर: Meyburg et al. 2026

सन् २०२५ को नोभेम्बरमा मणिपुर वन विभाग र वाइल्डलाइफ इन्स्टिच्युट अफ भारत को सहकार्यमा अमुर बाजहरूमा स्याटेलाइट ट्रान्समिटरहरू जडान गरियो। ती चराहरूको नाम अपापाङ्ग (भाले) र अलांग (पोथी) राखियो।  अपापाङ्गको नाम त्यही क्षेत्रमा रहेको अमुर बाजहरू बास बस्ने एउटा सानो डाँडा बाट राखिएको हो भने अलांगको नाम त्यहाँको स्थानीय नदी को नाममा। मैले ठ्याक्कै यो लेख लेख्दै गर्दा, अलांगले १०१ घण्टा नन-स्टप ५७०० किमि दूरी उडेर (नोभेम्बर २१ मा ) बंगलादेशबाट सोमालिया पुग्यो भन्ने खबर देखेको थिएँ।  त्यसै गरी अपापाङ्ग पनि ९५ घण्टा सम्म निरन्तर उडिरहेको थियो र उसले ४१०० किमी को दूरी पार गरिसकेको थियो।

अलांगको सोमालिया यात्रा : तस्वीर श्रोत : वाइल्डलाइफ इन्स्टिच्युट अफ भारत

रोचक कुरा त, भारतमा रोकिँदा गर्दा यी चराहरू लाखौँको सङ्ख्यामा बस्ने गर्छन्। तर, दुःखको कुरा, नागाल्यान्डको दोयाङ जलाशयवरपर लाखौँको सङ्ख्यामा जम्मा हुने यी चराहरूलाई त्यहाँका स्थानीयहरूले १० दिनको दौरानमा करिब १ लाख ४० हजार वटासम्म मारेको पाइएको थियो। त्यस क्षेत्रमा अमुर बाजलाई धेरै पासो हाल्ने कुरा बाहिर आएपछि भारतका धेरै संरक्षणकर्मी तथा निकायहरूको सहकार्यमा संरक्षणको काम सुरु भयो। र, केही वर्षमै त्यहाँ गैरकानुनी रूपमा बाज मारिन थालेको पाइयो।

दोयांग जलाशयमा अमुर बाज। तस्वीर: रम्की श्रीनिवासन

२०१४ मा मनाङमा त मैले एउटै मात्र अमुर बाज देखेको थिएँ। तर, यही वर्षको अक्टोबरमा सञ्जय थापा श्रेष्ठले लहानमा ३,००० भन्दा बढी अमुर बाजहरू देखेका थिए। सायद बसाइँसराइको क्रममा उनीहरू आफ्नो गन्तव्यतिर लाग्दा नेपाली भूभागमाथिबाट उड्दै थिए। नेपालको लागि अमुर बाज असामान्य प्रवासी चरा हो र मुख्यतया अक्टोबर र नोभेम्बरमा देखिने गर्छ। वा ती नेपालमा विश्राम गरेर दक्षिण झर्दै थिए। आशा गरौँ, नेपालको आकाश, हाम्रो खेतबारी अमुर बाज र अन्य पाहुना चराहरूका लागि सधैँ खुला र सुरक्षित हुनेछ।

इबर्डको रेकर्ड अनुसार नेपालमा अमुर बाज देखिएका ठाउँ। तस्वीर : इबर्ड

लेखक
अनुज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?